कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने

धेरै फिल्महरूमा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरेकी सरिता राजोपाध्याय टेलिफिल्महरुमा निभाएको नकारात्मक चरित्रबाट दर्शकमाझ परिचित भइन्। अभिनयकोक्रममा निभाएको चरित्रका कारण वास्तविक जीवनमा समेत गाली खाएकी उनले कलाकारिता क्षेत्र रोजेको झन्डै दुई दशक पुग्न लाग्यो।

'जीवनचक्र', 'आमा', 'थोरै भए पुगिसरी' लगायतका चर्चित टेलिसिरियल हुँदै उनले हालै 'नालापानी' नामक फिल्ममा समेत अभिनय गरेकी छन्। 'वीर विक्रम २' फिल्मको प्रनेश गौतमले समीक्षा गरेपछि उनी पनि ट्रोलको सिकार भएकी थिइन्।

उनलाई वर्षा सिवाकोटीको आमाको भूमिका निर्वाह गर्ने निकिता चाण्डक भनिएको थियो। नाटकबाट करियरको सुरुवात गरेकी उनी दुई सन्तानकी आमा समेत हुन्छ।

कान्छो छोरो दुई वर्षको भएपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी उनै कलाकार सरिताले उकेरासँग बाँडेको आफ्नो प्रसव पिडा र खुसीको अनुभव :

OOO

काठमाडौँको कोटेश्वरमा  हो म जन्मिएको। म जन्मिएपछि मेरो आमाबुबा भक्तपुरमा बसाइँ जानुभयो। त्यसैले मेरो बाल्यकाल भक्तपुरमै बित्यो।

म जन्मेको परिवार एकदमै धार्मिक। सायद त्यसैले होला, म पनि धेरै आध्यात्मिक छु। घरमा माछा, मासु मात्रै हैन, लसुन अनि प्याज पनि नचल्ने। मेरो बाल्यकाल धार्मिक परिवारमा, शान्त अनि निकै अनुशासनमा बित्यो।

भक्तपुरकै विद्यालयमा पढेँ मैले। तर मन लागे जति पढ्न पाइन। एसएलसी दिने बित्तिकै ललितपुर चापागाउँको केटासँग मेरो विवाह भयो।

१० कक्षा पढ्दा नै विवाह पक्का भएको थियो। धन्न एसएलसी भने दिन पाइयो। विवाहपछि मात्रै एसएलसीको नतिजा सार्वजनिक भएको थियो। एसएलसी त पास भएँ, तर पारिवारिक कारण पढाइलाई निरन्तरता दिन सकिन।

मेरो विवाह हुँदा म १४ बर्षजति पुगेकी थिएँ होला। परिवार के हो, फेमिली प्लानिङ भनेको के हो के थाहा हुन्छ र त्यो उमेरमा !  परिवार भनेको के हो थाहै नपाइ म त गर्भवती पो भएछु।

गर्भवती भयो भने महिनावारी रोकिन्छ भनेर स्कुलमा पढेको थिएँ। तर बच्चा पेटमा आएको तीन महिनासम्म पनि म महिनावारी भइरहेकै थिएँ। त्यसैले आफू गर्भवती भएको थाहै पाइन।

एक दिन शौचालय गएकी थिएँ। केही बगेको जस्तो अनुभूति भयो। डर लाग्यो। शरीरलाई असहज लागेको धेरै दिन भइसकेको थियो।

पाठेघरै खस्न आँटेको जस्तो डर लागेपछि जँचाउन अस्पताल गएँ। चिकित्सकले परीक्षण गरेपछि थाहा भयो, म त गर्भवती भएछु। बच्चा पेटमा आएको पनि तीन महिना भइसकेको रहेछ।

गर्भवती भएको थाहा पाउने बित्तिकै परिवारका सबै सदस्यहरू खुसी हुनुभयो। मेरो श्रीमान् र मेरो उमेर अन्तर राम्रै छ। म भन्दा धेरै उहाँ खुसी हुनुभयो।

पाटन अस्पतालमा नियमित जाँच भइरहेको थियो। उमेर सानो भए पनि अलि मोटी नै थिएँ। त्यसैले वास्तविक उमेर नभनेसम्म अरूले अनुमान गर्न सक्दैनथे।

शरीर स्वस्थ भएकाले होला, गर्भावस्थाको समयमा खासै समस्या भएन। खाना रुचिरहेको थियो, मन पनि खुसी नै थियो।

बच्चा जन्माउने समयको घटना फेरी रमाइलो छ। राती सुख्खा रोटी खाएकी थिएँ। तातो रोटी खाएदेखि पेट दुख्न थाल्यो। मलाई लाग्यो, रोटी काँच्चै भएछ। त्यसैको असरले पेट दुख्यो होला भन्ने भयो। त्यसैले सकेसम्म सहेर बसेँ। तर पेट दुख्न छाडेन।

त्यो समयमा ल्याण्डलाइन फोन थियो। पेट धेरै दुखेपछि आमालाई फोन गरेँ। उहाँले व्यथा लाग्न थालेछ, अस्पताल जाऊ भन्नुभयो। श्रीमानले ट्याक्सी खोजेर ल्याउनु भयो। अनी पाटन अस्पताल गयौँ। 

अस्पताल पुगेपछि मलाई झनै सहनै नसक्ने गरेर पेट दुख्यो। राउन्डमा चिकित्सक आएको मौका पर्यो। उहाँले मेरो अवस्था देखेर सिधै डेलिभरी रुममा लैजानुभयो।

अस्पताल पुगेको केही समयमै मैले बच्चा जन्माइहालेँ। छोरा जन्मियो। सानै उमेरमा बच्चा जन्माए पनि बच्चा एकदम स्वस्थ थियो, म पनि स्वस्थ थिएँ। डेलिभरी पनि नर्मल नै भयो।

हाम्रो घरमा सासूको पालादेखि नै सुत्केरी स्याहार्दै आउनुभएको  दिदी हुनुहुन्थ्यो। मलाई पनि उहाँले नै स्याहार्नुभयो। समस्या बच्चा समात्नै नआउने। बच्चा समाउन सिक्न ७ महिना लागेको थियो।

सुत्केरीमा घर परिवारको राम्रो साथ  र सहयोग अनि माया पाएँ। सुत्केरीमा राम्रो स्याहार भएन भने ज्यान बिग्रन्छ रे। तर मैले स्याहार पनि राम्रो पाएँ।

त्यो समयमा करियर बनाउन खासै केही सोचेको पनि थिइन। पढ्न रहर थियो। पढ्न पाइन। परिवार के हो भन्ने चालै नपाइ आमा बने। त्यसैले बच्चा जन्माउनु पनि सामान्य प्रक्रिया नै हो भन्ने लागेको थियो।

हामी छोरीहरूको हुर्काई पनि त्यसरी नै भएको हुन्छ नि। तिमिले ठुलो भएपछि अर्काको घर जानुपर्छ, बच्चा जन्माउनुपर्छ भनेर सुनाइरहन्छन्। मेरो घरको वातावरण पनि त्यस्तै थियो।

त्यसैले सानो उमेरमा बिहे भएर, सानै उमेरमा आमा बन्दासम्म आफ्नो जन्म नै यही कामका लागि भएको त हो नि। बरु काम छिटो सकियो जस्तो लागेको थियो।

पहिलो बच्चा जन्मेको झन्डै आठ वर्षपछि म फेरि गर्भवती भएँ। पहिलो बच्चाको पालोमा जस्तै भयो दोस्रो बच्चाको समयमा पनि। त्यति गाह्रो अनुभवै भएन।

पहिलो बच्चा भएपछि गायन सिक्दै थिएँ। दिनदिनै पेट बढ्दै गए जस्तो लाग्यो। तर महिनावारी त भइरहेको छ, फेरि पेट पनि बढिरहेको छ।

तर पहिलो बच्चाको समयमा जस्तै शरीर भने असहज लागिरहेको थियो। फेरि गर्भवती भएँ कि जस्तो लागेर अस्पताल गएँ। नभन्दै पेटमा बच्चा आएको रहेछ।

पेटमा नयाँ मानिस आएको छ। नौलो र अनौठो त लागिहाल्थ्यो। त्यो बाहेक त्यस्तो खास केही लागेन। सामान्य प्रक्रिया हो, महिलाले गर्नै पर्छ भन्ने लाग्यो। कान्छो सन्तान पनि पाटन अस्पतालमा नर्मल डेलिभरी मार्फत नै जन्माएँ।

दोस्रो पटक मातृत्वको अनुभूति अलि अनौठो लाग्यो पहिलाको भन्दा। पहिलो सन्तानको पनि माया नलागेको हैन। तर आफू पनि सानै उमेरको भएर होला विशेष अनुभव भएको थिएन। दोस्रो सन्तानको पालामा भने विशेष अनुभव भयो।

दोस्रो पटक केही समयअघि निकै पिडा भइरहेको हुन्थ्यो शरीरमा। तर जब बच्चा पेटबाट बाहिर निस्कन्थ्यो, संसारको सबैभन्दा सुखी र खुसी महिला मैँ हुँ जस्तो अनुभूति हुन्थ्यो। मरेर बाँचेको हो भन्ने नै नहुने। कस्तो भने, एक छिन अघिसम्म मर्ने गरेर दुखेको छ तर बच्चा जन्मेपछि त्यो त सपना रहेछ, अब बिपनामा बाँचिरहेको छु र बिपना निकै सुन्दर छ जस्तो लाग्ने।

कान्छो छोरोको पालोमा पनि बच्चालाई तेल लगाउनेदेखि नुहाई दिनेसम्मका लागि पुरानै दिदी आउनुभएको थियो। उहाँले तेल लगाइदिने, स्याहार सुसार गर्ने सबै गर्नुहुन्थ्यो।

म बच्चा जन्माउने र आमा बन्ने मामिलामा सायद अरू महिला भन्दा भाग्यमानी भएँ। बच्चा पेटमा हुँदा सबैभन्दा नजिकको साथ आफ्नो श्रीमानको चाहिन्छ। उहाँले मलाई चाहिने जति साथ दिनुभयो।

कान्छो छोरो दुई वर्षको भएपछि मैले आफ्नो सानै देखिको इच्छा व्यक्त गरेँ। गायन पेसा अँगाल्छु या कलाकार बन्छु भने। परिवार सहमत भए।

कलाकारितामा कसैलाई चिनेको थिइनँ। एक जना रङ्ग पत्रकार गीता अधिकारीसँग संयोगले भेट भयो। उहाँसँगै पत्रकारिता गर्दै हिँडे।

अन्तरवार्ताका क्रममा हास्य कलाकार निर्मल शर्मासँग भेट भयो। उहाँले दुःख हुन्छ यो फिल्डमा नहिँड भन्नुभएको थियो तर छाडिन। बिस्तारै टेलिश्रृंखलाहरुमा सानो-सानो भूमिका पाउन थालेँ। फिल्महरूमा चरित्र अभिनेत्रीको रूपमा बोलाउन थाले।

अहिले त व्यस्त छु। झन्डै २० वर्ष पुग्न लाग्यो कलाकार बनेर दौडधुप सुरु गरेको पनि। मेरो जेठो छोरो नै २८ वर्षको पुगिसक्यो। कान्छो छोरो पनि २१ वर्षको भयो।

जेठो छोरो राससमा न्युज एडिटरको काम गर्छ। कान्छो छोरो सूचना प्रविधिबारे पढिरहेको छ।

उनीहरू मेरा साथीजस्तै छन्। हाम्रो रुचि पनि मिल्छ। म भेजिटेरियन थिएँ, अहिले भेगान भएकी छु। जनावरबाट आउने कुनैपछि पदार्थ मैले सेवन गर्दिन।

मेरा दुवै छोराहरू पनि भेजिटेरियन छन्। जेठो छोरोलाई बिहे गर्, गर्लफ्रेन्ड चिना भनेर जिस्काइरहन्छु। यदि मेरो जस्तै तिमीहरूको पनि सानो उमेरमा बिहे भएको भए, यति बेला म हजुरआमा बनिसक्थेँ भन्छु। उ हाँस्छ मात्रै।

साँच्चै जीवन रमाइलो छ। त्यसमा दुई सन्तानले थप रमाइलो बनाइरहेका छन्। महिलाका लागि प्रसव पीडा सहज छैन,पीडादायी छ। तर यो हामीलाई भगवान्ले दिएको वरदान जस्तै लाग्छ।

आफ्नो पेटमा अर्को जीवन हुर्काएर यो संसारमा ल्याउनु जतिको मिठो वरदान अरू के हुन सक्छ र ! यो जतिको खुसी अरु केमा हुन्छ र!

यो पनि

फागुन २८, २०७९ आइतबार २०:४४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।