एकैपटक तीन जनामा प्रत्यारोपण भयो मृत व्यक्तिको अङ्ग

एकैपटक तीन जनामा प्रत्यारोपण भयो मृत व्यक्तिको अङ्ग

काठमाडौं : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त भएको दुई मिर्गौला र एउटा कलेजो एकैसाथ तीन जना व्यक्तिमा प्रत्यारोपण भएको छ।

भक्तपुरकै एक अस्पतालमा मृत्यु भएका व्यक्तिबाट प्राप्त यी अङ्ग फागुन १६ मा प्रत्यारोपण भएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला रुपन्देहीको मायादेवी गाउँपालिकाका ४७ वर्षीय पुरुष र सिरहा नगरपालिका ३५ वर्षीय पुरुषमा प्रत्यारोपण गरिएको केन्द्रले बताए।

त्यसैगरी ललितपुर जिल्ला ललितपुर महानगरपालिका-२५ का ६८ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो। मिर्गौला र कलेजो प्राप्त गर्ने तीनै जनाले स्वास्थ्य लाभ गरिरहेको उनले जानकारी दिए।

डा. श्रेष्ठको नेतृत्वमा प्रत्यारोपण भएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा. ललित कुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सक लगायतको सहभागी रहेको थियो।

त्यसैगरी एनेस्थेसिया तथा कृटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रश्मित श्रेष्ठ लगायतले सहयोग रहेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार नेपालमा २०७४ वैशाख २८ गतेबाट पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण सुरु भएको हो। त्यसयता पाँच जना व्यक्तिबाट अंग प्राप्त गरेर १३ जनामा प्रत्यारोपण भएको केन्द्रले जनाएको छ।

फागुन १९, २०७९ शुक्रबार २१:४०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।