शुक्रबारबाट आयुर्वेद महासभा सुरु हुँदै, विभिन्न देशका तीन सय आयुर्वेद विज्ञ सहभागी हुने
काठमाडौं: काठमाडौंमा शुक्रबारदेखि सातौँ अन्तराष्ट्रिय आयुर्वेद महासभा हुने भएको छ। आइतबारसम्म चल्ने महासभामा करिब तीन सय आयुर्वेद विज्ञको सहभागिता रहने स्थानीय आयोजक संस्थाहरू नेपाल महर्षि वैदिक फाउण्डेशन र नेपाल आयुर्वेद चिकित्सक सङ्घले जनाएका छन्।
आयोजकले भनेका छन्,‘यो सातौँ अन्तराष्ट्रिय आयुर्वेद महासभामा कम्तीमा एक-दुई सय आयुर्वेदका विज्ञहरू सहभागी हुनेछन् भने युरोप अमेरिकासहित अन्य अन्तर्राष्ट्रिय जगत्बाट १०० जना आयुर्वेद विज्ञहरू सहभागी हुनेछन्।’
महासभाको मूल नारा ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने रहेको छ। महासभाको लागि नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र भारतको आयुष मन्त्रालयले सहयोग गर्ने आयोजकले बताएका छन्।
महासभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्ने नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा. श्यामबाबु यादवले जानकारी दिए।
यसअघि सो महासभा नेदरल्याण्ड्स, बेलायत, ब्राजिलजस्ता मुलुकमा भएको आयोजकले जनाएको छन्।
महासभाको प्रमुख आयोजक भने अन्तर्राष्ट्रिय महर्षि आयुर्वेद फाउण्डेसन नेदरल्यान्ड, अल इण्डिया आयुर्वेद कंग्रेस दिल्ली र इन्टरनेशनल एकेडेमी अफ आयुर्वेद पुणे रहेको स्थानीय आयोजकले बताएका छन्।
फागुन १८, २०७९ बिहीबार २२:२२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।