सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा, विदेश जाने निवेदनको सुनुवाई सकियो

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा, विदेश जाने निवेदनको सुनुवाई सकियो

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ।

सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय सर्वोच्चमा दायर गरेको निवेदनको सुनुवाइ शुक्रबार ‘हेर्न नभ्याइने’मा परेको हो।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासको ३३औं नम्बरमा रहेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको इजलास अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए।

यसअघि फागुन ३ गतेको तारेखमा २६ गतेको लागि चढेको पेशी साप्ताहिकबाट हटाइएको थियो।

उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएसँगै त्यसविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्दै सर्वोच्च अदालत पुगेको थियो।

उता, सन्दीप लामिछानेको तर्फबाट दायर भएको धरौटी मुद्दाको सुनुवाइ सकिएको छ। उक्त मुद्दामा धरौटी रकम घटाउनुपर्ने र विदेशमा क्रिकेट खेल्न जान पाउनुपर्ने माग गरिएको थियो।

बहसमा क्रिकेट एसोसिएसन अफ नेपालको तर्फबाट विनोद दासले लामिछानेको जिम्मा आफूले लिने भन्दै उनलाई विदेश जाने अनुमती दिन माग गरेका थिए। आदेश भने आइसकेको छैन।

लामिछानेविरुद्धको नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पनि उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने फैसला गरेको थियो।

उच्च अदालतले  पुस २८ गते २० लाख धरौटीमा छाड्ने आदेशदिँदा उपत्यका छाड्दा प्रहरीलाई जानकारी दिनुपर्ने तर विदेश जान नपाउनेसहितको सर्त राखेको थियो।

फागुन १२, २०७९ शुक्रबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।