बैङ्कमा साटेको अमेरिकी डलर नक्कली पर्दा दुबइमा झन्डै थुनिएनन् विकास बोर्डका दुई कर्मचारी, घटनाबारे राष्ट्र बैङ्क र प्रहरीलाई 'जानकारी छैन'

बैङ्कमा साटेको अमेरिकी डलर नक्कली पर्दा दुबइमा झन्डै थुनिएनन् विकास बोर्डका दुई कर्मचारी, घटनाबारे राष्ट्र बैङ्क र प्रहरीलाई 'जानकारी छैन'

काठमाडौँ : चलचित्र विकास बोर्डले दुबइमा गरेको नेपाल फेस्टमा सहभागी हुन गएका बोर्डका दुई कर्मचारी नक्कली डलर केसमा प्रहरीको अनुसन्धानको दायरामा परे।

बोर्डका अध्यक्ष भुवन केसीसहितको टोलीमा बोर्डका कर्मचारी गिरीश शर्मा र हरिसिंह राइखोला समेत सहभागी भएका थिए। उनीहरू ११ फेब्रुअरीमा दुबइको विमानस्थलमा उत्रिएर विमानस्थलभित्रकै पैसा साट्ने काउन्टरमा गएर डलर साट्ने प्रयास गरेका थिए।

उनीहरूले दिएको डलर सटही काउन्टरमा जाँच गर्दा केही नोट नक्कली देखाएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। उनीहरूले नेपालमा बैङ्कबाट पाँच सय अमेरिकी डलर साटेर गएका थिए। उनीहरूको राहदानीमा बैङ्कले अमेरिकी डलर साटेको छाप लगाएकाले उनीहरू जोगिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि दुबइमा रहेका एक नेपालीको रोहवरमा उनीहरूलाई छाडेको थियो। अहिले शर्मा र राइखोला दुवै नेपाल आइसकेका छन्।

उकेराले शर्मासँग घटनाबारे सोध्दा उनले पहिला यसबारे बैङ्कलाई सोध्न आग्रह गरे। तपाइसहित २ जनालाई दुबइमा प्रहरीले नियन्त्रणमा लिएर नक्कली डलरबारे सोधपुछ गरेको हो हैन भन्ने प्रश्नमा उनले घटना स्विकारे।

'बैङ्कबाट पैसा साटेर जाँदा पनि दुख पाइयो। यसबारे बैङ्कलाई नै सोध्नुहोला' उनले उकेरासँग भने।

बैङ्कमा लिएर डलरै नक्कली

बोर्डले ३० लाख खर्च गरेर अवैध गतिविधिमा संलग्न रहेर बदनाम भएको सूर्य कर्पोरेसनलाई फेस्ट आयोजनाको जिम्मा दिँदा नै विवाद भएको थियो।

फेस्टमा सहभागी हुन बोर्ड अध्यक्ष केसी कलाकार समेत रहेका छोरा अनमोल केसीसँगै लिभिङ टुगेदरमा रहेकी प्रेमीका जिया केसीलाई सँगै लिएर गएका थिए भने कार्यक्रम सञ्चालक प्रकाश सुवेदी श्रीमतीसहित दुबई पुगेका थिए।

नेपालमा नक्कली भारतीय रुपैंया र नक्कली नेपाली रुपैयाँ फेला पर्ने गरे पनि नक्कली अमेरिकी डलर कमै फेला पर्छन्। सस्तोमा अमेरिकी डलर साट्ने भनेर ठगीमा समूहहरू सक्रिय छन्। उनीहरूले अमेरिकी डलर फोटोकपी गरेर सस्तोमा दिने प्रलोभनमा पारेर ठगी गर्ने गरेका छन्। तर ती डलर चल्तीमा बजारमै आउने गरेको भेटिएको थिएन।

बोर्डको प्रदर्शनी तथा वितरण प्रमुख रहेका शर्मा र चलचित्र उत्पादक रहेका राइखोला पनि सोही टोलीमा सहभागी थिए। दुबई जान उनीहरूले कपनमा रहेको सिटिजन्स बैङ्कको शाखामा डलर साटेका थिए। बोर्डको कार्यालय कपनमै छ।

बोर्डका एक सदस्यका अनुसार फेब्रुअरी १२ देखि दुबइमा हुने फेस्टमा सहभागी बोर्ड अध्यक्षदेखि अन्यका लागि पनि त्यही शाखाबाट डलर साटिएको थियो। शर्माले एक हजार डलरको ट्राभल्स कार्ड लिए भने पाँच सय अमेरिकी डलर नगदै लिए। उता राइखोलाले आठ सय डलरको ट्राभल्स कार्ड र पाँच सय डलर नगद लिएका थिए।

उनीहरूले बैङ्कबाट आधिकारिक रूपमा लिएको डलर स्थानीय मुद्रामा साट्न खोज्दा नक्कली देखिएपछि अनुसन्धानको दायरामा परेका थिए।

राष्ट्र बैङ्कदेखि प्रहरीसम्मलाई 'जानकारी छैन'

शर्मा र राइखोला नेपाल फर्किसकेका छन्। बैङ्कबाटै साटिएको अमेरिकी डलर नक्कली भएको गम्भीर घटना अनि आफ्नो कार्यालयका कर्मचारीले दुख पाएकोबारे बोर्डले न राष्ट्र बैङ्कलाई जानकारी दिएको छ न त प्रहरीलाई नै।

नेपाल राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल बैङ्कमा साटेको अमेरिकी डलर नक्कली देखिएकोबारे अहिलेसम्म जानकारी नआएको उकेरालाई बताए।

प्रहरी प्रवक्ता पोषराज पोखरेलले पनि यसबारे प्रहरीमा कुनै जानकारी नआएको बताए। उनले यसबारे उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयलाई जानकारी हुनसक्ने बताए। कार्यालयका एसपी सोमेन्द्र राठौरले यसबारे कार्यालयमा कुनै जानकारी नआएको बताए।

७० मिलियन नक्कली डलर बजारमा

नेपालमा नक्कली भारतीय रुपैंया र नक्कली नेपाली रुपैयाँ फेला पर्ने गरे पनि नक्कली अमेरिकी डलर कमै फेला पर्छन्। सस्तोमा अमेरिकी डलर साट्ने भनेर ठगीमा समूहहरू सक्रिय छन्। उनीहरूले अमेरिकी डलर फोटोकपी गरेर सस्तोमा दिने प्रलोभनमा पारेर ठगी गर्ने गरेका छन्। तर ती डलर चल्तीमा बजारमै आउने गरेको भेटिएको थिएन।

बेलाबखत नेपाल आउने विदेशी नागरिकको साथमा रहेको डलर नक्कली भेटिने गरेको छ। गत वैशाखमा एक सय  दरको एक नोटसहित नक्कली अमेरिकी डलर सहित मलेसियन नागरिक रुवेन दास अरुल पक्राउ परेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिसा दस्तुर बुझाउने क्रममा बैङ्क काउन्टरमा बुझाएको नोट नक्कली देखिएपछि उनी पक्राउ परेका थिए। तर औपचारिक बैङ्किङ च्यानलमै नक्कली डलर भने फेला परेको सार्वजनिक भएको थिएन।

तर दुबइमा भएको घटनाले नेपालको बैङ्किङ च्यानलमा रहेको अमेरिकी डलर नक्कली समेत रहेको पुष्टि हुन्छ। नेपालको बजारमा नक्कली अमेरिकी डलरको बिगबिगी नदेखिए पनि विश्व बजारमा ७० मिलियन बराबरको नक्कली अमेरिकी डलर बजारमा रहेको अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीकै तथ्याङ्कले देखाउँछ।

फागुन ११, २०७९ बिहीबार १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।