खरिद अनियमिततामा अख्तियारले छानबिन गरिरहेको डा सन्तोषलाई सरकारले वीर अस्पतालको निर्देशक बनायो
काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख रहेको बेला भएका खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा रहेका सन्तोष पौडेललाई सरकारले वीर अस्पतालको नेतृत्व सुम्पिएको छ।
सरकारले युनिफाइड केन्द्रीय अस्पतालका निमित्त प्रमुख भूपेन्द्र बस्नेतलाई हटाएर पौडेललाई वीरमा नियुक्त गरेको थियो। पौडेल यस अगाडि एमाले नेतृत्वको सरकारमा ट्रमाको प्रमुख थिए। उनी ट्रमा प्रमुख रहँदा भएका खरिदबारे अख्तियारले छानबिन गरिरहेको खुलेको छ।
छानविनकाक्रममा आयोगले ट्रमा सेन्टरलाई माघ १६ मा पत्र पठाएर छानबिन प्रतिवेदन मागेको खुलेको छ।
आयोगले २०७९ मङ्सिर ८ गतेको पत्रबाट माग भएको विवरणमा ट्रमा सेन्टरबाट उपलब्ध भएको विवरण सहितको कागजातहरू अपुग र अस्पष्ट रहेको भन्दै १० दिन भित्र थप विवरण आयोगमा पठाएर अनुसन्धानमा सहयोग गर्न भनेको छ।
आयोगले ट्रमा सेन्टरबाट खरिद गरिएको ‘फोटोन टनल्याण्ड ब्रान्ड’ को ‘एम्बुलेन्स’, ‘सी—आर्म (जिइ मेसिन)’, ‘हाइ इण्ड अप्रेटिङ्ग माइक्रोसकोप’ र ‘डेक्सा स्क्यान’ सँग सम्बन्धित कागजपत्र मगाएको हो।
यी स्वास्थ्य उपकरण पौडेल ट्रमा सेन्टरका निमित्त निर्देशक हुँदा नै किनिएका हुन्। उकेरालाई प्राप्त तथ्य अनुसार ट्रमा सेन्टरले एउटा हाइ इण्ड अप्रेटिङ्ग माइक्रोसकोप २०७७ मङ्सिरमा बोलपत्र स्वीकृत गरी एक करोड ७३ लाख २२ हजार नौ सयमा इष्टवेष्ट कन्सर्न प्रालिसँग खरिद गरेको देखिन्छ।
यो मेसिन खरिदमा मिलेमतोमा स्पेशिफिकेशन लक्ड गरेर निश्चित कम्पनीले मात्र प्रतिस्पर्धा गर्न सक्ने बनाइएको आशङ्कामा अख्तियारले अनुसन्धान गरिरहेको खुलेको छ।
त्यसै गरी दुई सेट ‘सी—आर्म’ मेसिन पनि २०७७ मङ्सिरमा नै एक करोड ६७ लाख एक हजार चार सयमा म्याक्स मेडिटेक सिस्टम प्रालिसँग ट्रमाले खरिद गरेको थियो।
एक सेट ‘डेक्सा स्क्यान’ मेसिन पनि २०७७ मङ्सिरमा नै सञ्जीवनी इन्टरप्राइजेजसँग ७७ लाख ९५ हजारमा ट्रमा सेन्टरमा खरिद भएको देखिन्छ। बोलपत्र स्वीकृतिको सूचनामा उल्लेख भएको रकममा भ्याट सहित जोड्दा यो रकम बढ्ने देखिन्छ।
त्यसै गरी ए वर्गको भनिएको एम्बुलेन्स २०७७ मा नै करिब ८९ लाख ९५ हजारमा एमएडब्लु भृद्धि कमर्सियल भेहिकल्सँग खरिद गरेको देखिन्छ। त्यही बेलामा एम्बुलेन्स मापदण्ड अनुसारको नभएको भन्दै विरोध भएको थियो। यी खरिदबारे राष्ट्रिय सतर्कता केन्द्रले समेत छानबिन गरेर प्रतिवेदनमा अनियमितता भएको उल्लेख गरेको थियो। अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ।
आयोगले ट्रमा सेन्टरलाई पठाएको पत्रमा,‘ईस्टिमेट रेट तयार गर्दा त्यहाँ ट्रमाबाट केही कम्पनीसँग रेट माग गरी औसतमा लागत अनुमान तयार गर्दाको आधार, खरिदको लागि बोलपत्र पेस गर्ने कम्पनीहरूले पेस गरेको बोलपत्र फारम सहितको कम्पनीको तर्फबाट पेस भएको सम्पूर्ण कागजातहरू प्रमाणित गरी पुनः पठाउनुपर्ने’ उल्लेख छ।
त्यसै गरी आयोगले ट्रमामा तालिम दिएको इलाइट नामक संस्थाप्रति प्रश्न उठाउँदै सो संस्थाको फोन नम्बर सहितको विवरण समेत माग गरेको छ।
आयोगले ट्रमा सेन्टरलाई पठाएको पत्रमा भनिएको छ, ‘इलाइट भन्ने संस्थाको सञ्चालकको फोन नं. सहितको विवरण, ट्रमा सेन्टरबाट प्राप्त चिकित्सक तथा नर्सिङ कर्मचारीको नाम थर, कार्यरत स्थान, सम्पर्क नं. तालिम प्राप्त अवधि सहितको विवरण र सो संस्थालाई के कुन मापदण्ड अनुसार तपसिल सञ्चालन गर्न दिइएको थियो सो सँग सम्बन्धित प्रमाणित कागजातहरू पुनः पठाउनुहुन।’
राष्ट्रिय सतर्कता केन्द्रले समेत ट्रमा सेन्टर र वीर अस्पतालमा भएका खरिद लगायत अनियमितताका विषयमा छानबिन गरेको थियो।
सतर्कता केन्द्रले गठन गरेको छानबिन समितिले सतर्कता केन्द्रमा २०७९ माघ २५ गते समितिले प्रतिवेदन समेत बुझाई सकेको छ। केन्द्रकातर्फबाट प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक र मेडिकल टेक्नोलोजिष्टको टिमले छानबिन गरी आयोगमा प्रतिवेदन बुझाएको देखिएको छ।
छानबिनपछि समितिले सतर्कता केन्द्रमा बुझाएको प्रतिवेदनमा, ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रहेका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न विषयमा भएको अनियमितता सम्बन्धी केन्द्रमा प्राप्त उजुरीको छानबिन गरी प्रतिवेदन पेस गर्न खटाइए अनुसार प्रतिवेदन पठाएको' उल्लेख छ।
प्रतिवेदनमा खरिद प्रक्रियामा मिलेमतो भएको भन्दै विस्तृत छानबिन गरेर संलग्नहरूमाथि कारबाहीको सिफारिस गरिएको थियो।
फागुन ८, २०७९ सोमबार १४:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।