सर्वोच्चका मुद्दा पाँच वर्षभित्र छिनोफानो गर्छौं : कायममुकायम प्रधानन्यायाधीश कार्की

सर्वोच्चका मुद्दा पाँच वर्षभित्र छिनोफानो गर्छौं : कायममुकायम प्रधानन्यायाधीश कार्की

काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा ५ वर्ष भन्दा बढि मुद्दा नराख्नेगरी काम सुरू भएको बताएका छन्।

मंगलबार कानून व्यवसायी क्लब काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रममा कार्कीले अब सर्वोच्च अदालतमा दर्ता भएका कुनै पनि मुद्दा ५ वर्षभित्रमा टुंग्याइसक्ने गरी काम सुरू गरिएको बताए।

कार्कीले सर्वोच्च अदालतमा ५ प्लस जिरो र उच्च र जिल्ला अदालतमा २ प्लस जिरोमा मुद्दाको फस्र्यौट गरिसक्ने दाबी गरे। उनका अनुसार अबबाट सर्वोच्च अदालतले अदालतमा दर्ता भएका मुद्दाहरू ५ वर्षसम्ममा टुंग्याइसक्नुपर्ने र उच्च र जिल्ला अदालतले २ वर्षभित्रमा अदालतमा दर्ता भएका सबै मुद्दाको छिनोफानो गरिसक्नुपर्नेछ।

यस कार्यमा सबै कानून व्यवसायीहरूले प्रतिबद्धता जनाइसकेको र अझै पनि कानून व्यवसायीहरूको साथ र समर्थन आवश्यक रहेको बताए। कार्कीले समयमै मुद्दा छिनोफानो गर्नका लागि बहस व्यवस्थापन, लिड लयर्सको कन्सेप्ट र मुद्दामा अति आवश्यक मानवीय कुरामा बाहेक अरु अवस्थामा मुद्दा हटाउँदैनौँ भनेर प्रतिवद्धता गर्न आवश्यक रहेको बताए।

का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायालयको श्रीवृद्धि गराइ निष्पक्ष न्याय सम्पादन गर्नेकुरामा सबै कानून व्यवसायीहरूले दत्तचित्त भएर लाग्नुपर्ने बताए।

१७ फागुन, २०७९, १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।