अर्घाखाँची सिमेन्ट उद्योगमा चार मजदुरको मृत्यु, घटनाबारे एक महिनासम्म मौन प्रहरी

अर्घाखाँची सिमेन्ट उद्योगमा चार मजदुरको मृत्यु, घटनाबारे एक महिनासम्म मौन प्रहरी

बुटवल : रुपन्देहीको अर्घाखाँची सिमेन्ट उद्योगमा चार मजदुरको मृत्यु भएको घटना एक महिनासम्म गुपचुप राखिएको छ।

माघ १६ गते रुपन्देहीको मैनहियामा रहेको अर्घाखाँची सिमेन्टमा भएको घटनालाई प्रहरी र उद्योगले एक महिनासम्म गुपचुप राख्न खोजेको पाइएको हो।

उद्योगको कोइला भट्टीमा आगोले जलेर ६ जना घाइते भएका थिए। उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेज लगिएकोमा चार जनाको मृत्यु भएको र बाँकी दुई जना उपचारपछि घर फर्किएको खुलासा भएको छ।

एक महिनासम्म मौन बसेर उद्योगीलाई संरक्षण र सहयोग गरिरहेको प्रहरीले मिडियाबाट घटनाबारे आउन थालेपछि भने घटना भएको स्वीकार गरेको छ। मृत्यु भएका चारजनामध्ये तीन जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेको प्रहरीले पुष्टि गरेको छ।

आगोमा जलेर रुपन्देही मायादेवी गाउँपापलिका कलौनी घर भएका ४० वर्षीय अड्डकत कुमार हरिजन, भारत बिहार स्थायी घर भएका ३५ वर्षीय शशीकान्त कुशवाह, भारत बिहारकै श्रीराम सिंह र भारत कानपुर घर भएका ४० वर्षीय जितेन्द्र उतमको मृत्यु भएको हो।

भारत बिहार घर भएका रनजकिशोर यादव र भारतकै महाराजगञ्ज घर भएका सिवलाल हरीजन घाइते भएकोमा उपचारपछि घर फर्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले घटनाबारे घटनाको मिति र मृत्यु भएको मिति फरक–फरक भएकाले घटना बाहिर नआएको दाबी मात्र गरेनन् घटना सार्वजनिक गर्न छुटेकोसमेत बताउन भ्याए।

१६ फागुन, २०७९, १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।