काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्‍यो : निवर्तमान स्वास्थ्यमन्त्री गिरी

काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्‍यो : निवर्तमान स्वास्थ्यमन्त्री गिरी

काठमाडौं : निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नुपरेको बताएका छन्।

४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने मन्त्रालयबाट बिदा लिनुपरेको उनले गुनासो गरे।

स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री गिरीले मन्त्रीको रूपमा आफूले व्यतित गरेको समय अध्ययनमा बिताएको स्पष्ट पारे।

स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरू छन् भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएकोसमेत उनले बताए।

उनले भने, ‘४२ दिन स्वास्थ्यमन्त्रीको रूपमा रहेर काम गर्दा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिभूत ढंगले जुटे। सम्बन्धित पक्षहरूसँग बस्ने, अन्तरक्रिया गर्ने, कहाँ के समस्या छन? ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले धेरै भन्दा धेरै समय खर्च गर्ने भन्ने लाग्छ। बुझेर काम गर्ने बेलामा बिदा लिनुपर्ने अवस्था बन्यो।’

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यक्ता औंल्याए। त्यसका लागि बीमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पु¥याउनुपर्ने उहाँको सुझाव थियो। गिरीले स्वास्थ्य बीमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गरे।

गिरीलेस्वास्थ्य सामग्रीहरूको दूरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरूको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताए।

१६ फागुन, २०७९, १२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।