ब्याच नम्बर ६९ : पाँचौँ दिनमा अनुसन्धान सफल होला भनेको त सिमपानीको जङ्गलमा शव फेला पर्यो, मनै खङ्ग्रङ्ङ भयो
प्रेममा सामान्य असमझदारीले कतिसम्म भयानक परिणाम निम्त्याउनसक्छ अनि साना हतियारको सहज पहुँचले आवेगलाई कसरी गम्भीर अपराधमा बदल्छ भन्ने एक घटना उल्लेख गर्न मनलाग्यो आज।
घटनाको कारण सामान्य नै हो- 'शङ्का'।
भनिन्छ नि, शङ्काले लङ्का जलाउँछ भनेर। यो घटनाले चाहिँ लङ्का होइन, एक युवतीको जीवन जलायो। कलिलै उमेरमा।
त्यो बेला म अपराध महाशाखामै थिए। ललितपुर बस्ने एक २० वर्षीया रोजी महर्जन धोबीघाटमा रहेको नेपाल कलेज अफ म्यानेजमेन्ट जाने क्रममा हराइन्। मिती २०६८ श्रावण २०। शुक्रबारको दिन थियो।
अपहरणका कारणहरूमा सबैभन्दा पहिलो त आर्थिक लोभ नै देखिन्छ। यस्तोमा अनुभवी आपराधिक समूह संलग्न हुन्छन्। अर्को भनेको पारिवारिक दुश्मनी।
उनी ‘घरमै खाना खान आउँछु है’ भनेर हिँडेकी रहिछिन्। छोरी फर्किइनन्। बरू '३० लाख पैसा नदिए छोरीको लास पनि पाउन सक्दैनौ' भन्दै फोन पो आयो परिवारलाई। महर्जन परिवार आत्तियो।
फोन गर्नेले प्रहरीमा गयौ भने छोरी मारिदिन्छु भनेका रहेछन्। एसएमएस पनि गरेका थिए अपहरणकारीले। उनीहरू प्रायः यस्तो धम्की दिन्छन् नै। धम्कीबाट डराउने परिवारहरू आफैँ मिलाउन लाग्छन्। त्यस्तो बेला घटना थप गम्भीर हुनसक्छ।
धन्न रोजीको परिवारले त्यो गल्ती गरेन। केही आफन्तसँग सल्लाह गरेपछि उनीहरू सिधै प्रहरीमा आएर छोरी बिहान कलेज गएदेखि फोन आएसम्मको विवरण सुनाए।
अपहरणका कारणहरूमा सबैभन्दा पहिलो त आर्थिक लोभ नै देखिन्छ। यस्तोमा अनुभवी आपराधिक समूह संलग्न हुन्छन्। अर्को भनेको पारिवारिक दुश्मनी।
परिवारका कुनै व्यक्तिसँग रिस उठेको छ वा सम्बन्धित व्यक्तिसँग रिस उठेको छ भने पनि बदला लिन अपहरण गर्छन्। अर्को भनेको लेनदेनको व्यवहार बिग्रिएपछि अपहरण हुन्छ।
ढुकुटी खेलाउने वा मिटर ब्याजमा पैसा चलाउनेहरूमाझ पैसा उठाउन पनि अपहरण भएका छन्। प्रेम सम्बन्ध अनि साथीभाइसँगको सामान्य मनमुटावसँगै कहिलेकाहीँ परिवारका सदस्यसँग पैसा लिन आफैँले अपहरण भएको नाटक पनि हुन्छन्।
यी सबै प्रकृतिको अपहरणको अनुसन्धान गरेकाले प्रहरीले अपहरण भन्नासाथ ‘ए यही भएको होला’ भनेर एकै पटक दौडिने भन्ने हुन्न। सबैभन्दा पहिला त सबै विवरण लिने, धम्क्याउनेको शैली कस्तो थियो अनि एसएमएसको भाषा कस्तो थियो त्यो हेरेर अनुभवी समूह हो या अन्य भनेर पहिल्याउन आवश्यक हुन्छ।
सबै विवरण बुझेपछि कुन प्रकारको अपहरण हो भन्नेसम्मको खाका आउँछ अनि सोहीअनुसार अनुसन्धान सुरु गर्न सहज हुन्छ।
कुरैकुरामा रोजीले क्याटरिङको पैसा उठाउन जाने गरेकाले कसैले त्यसैको लोभमा पो अपहरण गर्यो कि भन्ने शङ्का देखियो। थहिटीमा क्याटरिङको मुख्य कार्यालय रहेछ। ६ वटा शाखा पनि रहेछ।
एक टोली फोन आएको मोबाइल नम्बर र एसएमएसको आधारमा अपहरणकारी कहाँ हुनसक्छन् भनेर प्राविधिक अनुसन्धानमा जुट्यो। एक टोली परिवारका सदस्यसँग सोधपुछमा लाग्यो। अनि अर्को टोली कलेज अनि रोजीका साथीहरूसँग सोधपुछमा जुट्यो।
पहिला परिवारकै सदस्यसँग बुझ्ने टोलीले काम सुरु गर्यो। रोजीका बुवा क्याटरिङ व्यवसायमा संलग्न रहेछन्। छोरीले उनलाई सघाउँदै आएकी। पढाइसँगै नाच्न र गितार बजाउन पनि सिपालु। मिजासिलो स्वभावका कारण उनको कसैसँग दुश्मनी भएको देखिएन।
पारिवारिक दुश्मनी वा आर्थिक लेनदेन केही छ कि भनेर बुझ्दा त्यो पनि देखिएन। परिवारका सदस्य वा अपहरितको कसैसँग झगडा परेको वा कुनै दुश्मनी छ कि भनेर बुझ्दा त्यो पनि खुलेन।
कुरैकुरामा रोजीले क्याटरिङको पैसा उठाउन जाने गरेकाले कसैले त्यसैको लोभमा पो अपहरण गर्यो कि भन्ने शङ्का देखियो। थहिटीमा क्याटरिङको मुख्य कार्यालय रहेछ। ६ वटा शाखा पनि रहेछ।
घटना हुनुभन्दा ६ वर्षअघि उनीहरू कुपण्डोल नयाँ घर बनाएर सरेको देखियो। यसले आर्थिक लेनदेन वा आर्थिक प्रलोभनका कारण अपहरण भएको हुनसक्ने सम्भावना देखायो। तर शङ्काको सूची लामो भएकाले तत्काल सम्भावित आरोपी पहिल्याउन कठिनै थियो।
प्रायः साथीहरूसँग हरेक कुरा भन्ने स्वभाव रहेको तर प्रेम सम्बन्धबारे केही नभनेको भन्ने आएपछि अनुसन्धान रुमल्लिन थाल्यो। उपलब्धि भनेको प्राविधिक अनुसन्धानमा अपहरणकारी काठमाडौं उपत्यकाभित्रै रहेको देखिनु मात्रै रह्यो।
प्राविधिक अनुसन्धानमा खटिएको टोलीले अपहरणकारी उपत्यकाभित्रै रहेको देखायो। फोनको शैली अनि एसएमएसमा प्रयोग भएको शब्द अनुभवी अपहरणकारी हैनन् भन्नेसम्म देखाएको थियो।
तर, रकम ३० लाख मागेकाले नयाँ आपराधिक समूह जन्मिएको पनि हुन्छ नै। त्यतातिर पनि ध्यान दिनै पर्यो।
रोजीसँग निकट साथीहरूसँग सोधपुछ गर्दा त्यस्तो शङ्का गरिहाल्नुपर्ने सूचना आएन। व्यवहार मिलनसार रहेछ साथीहरूमाझ।
कलेजमा त्यस्तो झगडा गर्ने स्वभाव रहेनछ। रमाइलो गरिरहनुपर्ने। कलेजमा कसैसँग प्रेम सम्बन्ध पो गाँसिएको थियो कि भनेर साथीहरूसँग बुझ्दा त्यस्तो केही शङ्का लायक सूचना नै आएन।
प्रायः साथीहरूसँग हरेक कुरा भन्ने स्वभाव रहेको तर प्रेम सम्बन्धबारे केही नभनेको भन्ने आएपछि अनुसन्धान रुमल्लिन थाल्यो। उपलब्धि भनेको प्राविधिक अनुसन्धानमा अपहरणकारी काठमाडौं उपत्यकाभित्रै रहेको देखिनु मात्रै रह्यो।
यसअघि बढी फुइँ लगाउँदा पनि कसरी अपहरण हुनसक्छ है भन्ने अनुभवमा अपहरणको अनुसन्धानको शैलीबारे केही उल्लेख गरेको थिएँ।
अपहरणको घटनामा प्रहरीको पहिलो प्राथमिकता अपहरितलाई अपहरणमुक्त गराएर ज्यान सुरक्षित गर्ने नै हुन्छ। त्यसका लागि विविध शैली अपनाइन्छ। अधिकांशमा अपहरणकारीसँग मोलमोलाई गर्दै फिरौती रकम घटाउन लगाउने, पैसा आउँछ है भन्ने विश्वासमा लिने अनि पीडित प्रहरीकोमा गएका छैनन् भन्नेमा विश्वस्त बनाउने नै हो।
त्यसको आधारमा अपहरणकारी कत्तिको जोखिमपूर्ण छन् भन्ने आकलन गरेर अपहरितलाई राखेको स्थानको पहिचान वा अपहरणकारीलाई आफू अनुकुल स्थानसम्म बोलाएर नियन्त्रणमा लिएर अपहरितलाई बन्धक बनाएर राखेको स्थानमा छापा मार्ने नै हो।
सिधै लोकेशन पत्ता लगाएर छापा मार्ने काम नहुने होइन, तर अपवादमा मात्र।
रोजी हराउनु चार वर्षअघि घरबाट विद्यालय हिँडेकी ख्याति महर्जन यसरी नै एकाएक हराएकी थिइन्। ख्यातिको परिवारसँग फिरौती रकम मागियो अनि अपहरणसँग जोडियो। अनुसन्धान सफल त भयो तर ख्यातिलाई ज्युँदै अपहरणमुक्त गर्न प्रहरी सफल भएन।
यस्तो हस्तक्षेपकारी अनुसन्धान शैलीले अपहरितको ज्यानको जोखिम बढाउने भएकाले पनि प्रायः यस्तो शैली अपनाइदैन।
केही लागेन भने त त्यो पनि गर्नै पर्छ। यसमा तत्काल हस्तक्षेप गर्ने शैली अपनाउन सम्भव थिएन। किनकि ठ्याक्कै मोबाइलको लोकेशन आइरहेको थिएन। मोबाइल रोजीकै प्रयोग भएकाले अपहरणको फिरौती माग्न कसको नाममा रहेको सिम प्रयोग भइरहेको छ भनेर पत्ता लगाइहाल्ने सम्भावना पनि भएन।
अपहरणको कारण र अपहरणमा संलग्नहरूबारे सबै विकल्प खुल्ला गरेरै अनुसन्धान अगाडि बढाउनुपर्ने भयो। यो भनेको अलि समय लाग्ने चरणै भयो। समय लाग्यो पनि।
तर, अपहरणकारीले फिरौती माग्ने क्रम जारी राखेकाले अपहरितलाई केही गरेको त छैन होला भन्ने थियो।
०००
रोजी हराउनु चार वर्षअघि घरबाट विद्यालय हिँडेकी ख्याति महर्जन यसरी नै एकाएक हराएकी थिइन्। ख्यातिको परिवारसँग फिरौती रकम मागियो अनि अपहरणसँग जोडियो। अनुसन्धान सफल त भयो तर ख्यातिलाई ज्युँदै अपहरणमुक्त गर्न प्रहरी सफल भएन।
रोजीको परिवारलाई प्रहरीले राम्रोसँग अनुसन्धान गरेकै छैन भन्ने परेछ। अनुसन्धान सफल नभएसम्म प्रहरीले भोगिरहने यो व्यवहार सामान्य नै हो। नौलो होइन हाम्रा लागि।
काठमाडौंको विभिन्न स्थानमा फालेको उनको शवका टुक्राहरू मात्र भेटिएको थियो। निकै क्रुर आपराधिक घटना थियो त्यो। त्यसले समाजको माथिङ्गल नराम्रोसँग हल्लाएकाले युवतीको अपहरण भन्नासाथ परिवार डराउने अवस्था बनेको थियो।
त्यसको प्रभाव रोजीको परिवारमा पर्नु सामान्य नै हो। उनीहरू डराइरहेका थिए।
पहिलो दिन अनुसन्धानमै बित्यो। कतै कुनै साथीकोमा गएको वा कसैसँग घुम्न गएको पो हो कि भन्ने सम्भावना पनि रहेन।
तारन्तार फिरौतीको फोन आइरहेका थिए। त्यस्तो ठोस केही उपलब्धि भएन।
यो बीचमा अनेक कोणबाट समाचारहरू आउन थालिसकेका थिए। रोजीका परिवार आत्तिने नै भए।
रोजीको परिवारलाई प्रहरीले राम्रोसँग अनुसन्धान गरेकै छैन भन्ने परेछ। अनुसन्धान सफल नभएसम्म प्रहरीले भोगिरहने यो व्यवहार सामान्य नै हो। नौलो होइन हाम्रा लागि।
हामी रातदिन अनुसन्धानमा खटिएका नै थियौँ। तर नतिजा नआई खटेको के काम र!
०००
पाँचौ दिनसम्म पनि अनुसन्धानले सकारात्मक मोड लिएन। तनावै भयो।
अनुसन्धान गिजोलिए जटिल हुनसक्छ। यस्तो अवस्थामा पत्रकार अनि पीडित परिवारका सदस्यलाई विश्वासमा लिन जरुरी हुन्छ। अनुसन्धान कुन चरणमा पुगेको छ भनेर पत्रकारलाई अनौपचारिक रूपमा जानकारी दिएर केही जानकारी केही समय प्रकाशित नगर्न आग्रह गर्ने हो भने घटनाको संवेदनशीलता बुझ्न सक्ने पत्रकारले लेख्दैनन्।
प्रहरीप्रति पीडित परिवारको शङ्का बढिरहेको थियो। युवती अपहरणमा परेको पाँच दिन पुग्दा पनि नतिजा नआउँदा शङ्का बढ्नु स्वाभाविक पनि हो नि। हामीलाई पनि तनाव बढिरहेकै थियो।
अनुसन्धानमा प्रगति नै नभएको पनि होइन। सूचनाहरू आइरहेका थिए। केही शङ्कास्पदहरू निगरानीमा थिए। प्रहरी घटना नजिक-नजिक पुगिरहेको थियो।
उता परिवारमा भने प्रहरीप्रति नै शङ्का बढिरहेको थियो। पीडित परिवारको मनमा शङ्का बढ्दा उनीहरू दबाब बढाउन भनेर मिडियासँग बढी खुल्ने जोखिम हुन्छ।
प्रहरीले परिवारका सदस्यलाई विश्वासमा लिन अनुसन्धानका कतिपय गोप्य विवरण पनि भनेको हुनसक्छ। त्यो बाहिरियो भने त सफल हुनसक्ने अनुसन्धान पनि असफल हुने जोखिम हुन्छ।
अनुसन्धान गिजोलिए जटिल हुनसक्छ। यस्तो अवस्थामा पत्रकार अनि पीडित परिवारका सदस्यलाई विश्वासमा लिन जरुरी हुन्छ। अनुसन्धान कुन चरणमा पुगेको छ भनेर पत्रकारलाई अनौपचारिक रूपमा जानकारी दिएर केही जानकारी केही समय प्रकाशित नगर्न आग्रह गर्ने हो भने घटनाको संवेदनशीलता बुझ्न सक्ने पत्रकारले लेख्दैनन्।
तर, सबै सूचना लुकाएर केही भएको छैन भनेर ‘इग्नोर’ मात्र गर्यो भने पनि उनीहरूले कहीँ न कहीँबाट जानकारी पाउँछन् नै। अनि लेखिदिन्छन्।
यो जोखिम आउन नदिन विश्वासको वातावरण बनाउन जरुरी हुन्छ। पीडित परिवारका सदस्यलाई पनि अनुसन्धानको उपलब्धि र सम्भावनाबारे दैनिक जानकारी गराउँदा उनीहरूको मनमा बढेको शङ्का घट्नसक्छ।
यसमा पनि त्यही शैली अपनाइरहेका थियौँ। पाँचौँ दिन त अनुसन्धान सफल होला भन्ने लागेको थियो तर भएन। दिक्क मान्दै घर गएँ।
फिल्डमा खटिएको टोली फिल्डमै थियो। राति ११ बजेतिर सुतेँ म।
राति तारन्तार मोबाइल बजेर निद्रै खुल्यो। घडी हेरेको १२ बजेको रहेछ। नम्बर महाशाखाकै फिल्डमा खटिएको टोलीको। यति राति किन फोन गरेको होला भन्दै फोन उठाएँ।
उताबाट आवाज आयो 'जय नेपाल सर, नल्लुको सिमपानी भञ्ज्याङको जङ्गलमा रोजीको शव फेला पर्यो।'
मनै खङ्ग्रङ्ङ भयो। निद्रा उड्यो।
क्रमश…
(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)
ब्याचका पुराना अंक
फागुन १०, २०७९ बुधबार २२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।