राष्ट्रपतिमा झलनाथको नाममा देउवा र दाहाल सहमत भएको नेपालको दाबी

राष्ट्रपतिमा झलनाथको नाममा देउवा र दाहाल सहमत भएको नेपालको दाबी

दागं: राष्ट्रपति काँग्रेसको कि एमालेको भन्ने राजनीतिक चासो बढिरहेको बेला चर्चामा आएका तेस्रो व्यक्ति एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन अगाडि झलनाथ खनाललाई राष्ट्रपति बनाउन कांग्रेस र माओवादी केन्द्रको नेतृत्व सहमत भएको दाबी गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहेको व्यक्तिलाई माओवादी केन्द्रले स्वीकार नगर्ने सम्भावना बलियो बन्दै गएपछि ओलीले नेपाललाई पार्टी एकिकरणको सर्तसहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको सार्वजनिक भएको थियो।

नेपालले केही विषयहरू पर्दाभित्रै रहनु ठिक हुने भन्दै चुनावअघि राष्ट्रपतिका लागि झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमत भएको दाबी गरे।

तर खनाल आफैँले आफू राष्ट्रपतिको उम्मेदवारका लागि तयार नभएको बताइसकेका छन्। मङ्गलवार दाङको भालुवाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपालले बाहिर हल्ला भएजस्तो आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न कुनै प्रस्ताव नआएको र यसबारे आफूले कुनै निर्णय नगरिसकेको समेत दाबी समेत गरेका थिए।

राष्ट्रपति बन्ने कि नबन्ने भन्ने विषयमा अझै सोच नबनाएको दाबी गरेका उनले यो विषयमा विभिन्न दलहरूसँग छलफल भने भइरहेको मात्र बताएनन् राष्ट्रपति निर्वाचनमा आफ्नो दल निर्णायक भएको दाबी समेत गरे।

'चाहना राख्ने कुरा बेग्लै हो। मैले नै के गर्ने भन्ने सोचिसकेको छैन। हाम्रो पार्टीले पनि के गर्ने भन्ने निर्णय गरिसकेको छैन’ उनले भने।

९ फागुन, २०७९, १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।