शून्यको मूल्य : कथामाथि घटनाक्रम र उप-कथा हावी

शून्यको मूल्य : कथामाथि घटनाक्रम र उप-कथा हावी

नेपालको वर्तमान साहित्य खस्किरहेको अवस्थामा 'शून्यको मूल्य' अर्थात् सास, साहस र स्नेहको कथा पाठकको लागि लोकप्रिय बन्नु नेपाली साहित्य क्षेत्रको लागि यो सबल पक्ष हो।

सुर्खेतमा जन्मिएका कृतिका लेखक पेशाले चिकित्सक हुन्। बालरोग विशेषज्ञ डा. नवराज केसीले कर्णालीका दुर्गम ठाउँमा गएर काम गर्दै गर्दा त्यहाँ देखेका आमाका कथाहरूलाई पुस्तकमार्फत् व्यक्त गर्न खोजेका छन्।

'मान्छे किन लेख्दो हो? त्यही शब्द, त्यही अर्थ, त्यही भाव। फेरि किन लेख्दो हो मान्छे? पहिलो पटक अक्षर कोर्ने पहिलो मान्छेले के सोचेर, के भोगेर वा के भोग गर्न यसो गर्यो होला?', पुस्तकमा लेखक आफैँले आफैँलाई गरेको प्रश्न हो यो।

आफैँमाथि प्रश्न गरेर लेखक यहाँ पाठकको प्रश्नबाट बच्न खोजेका छन्। पुस्तक पढ्दै गर्दा शून्यको पनि मूल्य हुन्छ र? यदि हुन्छ भने कसरी हुन्छ? भन्ने लाग्छ। लेखकले यसकाे उत्तर पनि पुस्तकमा दिएका छन्।

नामविनाका आमाहरू
जब म स्कुल गएँ, मलाई सोधियो
तिमी के हुन चाहन्छौं जिन्दगीमा?
मैले भनेँ, 'खुशी'
उनीहरूले भने- मैले प्रश्न बुझिनँ रे।
मैले भनेँ तिमीहरूले जिन्दगी नै बुझेनौं।
-जोन लेनन

पुस्तकभित्र समाहित यो वाक्यकै वरिपरि सिङ्गै पुस्तक घुमेको छ। कथामा भएका पात्र र आमाहरू नामविना बाँचेका छन्। जसमा एक आमालाई बाआमाले 'लाटी' भन्छन्। गाउँलेहरू फलानाकी आमा भन्छन्। उनलाई उनको नाम नै थाहा हुँदैन। उनी आफूलाई आफ्नो सन्तानको आमाबाहेक अन्य कुनै नामले चिनाउन पनि चाहन्नन्।

कथा पढ्दै गर्दा लाग्नसक्छ- साँच्चै यो संसारमा आफ्नो नामै थाहा नभएका आमाहरू पनि होलान्? तर फेरि लाग्छ, 'छन् नि!'

कर्णालीमा आफ्नो नाम नै थाहा नभएका आमाहरू थुप्रै छन्। पुस्तकमा जसको आफ्नै सुन्दर कथा छ। तर उनीहरूलाई थाहा छैन कि हाम्रो कथा कति प्राकृतिक छ। उनीहरूको लागि त यो सबै कथा केही नहोला तर यस पुस्तकको पाठकहरूका लागि भने यो कथा कर्णाली बुझाउने र चिनाउने आधार हुनसक्छ। माध्यम बन्नसक्छ।

धनी र गरिबबीचको दूरी घटाउन गरिने हरेक कार्यक्रम बहुत महंगो छ। तर महंगा कार्यक्रमहरूमध्ये सबैभन्दा सस्तो चाहिँ देशले सानै उमेरका आफ्ना नागरिकमाथि लगानी गर्नु हो। सबैभन्दा ठूलो लगानी त गुणात्मक मातृत्व विकासमा लागि गरिएको लगानी हो भन्ने पाठ सिकाउन पुस्तकले केही प्रयास गरेको छ।

आधुनिक समाजमा कर्णालीका महिलाहरूले बिताएका परम्परागत जीवनशैलीलाई पनि सुन्दर ढङ्गले पुस्तकमा उतारिएको छ।

के छ पुस्तकमा?
पुस्तकमा ‘बुधेकी फुपूआमा’, ‘बुवालाई चिठी’, ‘भेडिनी कान्छी’, ‘मृत्युपछिको जीवन’, र ‘पुतली आमा’ गरी जम्मा पाँच वटा कर्णालीका कथा छन्। जसमा आमाले देखाएका सास, साहस र स्नेह संग्रहित छन्।

पुस्तकका हरेक कथाहरू कतै न कतै आमासँग जोडिएका छन् र डाक्टरसँग जोडिएका छन्। डाक्टरका लागि यस कथाभित्रका आमाहरूले बारम्बार परीक्षा लिएका छन् भने डाक्टर पनि उक्त परीक्षामा सफल भएको देखिन्छन्। समग्रमा भन्दा यस कृतिमा कर्णाली बिरामी छ र डाक्टर कर्णालीको उपचार गर्न हरदम प्रयासमा छन्।

०००

पुस्तकका सबै कथाहरू सुन्दर हुँदा–हुँदै पनि केही कथाभित्र आउने उप–कथाहरूले मुख्य कथा बुझ्न पाठकलाई समस्या निम्त्याउँछ। लेखकको कल्पनशीलताले केही ठाउँमा वाक्यहरूलाई मीठास भरेको छ भने अधिकांश ठाउँमा पट्यारलाग्दो लाग्छ।

समय र परिस्थितिलाई समात्न नसकेको कथाले कथालाई भन्दा बढि घटनाक्रमलाई जोड दिएको देखिन्छ। कथाभित्रका पात्रहरूले बिताएको दैनिकी कथाकारले भन्न भ्याए पनि स्वभाव, आनीबानी र व्यक्तिगत विवरणबारे माैन छन्।

कर्णालीलाई लक्षित गरेर लेखिएको पुस्तकमा त्यहाँका स्थानको विवरण र बोलिने भाषाको प्रयोग गर्न कथाकार चुकेका छन्। एउटा सिङ्गो पुस्तकभित्र पाँचवटा कथा हुनु र तीभित्र पनि विभिन्न उप-कथा हुँदा पाठक एउटा कथाबाट अर्को कथामा तत्काल जान सक्दैनन्।

वास्तवमा सुरूदेखि जति-जति कथा पढ्दै गइन्छ उति-उति कथाहरू फिक्का लाग्दै जान्छ।

फागुन ६, २०७९ शनिबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।