६ बुँदे सहमति गर्दै रोकियो चिकित्सकहरूको आन्दोलन
काठमाडौं: नेपाल चिकित्सक सङ्घले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ। माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा चिकित्सकहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीको टोलीबीच ६ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको हो।
आन्दोलन स्थगित गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'यस कार्यक्रमबाट आम सर्वसाधारणलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै यस कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार एवं सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छौँ।'
यस्तै चिकित्सक कुट्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ। यसैगरी घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने सहमतिमा उल्लेख छ।
यस्तै विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी “विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७” मा गर्नुपर्ने परिमार्जन सम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ताभित्रमा सुझाव पेश गर्ने र यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि सहमति भएको छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (संशोधनसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने र स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने पनि सहमति भएको छ।
माघ २९, २०७९ आइतबार १३:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।