अस्पताल परिसरमै डाक्टरमाथि प्रहरीले लाठीचार्ज गरेको भन्दै चिकित्सक संघको विरोध

काठमाडौं : नेपाल चिकित्सक संघले अस्पताल परिसर भित्रै प्रहरीले डाक्टरलाई लाठीचार्ज गरेको भन्दै विरोध गरेको छ।
शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको भन्दै संघले विरोध जनाएको हो।
विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा–देखाउँदै पनि अस्पताल परिसरभित्रै प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु अत्यन्तै दुःखद र अस्वभनीय कार्य भएको जनाएको छ।
ड्युटी सकेर फर्कँदै गरेका डाक्टरमाथि प्रहरीको लाठी, निधारमा रगत जमेपछि आईसीयूमा भर्ना
‘सुरक्षाकर्मीबाटै गरिएको यस प्रकारको अस्वाभाविक र अत्यन्तै भत्र्सना योग्य गतिविधिप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दै उक्त घटनामा संलग्न दोषी सुरक्षाकर्मीलाई अविलम्ब ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संधोधन ऐन २०७९’ बमोजिम कडाभन्दा कडा कानूनी कारबाही गर्न यस संघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
आजको २४ घण्टा भित्र दोषीमाथी कानूनी कारबाही नगरिए आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले डाक्टरमाथि लाठीचार्ज गरेको थियो।
माघ २७, २०७९ शुक्रबार २२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।