हिजोको कुरामा डा. दिनेश बाँस्तोला : ‘लभ म्यारिज’ गर्दा २५ रूपैयाँमै बिहे सकियाे‍

हिजोको कुरामा डा. दिनेश बाँस्तोला : ‘लभ म्यारिज’ गर्दा २५ रूपैयाँमै बिहे सकियाे‍

पोखराको हेमजामा २०१२ सालमा जन्मिएका चिकित्सक दिनेश बाँस्तोलाले जुम्लामा बसेर लामो समयसम्म रोगीहरूको सेवा गरे। परिवारले देखेको डाक्टर बनाउने सपना पूरा गर्नकै लागि उनी यो क्षेत्रमा लागेका थिए।

बच्चा बेलामा मसिना ढुंगाका गोटी खेल्न खुब रुचाउँथे बाँस्तोला। हेमजामा रहेको मैदान नै मैदान र ठुला-ठुला चौरमा दिनभर उफ्रिने र खेल्ने गरेका बाँस्तोला अहिले आफ्ना सन्तानहरूलाई आँगन र पिंढी भेनेको के हो भनेर बुझाउन पनि धौधौ परेको बताउँछन्।

पाठशाला शिक्षा पढेका बाँस्तोलाले पढाईको सुरूवात पाटी र खरीबाट गरेका थिए। त्यो बेला पाटीमा लेख्नका लागि चकको सुविधा पनि थिएन। लेख्नका लागि मसी र कलमको त कुरै नगरौं।

निगालाको कलम बनाएर लेखेका बाँस्तोला पहिलो पटक आठ कक्षामा पुगेपछि मात्रै कलम समाएको सम्झन्छन्।

जुम्लाका यादहरु

बाँस्तोलाले चिकित्सा क्षेत्रमा रहेर देशका विभिन्न ठाउँहरूमा पुगेर सेवा दिए। यसै सिलसिलामा उनी जुम्लासम्म पनि पुगे।

अरू यो पेशा अंगालेर विदेश गएर काम गर्छन्, तपाईं किन दुर्गम ठाउँ रोज्दै हिँड्नुभयो भन्दा उनी भन्छन्, ‘स्वास्थ्यको सहज पहुँच भएका ठाउँमा काम गर्नुभन्दा दुर्गम स्थानमा काम गर्दा मलाई आत्मसन्तुष्टि मिल्छ। मलाई मेरै मनले डोर्याएर त्यहाँ पुगेको हुँ। मैले जिन्दगीमा जति त्यहाँ काम गर्दा आनन्द बटुलेको छु। त्यो आनन्द अन्त काम गर्दा बटुलेको छैन।’

उनले जुम्लामा साढे दुई वर्षभन्दा बढी समय काम गरे। छुट्टिने समयमा धेरै कर्मचारी रोएको याद आउँछ उनलाई।

जुम्लाको मात्र नभएर देशकै विकास हुन नसक्नु बारे बाँस्तोला भन्छन्, ‘मलाई देशले जुम्ला जस्तो स्वर्णभूमि दियो। तर मैले जुम्लाको लागि केही दिन सकिनँ। यस्तो हामी किन सोच्न सक्दैनौं?’

आहा! कर्णाली

कोभिड-१९ का कारण लागेको पहिलो लकडाउनपछि बाँस्तोलालाई कर्णालीको जुम्ला जाने अवसर मिल्यो। त्यहाँ पुग्दा जुम्लाका सरकारी कार्यालय र निजी घरको आँगनमा राताराता गुलाफ फक्रिएका थिए। उनी आँगनमा गुलाफ रोप्ने चलन रहेको जुम्लाको सुन्दरताले मुग्ध भए।

२०३७ सालतिर (पूर्वपश्चिम राजमार्ग नबन्दा) भारतको गोन्डा हुँदै नेपालगन्जको सीमा रूपडियाबाट हिँडेर उनि सुर्खेत पुगेका थिए। त्यतिखेर सुर्खेतसमेत अति विकट लागेको थियो उनलाई।

गएको शरद ऋतुको अन्त्यतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल फिजियोलोजी विभागको प्राध्यापकका रूपमा जुम्ला पुग्दा जुम्ला धेरै परिवर्तन भइसकैको थियो।

‘ज्वाइँ आयो, घोडा आउनुभो,’ जस्ता भाषा बोल्ने जुम्लाका बासिन्दामा आकाशपातालको फरक थियो। काठमाडौंले जिस्काएर ‘जुम्ली’ भनेर सम्बोधन गर्ने जुम्लाबासी अहिले धेरै कुरामा अगाडि रहेको बताउँछन् उनी।

‘सरकारको नजरमा सधैं टाढा भएको कर्णालीका कार्यालयमा कर्मचारी नियमित भेटिँदैनन्। त्यसैले स्थानीय बासिन्दा रुष्ट छन्। बाहिरबाट आएका मानिस हाम्रो सेवा गर्न आएका होइनन् भन्ने मानसिकता छ जुम्लामा। ‘ठग्न’ आएका झैं लाग्दो रहेछ उनीहरुलाई,’ उनी भन्छन्।

सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठान सक्रिय भए पनि स्थानीयमा जनस्वास्थ्यसम्बन्धी थुप्रै समस्या देखेको बताउँछन् उनी। 

डाक्टर पर्खिने आशमा मृत्युको मुखमा

जुम्लामा काम गर्दा बाँस्तोलालाई लाग्यो त्यहाँका बिरामी डाक्टरलाई पर्खंदा पर्खंदै मृत्युको मुखसम्म पुग्छन्। उनी भन्छन्, ‘सेवामा खटिएका व्यक्तिले आफैंलाई महत्त्व दिन थालेपछि यस्तो दुर्दशा देख्नुपरेको छ कर्णालीमा। यस्तो हुनु कर्णालीको दोष होइन, यो सरकारी प्रणालीको दोष हो।’

बाँस्तोला भन्छन्, ‘त्यहाँ बिरामीले चिकित्सक चिन्छन् तर चिकित्सकले बिरामी चिन्दैनन्।’ थोरै जनसंख्या भएको जिल्लामा चिकित्सकले बिरामी नचिन्नुको कारण पनि निकै दुःखद रहेको लाग्छ उनलाई।

‘बिरामीको मनस्थिति के हुन्छ भने आफ्नो रोगबारे एकपटक डाक्टरलाई देखाइसकेपछि अर्को डाक्टरसँग खुल्न त्यति मन पराउँदैनन्। डाक्टरले नै अर्को डाक्टरलाई देखाउनु नभनेसम्म कुन चाहिँ बिरामीले अर्को डाक्टरलाई देखाउलान् र? तर जुम्लाका स्थानीय बिरामीले यहाँ कार्यरत चिकित्सकलाई दोहोर्याएर भेट्न आधा वर्ष नै लाग्दोरहेछ,’ उनी भन्छन्। 

जुम्लामा कार्यरत संस्थाहरूमा हाजिर कापिमा मात्र कर्मचारी भेटिने बताउँछन् उनी। गाउँबाट एक दिन लगाएर बिरामी अस्पताल पुग्छन्, तर डाक्टर भेटिन्न।

जब भनेका बेला चिकित्सक, स्वास्थ्यकर्मी भेटिन्नन् तब बिरामी बोकेर सुर्खेत, नेपालगन्ज, काठमाडौं झर्नुपर्ने बाध्यता अझै जुम्लामा रहेको छ।

२५ रूपैयाँमै विवाह

कलेज लाइफमा दीपशोरा नेपालसँग माया बसेर बिहे गरेका बाँस्तोलाले जम्मा २५ रुपैयाँमा बिहे सकेका थिए। उनको श्रीमतीको परिवारले भने अझै उनीहरूको प्रेमलाई स्वीकार गर्न सकेको छैन। बाँस्तोला आफूले जवानी मै बुढेसकालसम्मलाई पुग्ने गरेर पवित्र प्रेम गरेको बताउँछन्।

६ दशक पार गरिसकेका बाँस्तोलासँग अबको बाँकी समय आफ्नो घरमा भएका जति सबै कपडा लगाएर सक्ने र आफ्नो घरमा भएका जति सबै पुस्तक पढेर सक्ने इच्छा छ।

उनलाई आफूसँग कति कपडा छ र कति किताब छन्, त्यसको हेक्का भने छैन। उनी साहित्य लेख्दैनन् तर साहित्यिक पुस्तक किनेर बाँड्दै हिंड्छन्। उनी वर्षमा २०० भन्दा बढी पुस्तक बाँड्छन् र त्यो भन्दा बढी पुस्तक किन्छन्।

बाँस्तोला यौनबारेमा पनि लेख्ने गर्छन्। उनलाई हाम्रो समाजले यौनबारे संकुचित सोच बोकेको देख्दा अचम्म लाग्छ। उनी प्रेमलाई पूजा गरिनुपर्ने बताउँछन् तर यौनलाई घृणा नगर्न सल्लाह दिन्छन्।

उनी भन्छन्, ‘मान्छेले प्रेमको आनन्दपन लुट्नै जान्दैन तर यौनको कुरूपता भने लुट्छ। यो सबै हुनुको पछाडि यौन शिक्षाबारे ज्ञान नहुनु हो।’

यो पनि

२६ माघ, २०७९, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।