डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले
काठमाडौं : करिब दश वर्षअघिको प्रसङ्ग हो। कीर्तिपुरकी करिब ५८ वर्षीया बिरामीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्याइयाे। स्वास्थ्य परीक्षणको क्रममा दायाँतर्फको मुटुको नसा साँघुरिएर ८९ प्रतिशत अवरुद्ध (ब्लक) भएको पत्ता लाग्यो।
हातको नसाबाट मुटुको नसासम्म तार पुर्याएर तारको माध्यमबाट अवरुद्ध नसामा स्टेन्ट राख्नुपर्ने भयो। साँघुरिएको नसा फुलाएर रक्तसञ्चार गराउनुपर्ने थियो।
यसरी मुटुको रक्तसञ्चारमा अवरोध भएको नसालाई तार छिराएर गरिने उपचार विधिलाई चिकित्सकीय भाषामा ‘एन्जिओप्लाष्टी’ भनिन्छ। सामान्यतया हात वा खुट्टाको नसाबाट तार छिराएर यस्तो यो विधिले मुटुका उपचार गरिन्छ।
महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो।
तर, त्यतिबेलै अप्रेशन थिएटरमा अर्को एक जना बिरामीलाई लगियो। ती बिरामी डा. रन्जितका सिनियर चिकित्सकले शल्यक्रिया गर्ने बिरामी थिए।
निरास हुँदै अप्रेशन थिएटरबाट बाहिर निस्के डा. रन्जित। बाहिर निस्केर उनले शल्यक्रिया गर्ने बिरामीलाई भने, ‘चिन्ता नलिनुहोस्। आजै तपाईंको मुटुको सर्जरी गर्छु।’
त्यसपछि डा. रन्जितले अप्रेशन थिएटरमा सर्जरीका लागि तयारी गरिएकी बिरामीलाई ती सिनियर चिकित्सकले उठ्न लगाएछन्। सिनियर चिकित्सकले ‘पहिले म मेरो बिरामीको शल्यक्रिया गर्छु, अनि तिमी पछि गर्नु’ भन्दै डा. रन्जितलाई भनेछन्।
त्यसपछि ति सिनियर चिकित्सकले शल्यक्रियाका लागि तयार गरिएकी बिरामीलाई उठाएर बाहिर पठाए। डाक्टरले नै उठाएपछि बिरामी उठ्नु परिहाल्यो। सकिनसकी निन्याउरो हुँदै बिरामी उठेर शल्यक्रिया कक्ष बाहिर निस्किइन्।
डा. रन्जित पनि आफूले शल्यक्रियाका लागि तयारी गरिएकी बिरामीलाई सिनियर चिकित्सकले उठाएर बाहिर पठाएपछि छक्क परे। निःशब्द भए।
‘ग्लब्स लगाएर अप्रेशन थिएटरमा म छिरेको थिएँ,’ डा. रन्जितले त्यो बेलाको प्रसंग सुनाए, ‘शल्यक्रियाका लागि टेबलमा सुताएको बिरामीलाई उहाँले उठाइदिनुभयो।’
निरास हुँदै अप्रेशन थिएटरबाट बाहिर निस्के डा. रन्जित। बाहिर निस्केर उनले शल्यक्रिया गर्ने बिरामीलाई भने, ‘चिन्ता नलिनुहोस्। आजै तपाईंको मुटुको सर्जरी गर्छु।’
बिरामीले पनि ‘ह्वस’ भन्दै निन्याउरो मुहारले सहमति जनाइन्।
त्यसपछि डा. रन्जित कतिखेर सिनियर डाक्टरले अप्रेशन थिएटरमा बिरामीको शल्यक्रिया गरिसक्छन् भनेर पर्खिरहे। केही बेरमा सिनियरले बिरामीको शल्यक्रिया गरे।
सिनियरले शल्यक्रिया सकेको केही बेरमा बेलुका करिब ६ बजेतिर डा. रन्जितले आफूले शल्यक्रियाका लागि तयारी गरिएकी बिरामीलाई लिएर पुनः शल्यक्रिया कक्षमा पुगे।
दोस्रो पटकमा भने कोहि पनि सिनियर डाक्टर अर्को बिरामी लिएर त्यो अप्रेशन थिएटरमा पुगेनन्। सबै तयारीपछि डा. रन्जितले बिरामीको शल्यक्रिया गरेर मुटुको नसामा स्टेन्ट राखे।
शल्यक्रिया सफल भएपछि बिरामीलाई एक दिन सीसीयूमा राखियो। भोलिपल्टै बिरामी डिस्चार्ज भइन्। बिरामी डिस्चार्ज हुँदा मुस्कुराएको त्यो क्षण सम्झँदा उनलाई आनन्द लाग्छ।
दश वर्ष अघि शल्यक्रिया गरेकी बिरामी अहिले पनि डा. रन्जितको फलोअपमा रहिछन्। त्यो बेला आफूलाई अप्रेशन थिएटरबाटै उठाएको ती बिरामीलाई पनि राम्रोसँग थाहा रहेछ।
‘उहाँले अहिले पनि फलोअपमा आउँदा त्यो बेलाको प्रसंग सुनाउनुहुन्छ,’ डा. रन्जितले भने, ‘थिएटरबाट सिनियर डाक्टरसापले बिरामीलाई नै उठाएर पठाएको प्रसँग सम्झँदा अझै दिक्क लाग्छ।’
सिनियरबाट अवरोधको पीडा
त्यो बेला गंगालाल अस्पतालको माहोल नै जुनियरको क्षमता अभिवृद्धिमा अवरोध गर्ने किसिमको थियो रे। केही सिनियर चिकित्सकले जुनियर चिकित्सकका लागि बिरामीको शल्यक्रिया नै गर्न नदिएर रोक्ने कोसिस हुन्थ्यो रे।
‘केस गर्न गयो। बिरामी उठाइदिएको छ,’ उनले भने, ‘गंगालालमा जुनियरलाई अनावश्यक टर्चर हुन्थ्यो।’
गंगालाल अस्पतालमा सिनियर भएको समयमा उनले बिरामीको शल्यक्रिया गर्न पाउनसमेत कठिन पथ्र्यो रे। तर, गंगालालमा धेरै जटिल किसिमका मुटुको समस्या भएका बिरामीको पनि शल्यक्रिया गरेर बचाउन सफल भएको उनले सुनाए।
गंगालाल अस्पतालमा केही सिनियर चिकित्सकले जुनियर चिकित्सकलाई अघि बढ्न नदिएर मेडिकल सिन्डिकेट नै चलाएको डा. रन्जितलाई त्यहाँ काम गरुन्जेल महशुस भयो। जसको मारमा आफू पनि पिल्सिएको उनको अनुभूति छ।
‘गंगालाल सुरु भएदेखिको एउटै युनिट इन्चार्ज हुनुहुन्छ,’ डा. रन्जितले भने, ‘जुनियर र अरु चिकित्सकलाई अवसर दिनुपर्दैन? सिनियरले पद नओगटे पो सिनियरको इज्जत बढ्छ।’
तर, विकसित मुलुकहरूमा भने चिकित्सा पेशामा सामान्यतया पद ओगटेर बस्ने चलन नभएको उनले सुनाए।
त्यो बेला गंगालालमा चिकित्सकको क्षमता अभिवृद्धिको लागि अस्पतालले तालिम तथा फेलोसिपको व्यवस्थापन गर्न नसकेको उनले सुनाए। गंगालालमा काम गर्दा जुनियरको क्षमता वृद्धि भनेपछि केही सिनियर भनिएका चिकित्सकको टाउको दुखाइको विषय भएको उनको अनुभव छ।
‘त्यो बेलामा यस्तो माहोल भयो की म सिंगापुरबाट फर्केपछि मुटुको शल्यक्रिया गर्न नदिन धेरै चलखेल भयो,’ डा. रन्जितले गुनासो पोखे, ‘शल्यक्रिया गर्न नपाओस् भनेर ड्यूटी रोष्टरमा राखेको मेरो नाम समेत काटिन्थ्यो।’
डा. रन्जितको मिर्गौलामा पत्थरीको समस्या भयो। मिर्गौलाको तल्लो भाग खुम्चियो। शिक्षण अस्पतालमा पिसाब नलीबाट पाइप छिराएर पत्थरी फाल्नका लागि चिकित्सकको टिमले प्रयास गर्यो। तर, त्यो सर्जरीमा सफलता मिलेन।
गंगालालमा काम गरुन्जेल विशेषगरी दुई वटा समस्यामा जहिल्यै सचेत भएको डा. रन्जितले सुनाए। एक– केही सिनियरहरूले जुनियरलाई अघि बढ्नै नदिने समस्या थियो। दोस्रो– केही गरी आफूले गरेको उपचारमा कुनै त्रुटी हुनपुग्यो भने तिनै सिनियरले छोड्दैनन्।
यसरी दुई धारको जोखिममा रहेर गंगालालमा समय बिताएको उनले सुनाए। तर, त्यो बेला अस्पतालका केही निर्देशक र केही जुनियर डाक्टरले भने निक्कै सहयोग गरेको उनी सम्झन्छन्।
कहिलेकाहिँ त हिन्दी उखान ‘कुत्ता भुके हजार, हात्ती चले बजार’ सम्झिएर उनी आफैँ चित्त बुझाउँछन्। आफ्नो कर्ममा निर्भिक भएर अघि बढिरहेको र कर्म गरिरहेका छन् उनी।
७२ वर्षे बाजेको मृत्यु भएपछि...
त्यसो त उपचार गरेकामध्ये सत प्रतिशत बिरामीलाई बचाउन सम्भव हुँदैन। बिरामी बचाउन नसकेर बिरामीका आफन्त दुःखी वा आक्रोशित रूपमा प्रस्तुत हुन्छन् पनि। उनले पनि यस्तै घटनाको सामना गर्नुपर्यो।
गंगालाल अस्पतालमा नै काम गर्दा करिब ६ वर्षअघि एक जना बिरामीलाई बचाउन बचाउन नसकेको प्रसङ्ग सम्झँदा अझै उनको मन कटक्क हुन्छ। करिव ७२ वर्षका बाजे थिए। बसाइ काठमाडौंमा नै थियो। तर, हृद्यघात भएको तीन दिनपछि मात्रै बाजे अस्पतालमा पुगेछन्।
स्वास्थ्य परीक्षणका क्रममा बाजेको स्वास्थ्य अवस्था जटिल बनिसकेको थाहा भयो। ग्याष्ट्रिक होला भन्ठानेर बाजेलाई ढिलो अस्पताल लगिएछ। बाजेको मुटुको शल्यक्रिया गर्नैपर्ने थियो। त्यसैले उनले बिरामी बाजेको मुटुको शल्यक्रिया गरे। मुटुको नसा खोलियो। शल्यक्रिया सफल भयो।
तर, ती बिरामी बाजेलाई अर्को समस्या पनि थपिएछ। बाजेको मिर्गौलाले काम नै नगर्ने भएछ। डा.रन्जितका अनुसार हृद्यघात भएपछि कहिलेकाहिँ रक्तचाप कम हुन्छ र मिर्गौलाले काम गर्न छाड्छ।
त्यसैले ती बिरामी बाजेको २÷३ पटक डायलाइसिस पनि गरियो। तर, मुटुको शल्यक्रिया सफल भएका ती बाजेलाई बचाउने डा. रन्जितको टिमको प्रयास विफल भयो। अस्पताल पुगेको केही दिनमा नै विशेषगरी ढिलो अस्पताल पुगेका कारण बाजेलाई बचाउन नसकेको घटना सम्झँदा डा. रन्जितको मन चसक्क हुन्छ।
कतिपय बिरामीले त उपचारपछि पनि औषधि सेवन गर्न छाड्ने र गलत जीवनशैलीका कारण स्वास्थ्य अवस्था जटिल बन्ने गरेको उनले सुनाए।
जन्म दाङ, एमबीबीएस रसियामा
दाङको घोराहीस्थित बर्गदिमा २०२९ मा जन्मिएका रन्जितले दाङकै देउखुरीमा प्रारम्भिक शिक्षा लिए। त्यसपछि उनी काठमाडौं आएर स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा सात कक्षामा भर्ना भए। आन्दकुटीबाटै उनी २०४५ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भए।
डाक्टरी विषय अध्ययन गर्ने त उनलाई खासै रहर थिएन। तर, बुवाको इच्छाअनुसार नै उनले अमृत साइन्स कलेजमा आइएस्सी पढे। त्यो बेला २०४६ को जनआन्दोलनले पढाइसमेत प्रभावित भएको सम्झन्छन् उनी।
सिनियर चिकित्सकहरूबाट शल्यक्रिया गर्नसमेत आफूलाई अवरोधको धेरै कोशिश भएको थियो।
आइएस्सीपछि डा. रन्जित नेपाल सरकारको छात्रवृत्ति कोटामा सन् १९९१ मा एमबीबीएस अध्ययनका लागि रसियाको अजरबैजानमा पुगे। सन् १९९८ मा अध्ययन सकेर उनी नेपाल फर्के। त्यो कोर्सलाई रसियामा एमडीको मान्यता दिए पनि नेपालमा भने एमबीबीएसको मान्यता पाउने उनले सुनाए।
रसियाबाट फर्केपछि पत्थरीको समस्या
नेपाल फर्केर डा. रन्जितले पाटन अस्पतालमा करिब ६ महिना करार जागिरेका रूपमा काम गरे। त्यसपछि नेपाल मेडिकल कलेजमा करिब एक वर्ष उनले काम गरे।
त्यहिबेला डा. रन्जितको मिर्गौलामा पत्थरीको समस्या भयो। मिर्गौलाको तल्लो भाग खुम्चियो। शिक्षण अस्पतालमा पिसाब नलीबाट पाइप छिराएर पत्थरी फाल्नका लागि चिकित्सकको टिमले प्रयास गर्यो।
तर, त्यो सर्जरीमा सफलता मिलेन। त्यसैले उनले भारतमा पुगेर मिर्गौलामा भएको पत्थरीको उपचार गरे। उनको पत्थरीको समस्या समाधान भयो र नेपाल फर्केर पुनः काम सुरू गरे।
त्यो बेला डा. रन्जित पार्टटाइम चिकित्सकका रूपमा निजी अस्पतालमा करिब तीन महिना आईसीयू र सीसीयूमा काम गरे।
गंगालालमा सुरू
त्यसपछि डा. रन्जित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सन् १९९९ मा करार मेडिकल अधिकृतका रूपमा जागिरे भए। गंगालालमा जागिर सुरु गरेको एक वर्षभित्रमा नै उनी स्थायी भए।
त्यसपछि डा. रन्जित चीनको उहानस्थित सन् २००० मा मुटुरोग विषयमा एमडी अध्ययन गर्न पुगे। छात्रवृत्ति कोटामा एमडी अध्ययन गरेको उनले सुनाए। सन् २००५ मा उनी एमडी गरेर नेपाल फर्के।
त्यो बेला सीमित चिकित्सकले मात्रै मुटुको नसा साँघुरिएर रक्तसञ्चारमा समस्या भएको मुटुको नसामा तार छिराएर स्टेन्ट राखेर नली खोल्ने सर्जरी गरेको उनले नजिकबाट देखे।
डा. रन्जितलाई पनि सिनियरले जस्तै प्लाष्टिक सर्जरी गरेर बिरामीको उपचार गर्ने इच्छा लाग्थ्यो। तर, न सिनियर चिकित्सकहरूले उनलाई सिकाउँथे न त नेपालमा त्यस्तो तालिमको व्यवस्था नै थियो। शल्यक्रिया गरेर मुटुको उपचार गर्ने ज्ञान भने उनमा थियो। तर, यो विषयमा थप अध्ययन तथा सीपको ज्ञान लिने इच्छा भयो उनमा।
‘सँगैको अर्को साथीले उपदान वापतको थप पैसा पाए। मेरो चाहिँ डाइरेक्टरले दिन्न भनेर कागज नै च्यातेर फालिदिए।
त्यसैले आफैँ पहल गरेर डा. रन्जित सन् २०१२ मा सिंगापुर पुगे। त्यहाँ उनले ‘इन्टरभेन्सन कार्डियोलोजी’ विषयमा फेलोसीप गरेर नेपाल फर्के। मुटुको शल्यक्रिया नगरी नसाको माध्यमबाट तार छिराएर हृद्यघात भएको नसा खोल्ने, मुटुको प्वाल टाल्ने जस्ता उपचारात्मक विधाको अध्ययनलाई ‘इन्टरभेन्सन कार्डियोलोजी’ भनिन्छ।
सिंगापुरबाट फेलोसीप गरेर नेपाल फर्कँदा उनमा ऊर्जा थियो। अध्ययनपछि नेपाल फर्केर बिरामीको मुटुको राम्रोसँग सर्जरी गर्नसक्छु भन्ने उनको मनमा अठोट थियो। त्यसो त नेपालमा उपचारका लागि आवश्यक केही नयाँ सामान समेत ल्याएका थिए उनले।
तर, सिंगापुरबाट ज्ञान तथा सिकेको सीप समेत गंगालाल अस्पतालमा छिरेपछि राम्रोसँग प्रयोग गर्न कठिन भएको उनले सुनाए। सिकेको सिपको प्रयोगका लागि उत्साह थप्ने त कुरै छैन। उल्टै हतोत्साहित गरेको महसुस भयो रे उनलाई।
सिंगापुरबाट ‘इन्टरभेन्सन कार्डियोलोजी’ विषयमा फेलोसीप गरेर नेपाल फर्किएपछि यो क्षेत्रमा धेरै काम गर्न सकिन्छ भन्ने उनले सोचेका थिए। तर, फर्केपछि पहिलो गाँसमा नै उनलाई ढुंगा लाग्यो।
अस्पतालमा केही सिनियर चिकित्सकको निषेधका कारण उनले सिकेको ज्ञान तथा सिपको राम्रो अभ्यास गर्ने मौका समेत पाउन कठिन भयो। सिनियर चिकित्सकहरूबाट शल्यक्रिया गर्नसमेत आफूलाई अवरोधको धेरै कोशिश भएको उनले सुनाए।
मेडिकल अधिकृतको रूपमा गंगालालमा जागिर सुरू गरेका डा. रन्जित बढुवा हुँदै, रजिष्ट्रार, कार्डियोलोजिष्ट, कन्सल्टेन्ट कार्डियोलोजिष्ट र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको एसोसियट प्रोफेसरसम्मको भूमिकामा रहेर काम गरे।
वरिष्ठ इन्टरभेन्सनल कार्डियो (मुटु)रोग विशेषज्ञ डा. रन्जितले सन् २०१७ बाट भने गंगालाल अस्पताल छोडेर मेडिसिटी अस्पतालमा काम गर्न थाले। अहिले उनी त्यहिँ कार्यरत छन्।
निर्देशकले पत्र च्यातेर फालिदिएपछि....
त्यसो त गांगालालबाट जागिर छोड्दासमेत आफू मर्कामा परेको उनलाई महसुस हुन्छ। १५ वर्ष काम गरेपछि स्वेच्छिक अवकास पाउने भएकाले उनले स्वेच्छिक अवकास लिएछन्। अवकास लिएपछि उपदान पाइन्थ्यो रे।
तर, त्यो बेलाका निर्देशकको तजबिजी निर्णयका कारण स्वेच्छिक अवकास लिएवापत थप रकम पाउने व्यवस्था नै नगरिदिएको उनले दुःखेसो पोखे। निर्देशकले थप रकम दिन नमिल्ने भन्दै कागज नै च्यातेर फ्यालिदिएको उनले सुनाए।
‘सँगैको अर्को साथीले उपदान वापतको थप पैसा पाउनुभयो,’ उनले सुनाए, ‘मेरो चाहिँ डाइरेक्टरले दिन्न भनेर कागज नै च्यातेर फालिदिनुभयो। नियम नबनेर नदिएको हैन। साथीहरू सबैले पाए।’
उनी अझै मनमनै प्रश्न गर्छन्, ‘अरुले स्वेच्छिक उपदानवापत थप रकम पाउने अनि मलाई किन नदिएका होलान्?’
घुम्ने बिरामी
बिरामीकै प्रसङ्गको चर्चा गरौं। कहिलेकाहिँ भने धेरैतिर घुमेर रोग पत्ता नलगाएपछि डा. रन्जितकहाँ बिरामी पुग्छन्। कतिपय बिरामी भने उनीसँग उपचार गरेपछि अन्य चिकित्सकसँग पनि परामर्श गर्न पुग्ने अनि फेरि उनीकहाँ नै फर्कने गरेको डा. रन्जितले सुनाए।
केही वर्षअघि धेरै ठाउँमा घुम्दा स्वास्थ्य समस्या ठिक नभएपछि एक जना बिरामी उपचारका लागि उनीकहाँ पुगेछन्। त्यसपछि ती बिरामी अर्कै चिकित्सककहाँ उपचारका लागि पुगेछन्। तर, फेरि डाक्टरले राम्रोसँग रोगका बारेमा बुझाएनन् भनेर ती बिरामी उपचारका लागि पुनः आफूकहाँ नै फर्केको उनले सुनाए।
माघ २१, २०७९ शनिबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।