स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ मन्त्री बनेकाे हुँ : पदम गिरी

स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ मन्त्री बनेकाे हुँ : पदम गिरी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको बताएका छन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौं राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा मन्त्री गिरीले यस क्षेत्रका विकृति र विसंगति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए।

स्वास्थ्य क्षेत्रका समस्यालाई सुधार गर्नका लागि कलम चलाउन आग्रह गर्दै उनले सुधारका लागि सुझाव दिनसमेत आग्रह गरे।

स्वास्थ्य क्षेत्रका बेथिति, भ्रष्ट्राचार र अपारदर्शिताविरुद्ध निर्मम भएर कलम चलाए देशका लागि ठूलो योगदान हुने भन्दै निरन्तर खबरदारी गर्न आग्रह गरे।

‘हामीले ठूलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौं,’ उनले भने, ‘एकैचोटी सबै समस्या समाधान नहोला। हाम्रो स्रोत र साधनका सीमा छन् तर आम जनताले महसुस गर्नेगरी काम गर्नेछौं।’

मन्त्री गिरीले आफूहरू अहिले अध्ययनकै क्रममा रहेकाले पात्र र प्रवृत्तिको मूल्याङ्कन गरिरहेको बताए।

माघ २१, २०७९ शनिबार १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।