विम्बकाे अवाञ्चित प्रयोगले खस्किएको ‘बिसे नगर्चीको बयान’

विम्बकाे अवाञ्चित प्रयोगले खस्किएको ‘बिसे नगर्चीको बयान’

‘बिसे नगर्चीको बयान’ नामक कविता संग्रहभित्र ५५ वटा कविता छन्।

कवि श्रवण मुकारूङद्वारा लेखिएको यस कृतिको नाममै लेखिएको कविता संग्रहभित्र सुरू मै आउँछ। सायद कविलाई यो कविता उत्कृष्ट लागेकैले सिंगै कृतिको नाम त्यसैमा आधारित रहेर राखिएको होला।

उक्त कवितामा लेखिएका केही संवेदनशील पंक्तिहरूलाई यहाँ उद्धृत गर्नु उपयुक्त होला।

अढाइ सय वर्षपछि
आज के भयो मलाई?
यो बिसेलाई दशा लाग्यो मालिक
म बोलाएँ।

०००

नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफ्रिनुपर्ने?
युइक्क बिसे
म बौलाएँ मालिक!
म बौलाएँ।

यहाँनेर पाठकले के बुझ्न जरूरी छ भने बिसे नगर्चीले जोसँग फरियाद गर्दैछ, उनी गोर्खाका राजा पृथ्वी नारायण शाह हुन्। यहाँ जुन अढाई सय वर्षको कुरा आएको छ त्यो कविले कविता लेखेको समयदेखि अढाइ सय वर्षअघि अर्थात् संवत् अठार सय वरिपरिको कुरा हो। जति बेला पृथ्वी नारायण शाह गोर्खाका राजा थिए।

अढाइ सय वर्षको अन्तरालमा शासक पक्षले जनतामाथि गरेको थिचोमिचोलाई कविले घुमाएर भन्न खोजेका छन्। कतिपयले यस कवितालाई पृथ्वी नारायण शाहविरुद्ध लेखिएको भनेर व्याख्या गर्छन्।

तर, कवितामा ‘अढाइ सय वर्षपछि आज’ भनेर वर्तमान कालमा भएको थिचोमिचोलाई, विभेदलाई खोतल्ने प्रयास कविले गरेका छन्। बिसे नगर्ची दमाइ हो। जो पृथ्वीनारायण शाहको दरबारमा लबेदा सिलाउनेदेखि लिएर नरसिंहा फुक्ने र दरबारको रखवारी गर्दथ्यो।

कवितामा बिसे नगर्ची अढाइ सय वर्षपछि आएर विद्रोही बनेको देखाइएको छ। मुलुकको यो दुरावस्था पृथ्वीनारायण शाहको पालामा होइन, वर्तमानको।

कवि श्रवण मुकारूङ एक प्रतिष्ठित कवि हुन्। यस संग्रहमा संकलित कविताहरू उनलाई एक सशक्त कविका रूपमा चिनाउन सफल भएका छन्।

संग्रहको अर्को शसक्त कविताका रूपमा जात्रालाई लिन सकिन्छ। यस कवितामा वर्तमान राजनीतिक विकृतिको व्यङ्ग गरिएको छ। भीड जम्मा पारेर भाषण ठोक्ने प्रथालाई घोचपेच गर्दै कवि भन्छन्–

खेत खन्न छोडेर
भाँडा माझ्न छोडेर
गिट्टी ओसार्न छोडेर
मानिसहरू
जात्रा भर्न निस्किसके।

कविले यहाँ जात्रा शब्दलाई राजनीतिकदेखि लिएर सांस्कृतिक रूढिवादको प्रतिनिधित्व गराउन खोजेका छन्। यो र यस्तै कविताहरूमा कवि इतिहासप्रति असन्तुष्ट भएको देखिन्छ।संग्रहमा अर्को एउटा कविता छ।

‘पत्रकार! तिमी मलाई चिन्छौं?’ यस कवितामा कवि पत्रकारसँग दुष्ट छन्। उनलाई लाग्छ, समाचार पत्रहरू झूटको खेती गर्छन्। समाचार पत्रमा छापिएका तस्वीरहरू उनलाई घिन लाग्दा लाग्छन्। पत्रिकासँग कुनै साइनो राख्न रूचाउँदैनन् उनी। पत्रकारलाई समाजको अनावश्यक झुन्ड ठान्छन् उनी। उनी लेख्छन्–

पत्रकार तिमी मलाई चिन्छौं?
म हेर्दिनँ अब कुनै अखबार
तिमीले छापेको समाचारबाट खसिरहेछ– झुटको रगत!
तिमीले छापेको तस्बिरभरी गन्हाइरहेछ– क्रुरता!

धेरैजसो कविताहरूमा विद्रोह ओकल्न सिपालु देखिने कवि मुकारूङ प्रेमिल कविता उन्न पनि उत्तिकै पोख्त देखिन्छन्। कविले ‘प्रेमपूर्व’ नामक कवितामा प्रेमिल हृदयको परिचय दिएका छन्।

आरूका फूलहरूबाट 
तपतप झरिरहेका शीतहरू
आँखाभरि थापेर
आकश गंगालाई हेर्दा
मेरो राजा१ मैले हजुरलाई देखेँ।

०००

कसले भन्छ यी बतासका झोक्साहरू
हाम्रा प्रेमचिह्नहरू होइनन्?
कसले भन्छ यी दहमा खसेको पातहरू
हाम्रा प्रेम पत्रहरू होइनन्?
साँघुरो भो मलाई
झरीका हारीहरू
साँघुरो भो मलाई
सम्झनाका घारीहरू।

प्रस्तुत कवितामा कविको शब्द चयन हेर्दा कुनै घायल प्रेमीले अभिव्यक्त गरेका आवाज जस्ता लाग्छन्। कविले स्वर्गलाई हृदयको उचाइ र प्रेमलाई दृष्टीको अनन्ता मानेका छन्। आफ्नो मन परेको साथी भेट्दा बारीका कान्लाभरि नाच्दै हिँडु जस्तो, अँध्यारो पर्वतसँग पनि नाता गाँस्दै हिँडु जस्तो आभास कविलाई हुन्छ।

केही कविताहरूले श्रवण मुकारूङलाई माथि उठाउनुको बदला तल खसालेको अनुभूति हुन्छ। एउटै कविता भित्र पनि विचारमा एकरूपता राख्न नसकेका कविताहरू पनि थुप्रै छन्।

बिसे नगर्चीको वयान मै घरि पृथ्वी नारायणलाई सम्मान गरेको र घरि अपमान गरेको महसूस हुन्छ। जात्रा कवितामा फेरि पृथ्वी नारायण प्रकट झैं गरेर उनी लेख्छन्–

अब कुनै तानाशाहले
तिम्रो नाक–कान काट्न सक्नेछैन।

‘आइमाई’ कवितामा कविले पन्ध्र वर्षकी छोरीका स्तनलाई सुम्सुम्याउँदै गरेका बाबुका खस्रा हात सम्झेर छोरी मुस्कुराई भनेका छन्।

शिक्षकले पृथ्वीको गोलाई बुझाउँदै गर्दा चकले उसका स्तन देखाँदा ऊ पुलकित भएको लेख्छन्। यो कविता उदेश्यबाट विचलित भएको भान हुन्छ। यहाँका कविले विम्वहरूमाथि न्याय गर्न सकेका छैनन्।

समग्रमा भन्नुपर्दा मुकारूङ एक सफल कवि हुँदा–हुँदै पनि केही कविताहरूमा विम्वको अवाञ्छित प्रयोगले खस्किएका लाग्छन्। अधिकांश कविताहरू कवि चेतनाले यसरी कुँदिएका छन् कि पढ्दा आनन्दको अनुभूति हुन्छ।

सांग्रिला बुक्सद्वारा प्रकाशित १७० पृष्ठको यस पुस्तकको मूल्य १९९ रूपैयाँ रहेको छ।

माघ ७, २०७९ शनिबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।