कमाइ कि कलात्मकता ? फिल्मको सफलताको मापक के हो ?

कमाइ कि कलात्मकता ? फिल्मको सफलताको मापक के हो ?

कहिले स्थानीय निर्वाचन, कहिले सङ्घीय, प्रादेशिक निर्वाचन त कहिले विश्वकप फुटबल। जे जस्ता उत्सव वा अवरोध आए पनि यो वर्ष नेपाली फिल्म क्षेत्र सक्रिय रह्यो।

हालसम्मकै सर्वाधिक कमाउने फिल्मदेखि लामो समयसम्म हल नछाड्ने फिल्म दुवै यही वर्ष प्रर्दशनमा आए। आस गरिएका निर्देशकका फिल्महरू पनि यही वर्ष प्रर्दशनमा आए।

प्रतीक्षित फिल्महरू 'चिसो मान्छे', 'पानी फोटो', 'दोख', 'प्रकाश', 'ऐना झ्यालको पुतली', 'द सेक्रेट्स अफ राधा' जस्ता फिल्महरू यही वर्ष प्रर्दशनमा आएका हुन्। 

'कबड्डी'को तेस्रो शृङ्खला सकिएदेखि नै प्रतीक्षित बनेको फिल्म 'कबड्डी ४' पनि यही वर्ष प्रर्दशनमा आयो। यसले सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान नै बनायो।

'फिल्मको अन्डरस्ट्याण्डिङमा अहिले संसारभर नै जे कुरा अचिभ (हासिल) गर्यो, त्यसलाई सफलता मानिन्छ। उदाहरणका लागि अवतार फिल्म। टेक्नीकल्ली (प्राविधिक), एस्थेटिकल्ली (कलात्मक) यसको एचिभमेन्ट हो। त्यसकारण यो फिल्मले व्यावसायिक सफलता पनि अचिभ गर्यो।'

यस्तै दर्शकले यही वर्ष लामो समयपछि हलमा ५१ दिन मनाएको फिल्म 'महापुरुष' पनि हेर्न पाए। 

यो बाहेक यस वर्ष लगानी सुरक्षित गर्न सफल फिल्महरू 'म यस्तो गीत गाउँछु २', 'झिँगेदाउ', 'दुई नम्बरी', 'के घर के डेरा' हुन्।

'हिजो आजका कुरा', 'नालापानी' लगायतका फिल्मले पनि केही हदसम्म चर्चा कमाउन सफल भए।

बलिउडको 'ह्याङओभर'बाट मुक्त हुँदै केही फरक बने नेपाली फिल्म। तिनले एकखाले दर्शकमाझ बहस सिर्जना पनि गरायो। 

त्यसैले एक तप्का फिल्मको चर्चा र बहस निम्त्याउनु नै फिल्मको सफलता हो भन्ने मान्छन् भने अर्को तप्का बक्स अफिस नै सफलताको मापक हो ठान्छन्।

के भन्छन् फिल्मकर्मी
'निमाफुङ', 'गुडबाई काठमाडौं' जस्ता फिल्म निर्देशन गरेका फिल्म निर्देशक तथा समीक्षक नवीन सुब्बा फिल्मको सफलता र असफलतालाई 'भेग' (बृहत्) विषय मान्छन्।

उनी भन्छन्, 'फिल्मको अन्डरस्ट्याण्डिङमा अहिले संसारभर नै जे कुरा अचिभ (हासिल) गर्यो, त्यसलाई सफलता मानिन्छ। उदाहरणका लागि अवतार फिल्म। टेक्नीकल्ली (प्राविधिक), एस्थेटिकल्ली (कलात्मक) यसको एचिभमेन्ट हो। त्यसकारण यो फिल्मले व्यावसायिक सफलता पनि अचिभ गर्यो।'

कलात्मकता, भाषाको निर्माणसँगै व्यावसायिक सफलता हासिल गरे मात्रै त्यो सिनेमा सफल हुने उनको भनाइ छ। 

एकदमै धेरै पैसा कमाउँछु भनेर लागिपरेका फिल्मले पनि अवतारले जति नकमाएको भन्दै नवीनले भने, 'फिल्मको भाषा अहिलेसम्म दुई प्रतिशत पनि एक्सप्लोर (खोज) भएको छैन, जसले यसको ल्याङ्वेजलाई एक्सपान्सन (विस्तार) गर्छ, कलात्मक उँचाइ प्राप्त गर्छ, ती सिनेमाले अवश्य बजारमा पनि सफलता प्राप्त गर्छ।'

कलात्मक उँचाइसँगै व्यावसायिक सफलता हासिल गरेका फिल्महरूलाई सफल मान्ने हो भने नेपालमा अहिलेसम्म त्यस्ता फिल्म बन्न नसकेको उनको ठहर छ।

भन्छन्, 'हाम्रा केही सिनेमा इन्टरनेसनल फेस्टिभलमा जान्छन्, केही दिन चर्चा पाउँछन् यसलाई सफलता मान्ने कि नमान्ने? फिल्म बन्छ, चार-पाँच लाख जनसङ्ख्याले फिल्म हेर्छन्, अलिअलि पैसा त्यसले कमाउँछ, त्यसलाई सफलता मान्ने कि नमान्ने?'

संसारले जे कुरालाई सफलताको मापदण्ड बनाएको छ, त्यो हासिल नगरेकाले नेपाली सिनेमा कुनै पनि सफल हुन नसकेको नवीनको बुझाइ छ। कलात्मकता, भाषाको निर्माणसँगै व्यावसायिक सफलता हासिल गरे मात्रै त्यो सिनेमा सफल हुने उनको भनाइ छ।

फिल्म कतिले हेर्यो भन्दा पनि के हासिल गर्न सक्यो भनेर हेर्दा फिल्म सफल र असफल छुट्याउन सकिने उनको भनाइ छ।

भन्छन्, 'हामीले सिनेमाबाट अहिलेसम्म के अचिभ गरेका छौँ, हाम्रा कलाकारहरूले कस्ता रिकग्निसन (पहिचान) प्राप्त गरेका छन् जस्ता कुरा हामीले हेर्नुपर्ने हुन्छ।'

अहिलेसम्म कुन फिल्म सफल भयो त भन्ने प्रश्नमा हामीसँग यो फिल्मले यति पैसा कमायो बाहेक अन्य आधार नभएको उनको भनाइ छ। 

फिल्मको भाषा निर्माण गर्ने, कलात्मक उँचाई प्राप्त गर्ने, खास विषय उठान गर्ने वा नेपाली समाजसँग बृहत् अन्तरक्रिया गर्ने फिल्म अहिलेसम्म नबनेको उनले जिकिर गरे।

व्यावसायिक सफलता र कलात्मक सफलता दुवै अन्योन्याश्रित भएको भन्दै नवीनले भने, 'कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने कुरा दृष्टिकोणमा फरक पर्छ।'

सन् २०१९ मा अस्कर जितेको कोरियन फिल्म 'प्यारासाइट'को उदाहरण दिँदै उनी भन्छन्, 'यो फिल्म नहेर्ने को छ? यसमा कलात्मक उँचाइ छ, भाषामा समस्या भए पनि मानिसहरूले मन पराइरहेका छन्। व्यावसायिक रूपमा सफल छ।'

फिल्म कतिले हेर्यो भन्दा पनि के हासिल गर्न सक्यो भनेर हेर्दा फिल्म सफल र असफल छुट्याउन सकिने उनको भनाइ छ।

'अहिले २०७९ सालमा बनेका कुन फिल्म सफल र कुन असफल भए भन्ने कुरा मेकरको दृष्टिकोणमा फरक पर्छ। यदि मेकरले पैसा कमाउने उद्देश्यले फिल्म बनाएका थिए, त्यसले पैसा कमायो सफल भयो, कमाएन असफल भयो। यदि मेकरले कलात्मक शिल्प फिल्ममा देखाउन चाहेको थियो, फिल्म मार्फत प्रश्न उठाउन चाहेको थियो, त्यसले बहस सिर्जना गरोस् भन्ने सोचेको थियो त्यही अनुरूप फिल्मले बहस चलायो सफल भयो, चलाएन सफल भएन।'

'ऐना झ्यालको पुतली, राधा, दोख लगायतका फिल्मले दर्शक पाएन', नवीनले भने, 'तर महापुरुष, कबड्डी ४ लगायतले दर्शक पायो। यहाँ कसलाई सफलता मान्ने? एकखालकाले सिनेमाको भाषामा केही हासिल गरे, व्यावसायिक सफलता हात पारेनन्, अर्कोथरीले व्यावसायिक सफलता हात पारे तर सिनेमाको भाषामा, कलात्मक चेतमा केही अचिभमेन्ट भएन। त्यसैले दुवैथरीका फिल्म संसारभरको मापदण्ड अनुसार असफल भए।'

तर निर्देशक सचिन घिमिरे भने व्यावसायिक सफलता खोजेको हो या शिल्प र अन्तरवस्तु दुवैमा कलात्मक उँचाइ हासिल गरेका फिल्म खोजेको हो भन्ने प्रश्नले फिल्म सफल र असफलको उत्तर दिनसक्ने बताउँछन्।

उनले भने, 'मलाई कुनै एनजीओको काम गरेर तीन लाख कमाउनु र फिल्मको स्क्रिप्ट लेखेर तीन हजार कमाउनुमा यदि व्यावसायिक सफलता खोज्ने हो भने एनजीओको काम गरेर सफल हुन्छु। फिल्मको स्क्रिप्ट लेखेर असफल हुन्छु। त्यस्तै कलात्मक सफलता खोज्ने हो भने एनजीओको काममा तीन लाख कमाउँदा पनि असफल हुन्छु, तर फिल्मको स्क्रिप्टलाई तीन सयजति दर्शक मात्रै मन पराए भने पनि त्यसलाई सफलता मान्छु।'

सचिनका अनुसार फिल्मको सफलता र असफलता अवस्थाअनुसार फरक हुन्छ।

यसलाई अझै प्रष्ट पार्दै सचिनले भने, 'अहिले २०७९ सालमा बनेका कुन फिल्म सफल र कुन असफल भए भन्ने कुरा मेकरको दृष्टिकोणमा फरक पर्छ। यदि मेकरले पैसा कमाउने उद्देश्यले फिल्म बनाएका थिए, त्यसले पैसा कमायो सफल भयो, कमाएन असफल भयो। यदि मेकरले कलात्मक शिल्प फिल्ममा देखाउन चाहेको थियो, फिल्म मार्फत प्रश्न उठाउन चाहेको थियो, त्यसले बहस सिर्जना गरोस् भन्ने सोचेको थियो त्यही अनुरूप फिल्मले बहस चलायो सफल भयो, चलाएन सफल भएन।'

यस्ता कित्ताकाट गरिने परम्परा नेपालमा मात्रै रहेको फिल्म लेखक तथा पत्रकार सामीप्यराज तिमल्सिना बताउँछन्। उनले भने, 'अनमोल केसीको फिल्ममा कला छैन भन्न सकिन्छ? के अनमोलको फिल्ममा आर्ट छैन र त्यो आर्ट फिल्म नहुनलाई?'

निश्चित पात्र, परिवेश र विषयवस्तु उठाएर श्रव्यदृश्य माध्यमबाट यदि दर्शकसँग अन्तक्रिया गर्न खोजेको छ भने सचिनको दृष्टिकोणमा त्यो फिल्म सफल फिल्म हो। जसमा दर्शकले फिल्मको शिल्प र अन्तरवस्तुबारे बहस, अनुभूति सोचाइको विकास गरोस्। 

सचिनले थप भने, 'सबैको सोचाइ मेरै जस्तो हुनुपर्छ भन्ने छैन। कलाको एक माध्यम हो श्रव्यदृश्य सामग्री। यसलाई लाभ-हानीको विषय बनाएकाहरूले मेरै तरिकाले सोच्नुपर्छ भन्ने हुँदैन र छैन। यो अमूर्त, सापेक्षित र कन्टेक्स्चुअल कुरा हो।'

हलमा लागेपछि बक्स अफिस नै सफलता मापनको कडी
प्रतीक्षित, बहुप्रतीक्षित फिल्महरू यो वर्ष प्रर्दशन मात्रै भएन, फिल्मको कित्ता पनि राम्रैसँग छुट्याइयो- बलिउडको सुत्रमा टेकेर बनाइएका फिल्म र सुत्रमा नटेकेर बनाइएका फिल्म। आर्ट फिल्म र कमर्सियल फिल्म। फेस्टिभलका लागि तयार पारिएको फिचर फिल्म र हलका लागि तयार पारिएको व्यावसायिक फिल्म। कलात्मक चेत भएको फिल्म र मनोरञ्जनात्मक फिल्म। आदि आदि।

तर यस्ता कित्ताकाट गरिने परम्परा नेपालमा मात्रै रहेको फिल्म लेखक तथा पत्रकार सामीप्यराज तिमल्सिना बताउँछन्। उनले भने, 'अनमोल केसीको फिल्ममा कला छैन भन्न सकिन्छ? के अनमोलको फिल्ममा आर्ट छैन र त्यो आर्ट फिल्म नहुनलाई?'

सामीप्यराजका अनुसार सबै फिल्म कलात्मक हुन्छ, र त्यो हलमा लागेपछि व्यावसायिक हुन जान्छ। 'जब बक्स अफिसमा हिट हुन्छ, फिल्म सफल हुन्छ। जब फिल्मले दर्शक बटुल्छ र पैसा छाप्न थाल्छ, त्यो फिल्म सफल हुन्छ', उनले भने।

फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामा भने बक्स अफिसलाई मात्रै सफलताको कडी मान्न नसकिने बताउँछन्। उनी कलाको मूल्याङ्कन अर्थबाट नभई, त्यसको गहिराइ र सशक्तताको आधारमा गर्नुपर्ने बताउँछन्।

यो वर्ष बनेका हेर्नैपर्ने उत्कृष्ट १० फिल्म, अस्कर, विभिन्न फेस्टिभल, अवार्ड कार्यक्रमहरूले विश्वका फिल्महरूलाई सफलताको मापक बनाएको उनको भनाइ छ।

तर, नेपालमा भने न त अवार्डलाई विश्वास गर्न सकिन्छ, न महोत्सवलाई नै। त्यसैले नेपालमा फिल्म सफलताको मापदण्ड बक्स अफिस मात्रै भएको दीपेन्द्रको भनाइ छ।

फिल्मकर्मीकै कमजोरी
नेपालमा फिल्म बन्न थालेको झण्डै ५७ वर्ष पुग्यो। केही कलात्मक चेत भएका फिल्महरू पनि बने तर त्यो बक्स अफिसमा सफल भएन। केहीले चलिरहेको भन्दा फरक सिनेमा बनाए, त्यसलाई पनि दर्शकले हेरेनन्।

'हामी स्टारडमको पछि लाग्यौँ, कलाको पछि लागेनौँ। त्यसैले अहिलेसम्म कुनै पनि फिल्म सफल बन्न सकेन।'

यसमा सिनेमा निर्माण गर्नेहरूकै कमजोरी रहेको लामाको भनाइ छ।

लामाले भने, 'हामीले दर्शकको विश्वास जित्नै सकेनौँ। सबै फिल्मलाई राम्रो छ, उत्कृष्ट छ भन्यौँ तर १० मिनेट सहन नसक्ने फिल्म बनायौं।' दर्शकको विश्वास गुमाएका कारण कलात्मक उँचाइ भएका फिल्म बक्स अफिसमा कमजोर भएको उनको भनाइ छ।

पुराना फिल्ममेकरले नयाँ टेस्टका फिल्म नबनाएकाले पनि दर्शकको स्वाद परिवर्तन नभएको उनको बुझाइ छ। जो चल्यो उसैलाई लिएर फिल्म बनायो, जस्तो चलेको छ त्यस्तै मात्र फिल्म बनायो गर्नाले दर्शकको स्वादमा नयाँ फिल्म पर्न नसकेको उनको भनाइ छ।

पोस्टरमा लामो समयसम्म राजेश हमालको टाउको बेचेको इतिहास भएकाले यस्ता समस्या आएको घिमिरेको भनाइ छ। 

यही कुरामा सुब्बा पनि सहमति जनाउँछन्। उनले भने, 'हामी स्टारडमको पछि लाग्यौँ, कलाको पछि लागेनौँ। त्यसैले अहिलेसम्म कुनै पनि फिल्म सफल बन्न सकेन।'

हलिउडले स्टारडम हटाउन गरेको संघर्ष र बलिउड अहिले स्टारडमका कारण कसरी धरापमा परिरहेको छ भन्ने कुराबाट नेपालले सिक्नुपर्ने नवीनको भनाइ छ।

७ माघ, २०७९, १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।