UKERAA EXCLUSIVE : वीरका वरिष्ठ युरो सर्जन डा अनिलले बढुवा हुन लोकसेवालाई नै झुक्क्याए, झुटो पत्र बनाउँदा आफैँ फसे
काठमाडौँ : वीर अस्पतालमा कार्यरत डा. अनिल श्रेष्ठले लोकसेवा आयोगमा झुटो विवरण पेस गरेर ११ औँ तहमा बढुवा हुने प्रयास गरेको खुलेको छ। दुर्गममा दरबन्दी हुँदाहुँदै उनले स्वास्थ्य मन्त्रालयबाट दुर्गममा दरबन्दी नभएको पत्र बनाउन लगाएर ११ औँ तहमा बढुवाको प्रयास गरेका थिए। तर बेलैमा सूचना पुग्दा लोकसेवा भने जोगियो।
बढुवाका लागि दुर्गममा जानुपर्ने नियम भए पनि उनले कन्सल्टेन्ट युरो सर्जन र वरिष्ठ कन्सल्टेन्ट युरो सर्जनको दरबन्दी दुर्गममा नभएकाले आफू दुर्गममा जान नसकेको दाबी गर्दै स्वास्थ्य मन्त्रालय र लोकसेवालाई भ्रममा पार्ने प्रयास गरेका थिए।
बढुवाका लागि खुलेको विज्ञापनमा उनी सहभागी भए। सो अनुसार उनले आयोगमा लिखित परीक्षा पनि दिए। लिखित परीक्षा सकिएपछि अन्तर्वार्ताको तयारीको क्रममा श्रेष्ठ बढुवाको मापदण्ड अनुसार दुर्गममा नगएकोबारे आयोगमा उजुरी पर्यो।
अन्तर्वार्तामा यस विषयबारे कुरा उठ्न सक्ने आङ्कलन गरेर डा श्रेष्ठले अन्तर्वार्ता हुने मितिभन्दा पाँच दिन अगाडि नै मन्त्रालयबाट दुर्गममा दरबन्दी नरहेको पत्र बनाउन लगाएका थिए। आयोगले उजुरीका आधारमा अन्तर्वार्ताको मिति स्थगित गरेर श्रेष्ठमाथि लागेको आरोपबारे छानबिनका लागि मन्त्रालयमा पत्र पठाएपछि उनले दुर्गममा रहेको दरबन्दी छैन भनेर झुक्क्याएर बढुवाको प्रयास गरेको खुल्यो।
आयोगको शैक्षिक योग्यता परामर्श समितिले यसबारे छानबिन अगाडि बढाएको थियो। छानविनकोक्रममा चिकित्सक श्रेष्ठले आयोगलाई गुमराहमा राखेर बढुवा हुने प्रयास गरेको देखिएको आयोग स्रोतले उकेरालाई बताएको छ।
मन्त्रालयले दुर्गममा युरोलोजिष्टको दरबन्दी रहेको पुष्टि गरिसकेको छ। युरो सर्जरीको दरबन्दी दुर्गममा नभएको श्रेष्ठको दाबी झुटो देखिएपछि अहिले मन्त्रालयले समेत उनलाई कारबाहीको तयारी गरिरहेको छ भने लोकसेवाले विज्ञापनै रद्द गर्ने तयारी गरेको छ।
लिखितपछि डा. श्रेष्ठको तानाबाना
लोक सेवा आयोगले २०७८ असोज २७ गते स्वास्थ्य सेवातर्फ एघारौँ तहको विज्ञापन खुलाएको थियो। आयोगले खुलाएको विज्ञापन नम्बर १७१८०-०७८-७९ मा आन्तरिक प्रतियोगिता(आ.प्र.)तर्फको ‘सेवा, समूह, उपसमूह र श्रेणी-तह’ मा ‘प्रमुख कन्सल्टेन्ट युरो सर्जरी, स्वास्थ्य, सर्जरी, युरो सर्जरी’ उल्लेख छ।
सो विज्ञापनमा माग मद सङ्ख्या एक थियो। आयोगको वेबसाइटमा प्रकाशित विज्ञापन अनुसार ‘प्रमुख कन्सल्टेन्ट युरो सर्जरी, स्वास्थ्य, सर्जरी, युरो सर्जरी’ विषयको प्रथम पत्रको लिखित परीक्षा २०७८-९-३ गते भएको थियो भने द्वितीय पत्रको लिखित परीक्षा २०७८-०९-१० मा भएको थियो। डा. श्रेष्ठ दुवै पत्रको परीक्षामा सहभागी भए।
लिखित परीक्षापछि आयोगले २०७८-१२-२ मा परीक्षाको नतिजा प्रकाशित गर्यो। एक पदका लागि भएको आन्तरिक प्रतियोगिता (आ.प्र.) को ११ औँ श्रेणी-तहको सो लिखित परीक्षामा अन्तरवार्ताका लागि डा. श्रेष्ठ पहिलो वरीयता क्रम नम्बरमा छनोट भए भने डा. प्रबोध रेग्मी दोस्रो बरियताक्रममा छनोट भएका थिए।
लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा श्रेष्ठको वरीयता क्रम नम्बर ‘१’ छ भने रोल नं. ‘८७०००१’उल्लेख छ। रेग्मीको बरियताक्रम नम्बर ‘२’ उल्लेख छ।
आयोगले गरेको सूचना नम्बर ७२१-०७८–७९ अनुसार उनी अन्तर्वातामा छनोट हुँदाको सेवा, समूह, उपसमूह: ‘स्वास्थ्य, सर्जरी युरो सर्जरी’ हो भने पद: प्रमुख कन्सल्टेन्ट युरो सर्जन’ हो। त्यसै गरी लिखत नतिजाको विज्ञापन नं. पनि उही ‘१७१८०-०७८-७९’ नै छ।
लिखितमा उत्तीर्ण भएका डा. श्रेष्ठ र डा. रेग्मीको लागि आयोगले अन्तर्वार्ताको मिति २०७८-१२-२२ गते दिनको ११ बजे आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा तोकेको थियो।
तर, डा. श्रेष्ठको योग्यताको विषयमा उजुरी पर्यो। त्यसपछि सोही दिन आयोगले अन्तर्वार्ता स्थगित गर्यो। डा. श्रेष्ठलाई सोही दिन बिहान अन्तर्वार्ता स्थगित भएको जानकारी गराइएको थियो। तर आयोगले स्थगित भएको सूचना सार्वजनिक गरेको देखिएन।
उकेराले प्राप्त गरेको आयोगको पत्रमा‘लोक सेवा आयोगको विज्ञापन नम्बर ‘१७१८०-०७८-७९ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, युरो सर्जरी उपसमूह, एघारौँ तह, प्रमुख कन्सल्टेन्ट युरो सर्जन पदको माग सङ्ख्या एकका लागि मिति २०७८-१२-०२ गते प्रकाशित लिखित नतिजाबाट अन्तर्वाताका छनौट भएकामध्ये क्रमसङ्ख्या १ रोल नम्बर ८७०००१ का उम्मेदवारको मिति २०७८-१२-२२ गतेलाई तोकिएको अन्तर्वार्ता कार्यक्रम मिति २०७८-१२-२२ को निर्णय (अध्यक्षस्तर) बमोजिम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित राख्ने निर्णय भएको छ।'
दुर्गममा दरबन्दी नभएको देखाउन शब्द छलेर झुटो पत्र
स्वास्थ्य मन्त्रालयले २०७८-१२-१७ मा श्रेष्ठलाई एक पत्र दियो। चलानी नम्बर २५३४ रहेको पत्रमा लेखिएको छ‘ची.वि.रा.प्र वीर अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट युरो सर्जन (दसौँ तह) डा. अनिल श्रेष्ठ (सङ्केत नं. १८३८७९)ले नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, युरो सर्जरी उपसमूह, नवौँ-दशौं तह, ब/कन्सल्टेन्ट युरो सर्जन पदको दरबन्दी दुर्गम क्षेत्रमा भए/नभएको लोक सेवा आयोगमा खुलाई पठाइदिन अनुरोध गरी यस मन्त्रालयमा निवेदन पेस गर्नु भएको हुँदा सङ्घ अन्तर्गतका कार्यालयहरूमा नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, युरो सर्जरी उपसमूह, नवौँ-दशौं तह, ब./कन्सल्टेन्ट युरो सर्जन पदको ८ (आठ) वटा दरबन्दी रहेकोमा उक्त पदको दरबन्दी सङ्घ अन्तर्गत दुर्गम क्षेत्रमा भएको नदेखिएको ब्यहोरा यस मन्त्रालयको मिति २०७८-१२-१७ को निर्णय अनुसार अनुरोध छ।’
यो पत्रको दायाँपट्टिको तल्लो भागमा शाखा अधिकृत देवराज भण्डारीको हस्ताक्षर रहेको छ। यसको अर्थ पत्र दिने कर्मचारी शाखा अधिकृत भण्डारी हुन्। तर, यो पत्रमा के स्तरीय तथा कसको निर्णय हो भन्ने खुल्दैन। सामान्यतः ११ औँ तहको यस्ता निर्णयका लागि कुन स्तरीय निर्णय हो भन्ने खुलाइन्छ।
अर्कातर्फ लिखित परीक्षामा छनोट भएका डा. श्रेष्ठले चैत २२ गते ११ बजे अन्तर्वार्ता दिन जानुभन्दा पाँच दिन अघि १७ गते नै किन यस्तो पत्र बनाए भन्ने प्रश्न समेत उब्जिएको छ। मन्त्रालय स्रोत पत्र नै बदनियत पूर्ण रूपमा बनाएको दाबी गर्छ।
मन्त्रालयमा देखियो दुर्गममा दरबन्दी
११ औँ तहमा बढुवाका लागि परीक्षामा सामेल उम्मेदवार (डा. श्रेष्ठ)को योग्यता नपुगेको विषयमा उजुरी परेको भन्दै लोकसेवा आयोगका सदस्य वीर बहादुर राईको संयोजकत्वमा बनेको शैक्षिक योग्यता परामर्श समितिले डा श्रेष्ठबारे अध्ययन थाल्यो। आयोगका अनुसार यो स्थायी प्रकृतिको समिति हो।
समितिले सरोकारवाला तथा विज्ञहरू स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, मेडिकल काउन्सिलका अध्यक्ष भगवान् कोइराला, वीर अस्पतालका युरो सर्जरी विभागका प्रमुख डा. रविन बस्नेत र त्रिवि शिक्षण अस्पतालका युरो सर्जरी विभाग प्रमुख डा. पवनराज चालीसेलाई परामर्शका लागि बोलाएको थियो।
समितिको बैठकमा युरोलोजी र युरो सर्जरी एउटै विषय भएको निर्णय समेत गरिसकेको समितिको बैठकमा सहभागी एक सदस्यले बताए। विज्ञ समितिका एक सदस्यले भने,‘अस्ति हाम्रो मिटिङ भएको थियो। हामीले युरोलोजी र युरो सर्जरीमा कुनै दुबिधा छैन। एउटै विषय हो। कसैले त्यसरी(फरक भनेर) चिठ्ठी बनाएको भए यो भ्रमपूर्ण हो भन्ने निर्णय दियौँ।’
लोकसेवा आयोगमा समितिको बैठक अघिल्लो बिहीबार (चैत २४ गते) बसेर सो निर्णय गरेको ती सदस्यले बताए।
‘स्वास्थ्य मन्त्रालयबाट डा. अनिलले काठमाडौँ बाहिर युरो सर्जनको दरबन्दी छैन भनेर चिठ्ठी बनाउनु भएछ,’ ती सदस्यले भने,‘उहाँले बनाएको चिठ्ठीमा बठ्याइँ भएको छ। युरोलोजी र युरो सर्जरी भनेको त एउटै विषय हो। बेइमानीले मात्रै युरोलोजी छुट्टै र युरो सर्जरी छुट्टै भन्छ।’
समितिका ती सदस्यले थपे,‘बदनीयतपूर्ण रूपमा प्रमोसन (बढुवा)का लागि स्वास्थ्य मन्त्रालयबाट पत्र बनाएको हो भनेर त्यो मिटिङले निर्णय गरेको छ।’
त्यसैले उनको परीक्षा नै रद्द गर्नका लागि आयोगलाई सुझाव दिइएको बैठकमा सहभागी एक विज्ञ सदस्यले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले लोकसेवामा जनशक्ति मागेकाले स्वास्थ्य मन्त्रालयले नै विज्ञापन रद्द गर्न सक्ने शैक्षिक योग्यता परामर्श समितिलेको बैठकमा सहभागी एक विज्ञ सदस्यले जानकारी दिए।
यस विषयमा स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्दा मन्त्रालयले मङ्गलवार नै उपत्यका बाहिर युरो सर्जरीको दरबन्दी रहेको विषयमा निर्णय गरेर लोकसेवामा जवाफ पत्र पठाइसकेको पुष्टि भयो। मन्त्रालय स्रोतले उकेरासँगको कुराकानीमा बुधवार भन्यो,‘मन्त्रालयले आज बिहान नै लोकसेवामा पत्र पठाइसकेको छ।’
स्वास्थ्य मन्त्रालयले आयोगमा के जवाफ पठायो भन्ने जिज्ञासामा मन्त्रालय स्रोतले भन्यो,‘त्यहाँ(दुर्गममा) युरो सर्जनको दरबन्दी छ भनेर पत्र पठाइएको हो।’
मन्त्रालयकै अर्का उच्च अधिकारीले पनि युरोलोजी र युरो सर्जरी एउटै विषय हो भनेर आयोगमा पत्र पठाउनका लागि मङ्गलवार नै निर्णय भइसकेको जानकारी दिए। ।
तर, स्वास्थ्य मन्त्रालयबाट भने बुधवार बेलुकासम्म आयोगको अन्तर्वार्ता शाखामा पत्र पुगि नसकेको आयोग स्रोतले बतायो।
आयोगको सदस्यको अध्यक्षतामा समितिको बैठक बसेपछि समितिले आयोगलाई दिएको राय सुझावको आधारमा निर्णय हुने स्रोतले जानकारी दियो। स्रोतले भन्यो,‘समितिको राय सुझाव अनुसार आयोगले स्वतन्त्र रूपमा निर्णय गर्छ।’
ऐनलाई नै लत्याउने प्रयास
दशौंबाट ११ तहमा बढुवाका लागि तीन वटा बाटो अपनाउनुपर्ने हुन्छ। जसमध्ये आन्तरिक बढुवा, फाइल बढुवा (कार्यसम्पादन तथा मूल्यांकन) र खुल्ला।
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा–२६ मा बढुवाको लागि न्यूनतम योग्यता र सेवा अवधिको व्यवस्था छ। ऐनको दफा–२६ को उपदफा ‘१’ मा भनिएको छ,‘कर्मचारीले बढुवाको लागि उम्मेदवार हुन तोकिए बमोजिमको शैक्षिक योग्यता प्राप्त र बढुवा हुने तह भन्दा एक तह मभुनिको पदमा रही कम्तिमा तीन वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्नेछ।’
उपदफा ‘१’ को बुँदा नं.–३ मा ‘२०६९ साल चैत २९ गतेपछि बढुवाको लागि उमेद्वार हुन कम्तिमा एक वर्ष अति दुर्गम वा कम्तिमा दुई वर्ष दुर्गम क्षेत्रमा कम गरेको हुनु पर्ने’ कानुनी व्यवस्था छ।
तर, ऐनको दफा–२६ को उपदफा ‘२’ को ‘क’ मा भने पद वा दरबन्दी नभएको कारण अति दुर्गम वा दुर्गम क्षेत्रमा सेवा गर्न नपाएको अवस्थामा कर्मचारीहरु बढुवाका लागि सम्भावव्य उम्मेदवार हुन सक्ने व्यवस्था छ।
डा. श्रेष्ठले उपदफा ‘२’ ‘क’ मा भएको यही बुँदामा टेकेर दुर्गममा युरोसर्जरीको दबन्दी नै नभएको भन्दै आन्तरिक बढुवा परीक्षामा सहभागी भएका थिए।
उपदफा ‘२’ को ‘ख’ मा बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा कम्तिमा आठ वर्ष सेवा अवधि पूरा गरेको अवस्थामा कर्मचारीहरु बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने प्रावधान छ।
उपदफा ‘२’ को ‘ग’ मा सेवाका कुनै तहको पदमा कम्तिमा दुई वर्ष काठमाडौं उपत्यका बाहिरका जिल्लामा सेवा गरेको र बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा पाँच वर्ष सेवा गरेको अवस्थामा कर्मचारीहरु बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने व्यवस्था छ।
तर, डा. श्रेष्ठ ऐनमा व्यवस्था भएका यि प्रावधान अनुसार बढुवाका लागि योग्य थिएनन्। उनी न दुर्गम गएका छन् न त दशौं तहमा बढुवा भएको पाँच वर्षनै पुगेको छ। स्रोतका अनुसार उनी दशौं तहमा बढुवा भएको करिब साढे तीन वर्ष मात्रै भएको छ। डा. श्रेष्ठ करिब ११ बर्ष (सन् २०१०) देखि बीर अस्पतालमा नै काम गरिरहेका छन्।
त्यसैले ऐनको दफा–२६ को उपदफा ‘२’ को ‘क’ मा पद वा दरबन्दी नभएको कारण अति दुर्गम वा दुर्गम क्षेत्रमा सेवा गर्न नपाएको अवस्थामा कर्मचारीहरु बढुवाका लागि सम्भावव्य उम्मेदवार हुन सक्ने व्यवस्थालाई टेकेर दुर्गममा युरो सर्जरीको दबन्दी नै नभएको भन्दै डा. श्रेष्ठले ११ औं तहमा आन्तरिकबाट बढुवाका लागि परीक्षा दिएको देखिन्छ।
शब्दलाई बङ्ग्याएर बढुवा हुने प्रयास
युरो सर्जरी पदको दरबन्दी सङ्घ अन्तर्गत दुर्गम क्षेत्रमा भएको नदेखिएको भन्नु नै बठ्याइँ भएको शैक्षिक योग्यता परामर्श समितिको बैठकमा सहभागी एक सदस्यले बताए।
आयोगको बैठकमा सहभागी एक सदस्यले उकेरालाई भने‘,हाम्रो दरबन्दीमा चाहिँ नवौँ तहलाई कन्सल्टेन्ट युरोलोजिष्ट भनिन्छ र दसौँ तहलाई वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट भनिन्छ। ११ औँ तहलाई प्रमुख कन्सल्टेन्ट युरो सर्जन भनिन्छ।’ डा. श्रेष्ठ वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट हुन्।
डा. श्रेष्ठ नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जनका महासचिव समेत हुन्। कन्सल्टेन्ट युरो सर्जन र वरिष्ठ कन्सल्टेन्ट युरो सर्जनको दरबन्दी दुर्गममा नभएको भन्दै उनले शब्दमा खेलेर लोकसेवाको परीक्षामा सहभागी भए अनि स्वास्थ्य मन्त्रालयबाट चिठ्ठी पनि बनाए।
जानकारका अनुसार उपत्यका बाहिर कोसी अस्पताल, बुटवल, पोखरा, दाङ (दुर्गम), डडेलधुरा(दुर्गम) मा युरो सर्जन(युरोलोजी)को दरबन्दी छ।
युरोलोजी र युरो सर्जन भन्नु एकै भएको विज्ञको मत छ। स्वास्थ्य मन्त्रालयले गरेको अर्गानोग्राम (ओएनएम सर्भे) मा युरोलोजीको दरबन्दी भएको तर अहिले सो युरोलोजिष्टलाई नै युरो सर्जन भन्ने गरिएको विज्ञ बताउँछन्।
डा. श्रेष्ठकै समूहका परीक्षाका प्रतियोगी डा. रेग्मी कन्सल्सल्टेण्ट युरोलोजीको पदमा करिब आठ वर्ष दाङमा बसेर आएका चिकित्सक हुन्। रेग्मीका लागि दरबन्दी हुने तर श्रेष्ठका लागि कसरी दरबन्दी भएन ? अनि लोकसेवाले लिखित अगाडि किन हेरेन शङ्का बढाउने स्थान यही हो।
उजुरीपछि आयोगले डा. श्रेष्ठलाई कार्यालयमा बोलाएर उपत्यका बाहिर युरोलोजिको दरबन्दी रहेछ नि? भनेर सोध्दा उनले ‘त्यो त युरोलोजीको दरबन्दी हो। म त युरो सर्जन हो’ भनेका थिए।
स्वास्थ्य मन्त्रालयले डडेलधुरा अस्पतालको दरबन्दी तेरिज बनाउँदा ‘वरिष्ठ युरोलोजिष्ट-कन्सल्टेण्ट युरोलोजिष्ट, नवौँ-दसौँ तह, युरोलोजी’ भनेर लेखिएको मन्त्रालय स्रोतले बतायो।
स्रोतले भन्यो,‘समूहमा मेडिसिन भनेर लेखिएको रहेछ। खास सर्जरी हुनुपर्ने। उपसमूहमा युरो सर्जरी नै भनेर लेखेको छ। त्यो ओएनएम सर्भेमा टाइपिङ मिस्टेक मात्रै हो।’
स्वास्थ्य सचिवले पनि त्यो सामान्य टाइपिङमा भएको त्रृटी मात्र भएको बताएको मन्त्रालय स्रोतले जानकारी दियो।
यस अगाडि उकेराले युनिफाइड केन्द्रीय अस्पतालका निमित्त प्रमुख डा भूपेन्द्र बस्नेतले लोकसेवा आयोगले रद्द गरेको विज्ञापनमै बढुवाको तयारी भएको खुलासा गरेको थियो। प्रमाणसहित समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयले सो विज्ञापन अनुसार अगाडि बढेको प्रक्रिया नै रोकियो। तर यसमा कसले बदमासी गरेको हो सो भने खोजी नै भएन।
वैशाख १४, २०७९ बुधबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।