सांसद पुत्रले बियर पिएको प्रमाण जिल्लाले देख्दा उच्चले देखेन, लाइसेन्सतिर ध्यानै छैन न्यायाधीशको
काठमाडौँ : सांसद बिन्दिया कार्कीका छोरा २४ वर्षका रविनसिंह कार्कीले चलाएको आमाको नाममा रहेको प्रदेश ३-०१-०२२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा एक मजदुरले ज्यान गुमाए। २०७८ जेठ २० गते बेलुका बेलुका ७:३५ बजे न्यु एभरेस्ट फर्निचरमा काम सकाएर कोठामा जान सडक किनारामा हिँडिरहेका भारतीय नागरिक राजकुमार राजवंशी र मुकेश दासलाई कार्कीले चलाएको गाडीले ठक्कर दिएको थियो।
मोरंगको विराटनगर वडा नम्बर ४ पूर्वमा एयरपोर्ट मोडबाट विराटनगर एयरपोर्ट जाने बाटोमा भएको दुर्घटनामा दासको ज्यान जोगिएन। उपचारका लागि कोसी अञ्चल अस्पताल पुर्याइएका उनको बाटैमा मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका थिए। पछि पोस्टमार्टममा शक्तिशाली ठक्करका कारण उनको मृत्यु भएको देखियो। घटनास्थलमा बायाँ पिल्लर भाँचिएको थियो भने घटनास्थलको २० फिट परसम्म गाडीको सिसा फुटेको घटनास्थलको मुचुल्काबाट देखिन्छ।
घटना लगत्तै कार्कीसहित कारमा रहेका पाँच जना फरार भए। ३ दिनपछि कार्की आफैँ प्रहरीकोमा आत्मसमर्पण गर्न आएका थिए। पछि अनुसन्धानमा कार्कीले बियर पिएर गाडी चलाउँदा एक जनाको ज्यान गएको भन्दै जिल्ला अदालत मोरगंमा अभियोग पत्र दर्ता भयो।
थुनछेक बहसमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठायो। पछि फैसला आउँदा कार्कीले मादक पदार्थ सेवन गरेर जानाजान दुर्घटना गराएको ठहर गर्दै जिल्ला अदालतले उनलाई २०७६ कात्तिक १५ मा तीन वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको थियो।
जिल्लाले कार्कीले जानाजान दुर्घटना गराएको देखिएको ठहर गर्न घटनास्थलको अवस्था, दुर्घटनामा परेको कारको प्राविधिक परीक्षण अनि घटनाका प्रत्यक्षदर्शीहरूको बयानलाई मुख्य आधार बनाएको देखिन्छ। तर जिल्लाको फैसला विरुद्ध कार्की परिवार उच्च अदालतमा पुनरावेदनका लागि गएपछि जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेले जानाजान देखेको दुर्घटना उच्चका न्यायाधीश कृष्ण कमल अधिकारी र जगनारायण प्रधानले प्राविधिक गडबडी देखेर कैदलाई ६ महिना १५ दिन मा झारिदिए भने जरिवानालाई ३० हजारबाट २ हजारमा झारिदिए।
१६ बोतल बियर कसले खायो ?
दुर्घटनाको बेलामा कारमा रविन कार्की, रमन अधिकारी, फडिन्द्र कोइराला, रिचु गिरी र शिल्पा सुवेदी रहेको जिल्ला र उच्च दुवैको फैसलाले समेत स्वीकार गरेको छ। उनीहरूको बयान अनुसार कार्की पहिला शिल्पाको घरमा गएर मास्क लगायतका सामान दिएको, शिल्पालाई लिएर मुनाल पथमा रहेको एडमायर क्याफेमा आएर खाजा खाएको देखिन्छ।
क्याफेको बिल अनि प्रत्यक्षदर्शीहरूको बयानमा त्यहाँ उनीहरूले १६ वटा बियर मगाएर खाएको देखिन्छ। शिल्पाले दिएको बयानमा प्रस्ट 'म र रिचुले मम खायौँ अन्यले माछा र बियर खाए' भनेकी छिन्। पूर्वाधार विकास कार्यालयमा काम गर्ने रमन अधिकारीले पनि बयानमा 'हामी सबैले बियर र माछा खायौँ' भनेका छन्।
रिचु भन्ने दीक्षाकुमारी गिरीले 'पुरुष साथीहरूले बियर बढी मात्रामा पिए। हामी महिलाहरूले हल्का पियौँ' भनेकी छिन्। रविनसिंह कार्कीको बयानमा क्याफेमा 'बियर, चुरोट, चटपटे, मम र चिकेन रोस्ट खाएको स्वीकार गरेको देखिन्छ।
क्याफेको बिलमा उनीहरूले १६ वटा मुस्ताङ बियर पिएको देखियो। कार्कीले बयानमा मापसे गर्दिन भनेर दाबी गरे। तर भुपेश पोखरेलले 'एक दुई वर्षदेखि छाडेको' दाबी गरे। अर्का दृश्यमान शाक्यले 'कोरोनाको बिरामीको काम गर्न थालेपछि कार्कीले खान छाडेको' दाबी गरे।
यसको आधारमा जिल्ला न्यायाधीशले बयानमा कार्कीले मापसे नै नगर्ने भने पनि भुपेश र दृश्यमानको बयान अनि घटनाका साक्षीहरूको बकपत्रलाई आधार मानेर कार्कीले मादक पदार्थ खाने गरेको देखिएको तर कहिलेदेखि छाडेको भन्न नसकेको निष्कर्ष निकाल्यो।
घटना लगत्तै उनी भागेर ४ दिनपछि मात्रै सरेन्डर गर्न आएकाले घटनाको दिन उनले मादक पदार्थ सेवन गरे नगरेको पुष्टि नभएपछि बयान र उनको पृष्ठभूमिलाई प्रमाणको रूपमा लिएर जिल्ला अदालतले उनले बियर पिएर गाडी चलाउँदा दुर्घटना भएको निष्कर्ष निकाल्दै कैद सजाय र जरिवाना तोकेको फैसलामा देखिन्छ।
तर उच्चले देखेर प्रमाण
उच्चले भने त्यही प्रमाणलाई टेकेर कार्कीले बियर खाएर गाडी चलाएको भन्न नसकिने भन्दै जिल्लाको फैसला संशोधन गर्दै कैद र जरिवाना दुवै घटायो। कार चलाउने बेलामा कार्कीले बियर पिएको हो या हैन भन्नेमा उच्चले पहिलो कार्कीले अस्वीकार गरेर बयान दिएकोलाई प्रमाणको रूपमा स्वीकार गरेको देखिन्छ।
दोस्रोमा उनको स्वास्थ्य परीक्षणमा मापसे गरेको प्रमाणित नभएकोलाई पनि प्रमाणको रूपमा स्वीकार गरेको छ। उच्चको फैसलामा प्रस्टै घटना भए लगत्तै कार्की पक्राउ परेको नभई २३ गते मात्रै प्रहरी हिरासतमा पुगेको देखिएको उल्लेख छ। यो बिचमा भएको स्वास्थ्य परीक्षणले घटनाको दिन मापसे गरेको थियो या थिएन भन्ने देखाउन सक्दैन।
यदि प्राविधिक समस्याले दुर्घटना भएको हो भने कार्की किन भागेको र तीन दिनपछि मात्र उनी प्रहरीको सम्पर्कमा किन आएको भनेर प्रतिवादीमाथि शङ्का हुनुपर्नेमा उनले मापसे नगरेको पुष्टिका लागि अदालतले उल्टो तीन दिनपछिको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई प्रमाणको रूपमा लिएको फैसलामै देखिन्छ। भाग्नुको उद्देश्य मापसे गरेको प्रमाण नष्ट गर्ने प्रतिवादीको प्रयास हुन सक्नेतर्फ अदालतले विचार पूर्याएको फैसलाले देखाउँदैन।
स्वास्थ्य परीक्षण प्रतिवेदनमा मापसे गरेको नदेखिएपछि उच्चका न्यायाधीशले अन्य प्रमाणका आधारमा विश्लेषण गरेर मापसे गरेको देखिएन भनेका छन्। उनीहरूले पहिलो आधार लिए कार्कीले अस्वीकार गरेको बयान। सडक दुर्घटना प्रतिवेदनमा चालकले मापसे गरेको भन्ने नदेखिएको उल्लेख छ।
भागेका प्रतिवादीले मापसे गरेका थिए कि थिएनन् भनेर दुर्घटना प्रतिवेदनमा कसरी लेख्न मिल्छ भन्ने पाटोतिर न्यायाधीधद्वयको ध्यान गएको देखिएन। फैसलाको भाषा हेर्दा कसरी मापसे नगरेको पुष्टि गर्न सकिन्छ भन्नेमै ध्यान केन्द्रित भएको फैसलाका तर्कले नै देखाएको छ।
शिल्पाले कार्कीसहितले बियर खाएको भनेर दिएको बयानलाई इजलासले तथ्य स्थापित हुन सकेन भनेको छ। कार्कीले बियर नखाएको भए १६ बोतल बियर कसले खायो त? इजलासले त्यता चासो दिएको देखिएन। उल्टो उनीहरूको बयानले प्रतिवादीले मापसे नै गर्ने नगरेको बयानलाई पुष्टि गरेको व्याख्या इजलासले गरेको फैसलाबाट देखिन्छ।
प्रतिवादीले पहिला खाने गरेको तर पछि छाडेको भन्ने आधारमा टेकेर जिल्लाले मापसे गर्ने गरेको व्याख्यालाई उच्चले शिल्पाले समेत कार्कीले बियर खाएको बयान नदिएको उल्लेख गरेको छ भने बकपत्रका झिना मसिना छिद्रहरूको आधार लिई मापसे गरेको निष्कर्ष निकाल्नु न्यायोचित नहुने उल्लेख गरेका छन्। यीनैमा टेकेर उच्चको संयुक्त इजलासले ' अभियोजन पक्षले दाबी प्रमाणित गर्न पेस गरेका प्रमाणका मानिसबाटै अभियोग दाबी खण्डित भइरहेको अवस्थामा अन्यथा विचार गर्नु पर्ने अवस्था नहुँदा प्रतिवादीले मादक पदार्थ सेवन गरी सवार साधन चलाएको रहेछ भनी भन्न मिलेन' भनियो।
अनि दुर्घटनाको कारण टायर पड्किदा अनियन्त्रित भएर सडक किनारमा हिँडेकालाई ठक्कर दिँदा एक जनाको ज्यान गएको भन्दै सजाय ६ महिना १५ दिन र जरिवाना २ हजार हुने फैसला आयो।
कसैले खोजेनन् लाइसेन्स
यो फैसलामा छक्क पार्ने अर्को तथ्य छ सवारी चालक अनुमति पत्रको खोजी। तर न जिल्ला न त उच्च अदालतले नै कार्कीले सवारी चालक अनुमति पत्र लिएका छन् या छैनन् भन्ने नै हेरेको छैन। दुवै अदालत केवल मादक पदार्थ सेवन गरेर सवारी चलाएको हो या हैन भन्नेमा मात्रै केन्द्रित भएको देखिन्छ।
जबकि सार्वजनिक भएका तथ्य र प्रमाणहरूले दुर्घटना गराएको समयमा कार्कीले चार पाङग्रे सवारी चलाउने अनुमति पत्र नै नलिएको र पछि अदालतलाई छल्न नक्कली सवारी चालक अनुमति पत्र बनाएर पेस गरेको पुष्टि भइसकेको छ।
प्रारम्भमा प्रहरी बयानमा कार्कीले 'यातायात व्यवस्था कार्यालय कोसीबाट सवारी चालक अनुमति पत्र लिएको' दाबी गरेका छन्। पछि बयान सच्याएर काठमाडौँबाट बि वर्गको अनुमति पत्र लिएको दाबी गरे। उनले सक्कल पेस गर्न सकेनन् र तर्क हराएको दाबी गरे। उनले बयानमा दिएको जानकारी अनुसार उनले काठमाडौँबाट ०१-०६-००५४२५८९ नम्बरको चालक अनुमति पत्र लिएको र त्यसको जारी मिति २०७५-७-१२ गते रहेको उल्लेख छ।
सञ्चारकर्मी कृष्णप्रसाद भट्टराइले सूचनाको हक प्रयोग गरेर यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती प्रदेशबाट पाएको प्रमाणित सूचनामा परीक्षा हाजिरी रेकर्ड र प्रयोगात्मक चेकलिष्टमा कार्कीको दर्ता नम्बरमा उनको नाम नभई भेषबहादुर माझीले परीक्षा दिएको उल्लेख छ।
यातायातको कम्प्युटर रेकर्डमा सवारी चालक अनुमति पत्र कार्कीकै नाममा फेला पर्यो। तर ढड्डामा भने माझीको नाममा देखियो। यसले ट्रायल दिने माझी तर नाम सवारी चालक अनुमति पत्र चैँ कार्कीको नाममा निकालिएको पुष्टि भयो। यति मात्रै हैन ट्रायलमा माझी फेल भएको देखिन्छ विभागको रेकर्डमा। तर त्यही दर्ता नम्बरबाट कसरी सवारी चालक अनुमति पत्र जारी गर्यो विभागले ?
यी प्रमाणले तीन दिन भागेर मापसे गरेको प्रमाण नष्ट गरेको र सवारी चालक नभई सवारी चलाएर जानाजान एक जनाको ज्यान लिएकोमा हुने सजायबाट उन्मुक्ति पाउन नक्कली सवारी चालक अनुमति पत्र निकालेको प्रस्ट हुन्छ। तर कार्कीसँग सवारी चालक अनुमति पत्र छ या छैन भनेर न जिल्ला अदालत मोरगंले नै हेर्यो न त उच्च अदालतले।
न्याय कि अन्याय सिरिज
चैत २५, २०७८ शुक्रबार १८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।