साइक्लिस्ट निश्माको अनुभव : समाजको चेतनास्तर यौनिकतामा गासिँदा खेलमा महिला अघि बढ्न सकेनन्
सन् २०१२ मा तार्केश्वर नगरपालिका- ८, गोलढुंगाकी निश्मा श्रेष्ठ कक्षा १० मा पढ्थिन्। त्यसबेला निश्माको सपना एअर होस्टेस बन्ने थियो।
निश्मालाई एअर होस्टेस बन्न प्रेरित गर्ने चाहिँ उनको 'घुम्ने रहर'ले गर्यो त्यसबेला।
घुम्न, डुल्न मन पराउने निश्मा १० कक्षा पुगेपछि पढाइको चापले बाहिर खासै निस्कन पाइनन्। तर मन मानेन। मनोरञ्जनको लागि शनिबार-शनिबार घरबाट तीन किलोमिटरसम्म साइक्लिङ गर्ने सोचिन्।
निश्माका बुबा मनोरञ्जनका लागि साइकल चलाउँथे बेला-बेला। मामा पनि साइक्लिस्ट। निश्मालाई पनि साइक्लिङले लोभ्यायो।
निश्माले पहिला त मामालाई नै आग्रह गरिन्- साइक्लिङमा लैजान। मामा पनि भान्जीलाई साइक्लिङमा लैजान राजी भए।
त्यसपछि मामा-भान्जी शनिबार-शनिबार साइकल यात्रामा निस्कन थाले। शनिबार भयो कि त झिसमिसेमै निश्मा मामालाई फोन गर्थिन्। सोध्थिन्, ‘कुन बेला जाने साइक्लिङ?’
मामा भन्थे, 'घाम मज्जाले उदाओस् न।'
अब घाम कतिबेला मज्जाले उदाउला भनेर आकाश हेर्थिन् उनी। अनि बेला भएपछि मामा-भान्जी घरदेखि मुड्खु भञ्ज्याङसम्म साइकल यात्रा गर्थे।
घरमा साना साइकल चलाए पनि यात्रा गर्न प्रयोग गर्ने साइकल निश्माले चलाएकी थिइनन्। विस्तारै उनले साइकल चलाउन सिक्दै गइन्। एसएलसीको परीक्षा नदिउञ्जेल यो सिलसिला चलिरह्यो।
एसएलसीको परीक्षा सकिँदासम्ममा त निश्मालाई साइकल चलाउने भूत सवार भइसकेको थियो। त्यो भूत जगाउने काम मुड्खु भञ्ज्याङमा भेला हुने साइक्लिस्टहरूका रमाइला कुराले पनि गर्योक।
पछि-पछि त उनी मामाको साइकल लिएर साथिहरूसँग डुल्न निस्कने भइसकेकी थिइन्।
एसएलसीको रिजल्ट कुर्दाका तीन महिनामा निश्माले काठमाडौं, ललितपुर र भक्तपुरका गल्ली, खोच र अग्ला पहाडहरू छिचोलिसकेकी थिइन्।
‘मामाका साथीहरू भएकाले मलाई सबैले माया गरे। चलाउन सिकाए, टेक्निकहरूको विकास पनि हुँदै गयो। कतै साइक्लिङ जाँदा पनि बोलाउन थाले,’ निश्मा भन्छिन्, ‘काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न समूहले साइक्लिङको आयोजना गर्थे। म सबैतिर पुग्न पनि थालेँ।’
विस्तारै साइक्लिस्टसँग सङ्गत पनि बढ्न थाल्यो। साइक्लिङ गर्ने र पढ्ने कामसँगसँगै हुन थाल्यो।
२०१४ मा उनको प्लस टु पनि सकियो। त्यतिबेलासम्ममा निश्माको करियर नै साइक्लिङमा देख्नेहरूको जमात पनि बन्यो। उनले भने करिअरकै रूपमा लैजाने सोचेकी थिइनन्। तर निश्माको कौशललाई देखेर प्रेरणा दिने धरै निस्किए।
यता घरमा निश्माका बुबाले पनि आफ्नो लागि साइकल ल्याए। त्यो साइकल सधैँजसो निश्मासँगै हुन्थ्यो।
बुबाले 'साइकल चलाएरै करियर बना' त भनेनन्। तर अप्रत्यक्ष रूपमा सहयोग भने गरिरहे। निश्मामाथि कुनै पनि प्रश्न गरेनन्। आमाको त पहिल्यैदेखि साथ।
०००
प्लस टुको परीक्षा सकिएपछि पर्यटन व्यवसायीहरूको संस्था 'टान'ले इको च्यालेञ्ज आयोजना गर्ने भयो। खाली समय पनि थियो। निश्मालाई साथीहरूले पनि भाग लिन सुझाए।
‘र्याफ्टिङ, रनिङ, साइक्लिङमा भाग लिन हामी चार जाना साथीहरूको समूह बन्यो’, निश्मा भन्छिन्, ‘सबै जना साइक्लिङ गर्दा नै चिनजान भएकाहरू थियौं।’
टानले इको च्यालेञ्जमा टोखाबाट शिवपुरी गेटसम्म रनिङ, शिवपुरी गेटबाट सुन्दरीजलसम्म राइडिङ, सुन्दरीजलबाट गोकर्णेश्वरसम्म र्याफ्टिङ गर्नुपर्ने थियो।
साइक्लिस्टको रूपमा निश्माको पहिलो प्रतियोगिता, सहभागितामै सीमित भयो।
क्रस कन्ट्री अभ्यास गरिरहेकी निश्मालाई इको च्यालेञ्जमा सहभागिता मात्रमा खुम्चिन मन थिएन। सोही समयमा उनी डाउनहिल च्यालेञ्जमा स्वयंसेवक बन्न पुगेकी थिइन्। डाउनहिलले उनलाई आकर्षित गरिरहेको थियो।
२०१५ मा निश्माले डाउनहिल गर्ने साथीहरू पनि भेटिन्। उनीहरूसँग अभ्यासमा पनि हिँड्न थालिन्। सोही साल धरानमा 'सो डाउन धरान' रेस हुने भयो। निश्माले क्रस कन्ट्री रेसरको रूपमा भाग लिइन्।
‘धरानमा भएको खेल नै मेरो फर्स्ट इन्डिभिजुअल रेस थियो। हामी सात जना केटी थियौं,’ निश्मा भन्छिन्, ‘लक्ष्मी मगर दिदी नेपालको टप क्रस कन्ट्री रेसर हुनुहुन्थ्यो। सात जना केटीहरू थियौं। लक्ष्मी दिदी फर्स्ट हुनुभयो। म सेकेन्ड भएँ।’
निश्माको सफलताको सुरुवात यहीँबाट भयो। लगत्तै कुरिनटारमा रेस भयो। एपिएफ, आर्मी र विदेशी खेलाडी सहित ६ जना सहभागी थिए त्यहाँ। निश्मा त्यहाँ पनि सेकेण्ड भइन्।
निश्माको मनोबल उच्च हुँदै गयो। क्रसकन्ट्री खेलिरहँदा निश्मालाई उति मजा आएको थिएन। नेपालमा डाउनहिलमा महिला खेलाडी नै थिएनन्। सधैँ केटाहरूले मात्र खेलिरहेको निश्माले देख्थिन्।
२०१५ मा भूकम्प आयो। यही बेला निश्मासँग साइक्लिङ गर्न फिलिपिन्सको ६ जनाको टोली जोडियो। मनोरञ्जन अब करियरतर्फ बढ्छ कि भन्ने आश पलाउन थाल्यो निश्मालाई। उनी खेलमा परिपक्व हुँदै थिइन्।
उनको मनमा डाउनहिल खेल्ने रहर पनि पलाउँदै थियो। तर उनीसँग बुबाले किनेर ल्याएको साधारण साइकल मात्र थियो। यसमा अभ्यास गर्न पनि असहज थियो। यद्यपि, उनी लागिरहिन्।
‘साइक्लिङ जाँदा साथीहरू यति लाखको, उति लाखको साइकल भन्थे। आफू त हेर्ने मात्र हो,’ उनी भन्छिन्, ‘डाउनहिल खेल्नलाई पुग्ने साइकल भए त भन्ने मात्र थियो मनमा।’
निश्माले घरमा भन्न सकेकी थिइनन्। केही राष्ट्रिय प्रतियोगिताहरूमा आफूलाई सावित गरिसके पनि घरमा डिमाण्ड गर्न भने सकेकी थिइनन्।
निश्मालाई लाग्छ, साइक्लिङ महँगो खेल पनि हो। साइकल खेलको प्रकृतिअनुसार बन्छ। आफूले खेल्न खोजेको खेलका लागि चाहिने साइकल महँगो पर्न जान्छ। त्यसैले निश्माले बुबाकै साइकलले काम चलाइन्। तर त्यसले निश्मालाई पुग्दैनथ्यो।
२०१६ मा नेसनल गेमको हल्ला पनि सुरु भयो। साथीहरूले नेसनल गेम खेल्न सुझाए।
निश्मा साइक्लिङमै करियर देखेकी थिइन्। मौकाको सदुपयोग गर्न चाहिन्।
‘नेसनल गेममा सहभागी हुने हो भने म यति पैसा दिन्छु, म यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्न थाले साथी र दाइहरूले,’ निश्मा भन्छिन्, ‘कसैले पैसा कसैले खेल्नको लागि साइकल सबै दिने भए।’
साइक्लिस्ट दिपेश गर्तौला डाउनहिल साइक्लिङ गर्थे। उनैले निश्मालाई नेशनल गेम खेल्न आफ्नो साइकल दिने भए।
निश्मा २०१६ को नेश्नल गेममा पुरुषहरूसँग भिडिन्। ‘सबैले मलाई माया गरे। होल कम्युनिटीले नै मलाई अप्रिसिएट गर्योष,’ निश्मा भन्छिन्, ‘त्यसपछि त मलाई आँट पनि आयो। अब क्रस कन्ट्री मात्र होइन डाउनहिल पनि गर्ने हो।’
राम्रो प्रदर्शनको चर्चाले निश्मामा आँट बढायो। सोही साल भारतको मनालीमा रेस हुने भयो। निश्मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने तयारीमा थिइन्। तर समस्या घरबाटै सुरु भयो।
निश्माका बुबाले रेस खेल्न जान नदिने सोचे। उनी रोइकराइ गरिन्। अनि बल्ल बुबा साथैमा लागेर भारत गए। त्यहाँ त उनी एक्ली महिला डाउनहिल खेल्ने खेलाडी थिइन्। नेपालमा जस्तै त्यहाँ पनि क्याटेगोरी नै भएन निश्माको लागि। उनी पुरुषहरूसँग नै भिडिन्।
निश्मा सुरुमा निकै अन्तरमुखी थिइन्। खेलको विकाससँगै उनमा व्यक्तित्व विकास पनि हुँदै गयो। सन् २०१६ मा नै उनी १२ दिन सोलो ट्राभलमा निस्किइन्।
‘मलाई साइकलमा घुम्न मन लाग्छ। मजा लाग्छ। म मुस्ताङ साइकलमै गएँ,’ उनी भन्छिन्, ‘हिमालयन आउट डोर फेस्टिभलमा म विजेता बनेको थिएँ। उनीहरूले नै खर्च दिए। त्यसले मेरो खेल जीवनमा, व्यक्तित्व विकासमा पनि समस्याहरू फेस गर्न सहयोग गर्योि।’
लगतै २०१७ मा निश्माले एसिएन इन्डुरो सिरिज खेलिन्। नेपाल, थाइल्याण्ड, मलेसिया र ब्रुनाइमा हुने सिरिजका खेलमा पहिलो खेल नेपालमा भयो। त्यसमा निश्माको सभागिता मात्र रह्यो। इन्डुरो क्रस कन्ट्री र डाउनहिल दुवैको समिश्रण हो।
निश्मालाई इन्डुरोमा आफ्नो प्रदर्शन चित्त बुझेन। उनी आक्रामक तयारीमा लागिन्। साथै स्नातकको अध्ययन पनि चलिरहेको थियो। पब्लिक युथ क्याम्पसमा पर्यटन विषय पढिरहेकी निश्मालाई कलेजले पनि खेल्ने वातावरण बनाइदियो।
तर, आफूलाई इन्डुरो रेसर भन्न रुचाउने निश्माको परीक्षा र खेल एकै समयमा पर्थ्यो। ‘धेरै पटक मैले परीक्षा छाडेर खेल्न गएको छु,’ निश्मा भन्छिन्, ‘एसिएन इन्डुरो सिरिजमा समग्रमा हामीले सम्मानजनक स्थान नै हासिल गर्यौँ’। यता ब्याचलर्स पनि सकियो।’
निश्मा हाल मास्टर्स अध्ययन गर्ने तयारीमा छिन्।
०००
२०१९ निश्माका लागि स्मरणीय वर्ष रहन पुग्यो। २०१६ मा क्याटेगोरीमै नभएको डाउनहिलको २०१९ को साफमा क्याटेगोरी छुट्टियो।
निश्मालाई यो अवसरको प्रतीक्षा चार वर्षदेखि थियो। उनी नेपालकी पहिलो डाउनहिल रेसर मात्र बनिनन्। साफ च्याम्पियनसिपमा डाउनहिलतर्फबाट गोल्ड मेडल ल्याउने पहिलो महिला खेलाडी पनि बनिन्।
मनोरञ्जनको लागि सुरु भएको साइक्लिङ निश्माको करिअर बन्यो।
‘खेल्दै जाँदा मजा आयो। पहिलो साफ गेममै गोल्ड मेडल पनि आयो,’ निश्मा भन्छिन्, ‘तर, डाउनहिल खेल्ने महिला खेलाडी नै छैनन्। यो समस्याको विषय छ।’
डाउनहिल खेल्ने साइकल नै मँहगो पर्छ। साधारण साइकलमा खेल्दा बढी चोट लाग्ने सम्भावना हुन्छ।
निश्मा सम्झन्छिन् ‘फिलिपिन्सको साथीले उपहारमा मलाई डाउनहिलको साइकल दिएको थियो। त्यतिबेला मैले नेशनल गेममा गोल्ड मेडल ल्याइसकेको थिएँ।’
०००
साइक्लिङमा धेरै पुरुष छन्। महिला कमै छन्। यसमा घर-परिवार र समाजको दृष्टिकोणले भूमिका खेलेको निश्मा बताउँछिन्।
'परिवारले नराम्रो नभने पनि समाजले गाह्रो पार्छ। म विदेश खेल्न जाँदा एक्लै पनि जान्छु। धेरै जसो केटाहरूसँगै हुन्छु। समाजले तेरो छोरी के हो? कहाँ गई? फलानोसँग हिँड्छे भन्ने कुरा गर्दा रहेछन्’, उनले भनिन्।
आफ्नोअघि नभने पनि परिवारको कानमा यस्ता कुरा पर्दा परिवारलाई पनि सहज नहुने निश्माको अनुभव छ।
‘आवश्यक कुरामा मात्र समाजले प्रश्न गर्ने हो भने हाम्रो समाज नै अर्कै हुन्थ्यो’, निश्मा भन्छिन्, ‘महिलाप्रति हाम्रो समाजको चेतनास्तर यौनिकतामा गाँसियो। त्यसले सक्षम भएर पनि महिला अगाडि आउन सकिरहेका छैनन्।’
०००
मनले रोजेको खेलमा सरकारसँग निश्माको गुनासो भने छैन।
‘सरकारले केही गरिदिए राम्रो। तर गरेन भने पनि मलाई चाहिँ गुनासो छैन', उनी भन्छिन्, ‘मलाई सरकारले खेल भन्या पनि होइन। म आफैँले खेलेको हो। म यही खेलबाटै सक्षम हुन नसके पनि वैकल्पिक कामबाट सर्भाइभ हुन्छु। र, खेलिरहन्छु।’
निश्मा खेलको अफ सिजनमा पर्यटकलाई घुमाउने काम गर्छिन्।
खेलमा संघर्ष र विभेद-१: फुटबलर एञ्जिलाको प्रश्न- महिला र पुरुष खेलाडीको सुविधामा किन विभेद ?
‘आर्थिक रूपमा सबल हुन अरू काम गर्छु। खेल पनि खेल्छु। अरू जस्तो पलाएन हुन्न’, निश्मा भन्छिन्, ‘डाउनहिलमा म जस्ता धेरै महिला खेलाडी आउनुपर्छ। त्यसको लागि पनि म यहाँ टिकेर खेल्नुपर्छ।’
शारीरिक रूपमा कमजोर छु, समाजले कुरा काट्ला भन्ने भावनालाई हटाएर महिलाहरूलाई डाउनहिलमा आउन उनी अपिल गर्छिन्।
‘अभ्यासका लागि समय चाहिन्छ। यति बजेभित्र घर आउनु भनेर तोकेर हुँदैन। साथीभाइ हुन्छन्। उनीहरूसँग हिँड्दा गलत नजरले हेर्न भएन। आर्थिक रूपले सबल नहोला तर आफू सक्षम भयो भने समाज र परिवारले साथ दिन्छ। परिवारलाई विश्वासमा लिन गाह्रो छ। लिन सक्नुपर्छ’, निश्मा भन्छिन्, ‘खेलमा चोट आउँछ। सरकारले गर्छ वा कसैले गर्छ भनेर बस्नु हुँदैन। लड्नुपर्छ। केही पाउन जुध्नैपर्छ। रिस्क नभएको कुनै ठाँउ छैन। रिस्क लिनुपर्छ।’
निश्माले साइक्लिङ गर्दा निकै चोट भोगेकी छिन्। आफूलाई बलियो बनाउन नसके खेलमा लाग्ने चोटले करियर नै सकिने भएकाले यसमा ध्यान दिनुपर्ने उनी बताउँछिन्।
‘महिला सक्षम छन्। परिवारले साथ दिनपर्योन। आफैँले पनि वैकल्पिक सिप सिकिराख्नुपर्योा। कसले के भन्यो होइन, मैले के गरिरहेको छु भनेर आफूलाई नै नियाल्न पर्योन। समाज बदलिएन भनेर आफू पछि हट्ने होइन। आफू पनि बदलिनुपर्छ’, निश्मा भन्छिन्।
महिलामाथि हुने विभिन्न हिंसाले पनि खेलाडी उत्पादनमा समस्या भएको उनको ठम्याइ छ। साथै हिंसालाई चिर्न पछि पर्न नहुने पनि उनी बताउँछिन्।
पछिल्लो समय साइकल फेसन बनेको उनलाई लाग्छ। महँगो साइकलको होडबाजी चलेको छ। सडकमा धनी र गरिब छुट्याउने काम पनि साइकलले गरिरहेको जस्तो लाग्छ निश्मालाई।
खेलका लागि बनेका र दैनिक प्रयोगका लागि बनेका साइकल फरक हुन्। तर महँगो साइकल नभई खेल्न सकिँदैन भन्ने भ्रम चिर्न आवश्यक रहेको उनी ठान्छिन्। व्यापारीले आफ्नो व्यापार हेरेर साइक्लिङलाई धनीको मात्र खेल हो भन्ने धारणा स्थापित गराउन खोजेकोमा उनको आपत्ति छ।
खेल धनी र गरिबको, महिला र पुरुषको भन्ने हुँदैन तरिका र अनुशासनको हुन्छ भन्ने बुझाइ राख्छिन् निश्मा।
०००
‘खेलाडीलाई अनावश्यक प्रेसर दिने हाम्रो चलन छ। त्यो पनि घातक हो। खेल स्वास्थ्यको लागि हानिकारक हुँदैन। साइक्लिङमा भर्जिनिटी जान्छ भन्ने भ्रम छ। समस्या आउला भनेर धेरै डराएर पनि यस खेलमा आउन सकेका छैनन्। त्यस्तो केही हुँदैन’, निश्मा भन्छिन्।
अरूले अनावश्यक प्रेसर नदिने र खेलाडीले पनि नलिने बानीको विकास गर्नुपर्ने उनी बताउँछिन्। कोरोनापछि ठूला प्रतियोगिता खेल्न नपाएको अवस्थामा खेलाडीहरूको मानसिक अवस्थाबारे वास्ता नगरिँदा राम्रा खेलाडी पनि पलायन हुन सक्ने निश्माको चिन्ता छ। महिलालाई खेलमा आउन पारिवारिक, सामाजिक बन्धन तोड्नुपर्ने भएकाले मानसिक स्वास्थ्य सबल नभए यसले हानी गर्ने निश्मालाई लाग्छ।
अब आउने प्रतियोगिताहरूमा धेरै महिलाको सहभागिता रहोस् भन्ने चहाना छ निश्माको। लैङ्गिक असमानतालाई तोडेर सीप र क्षमताका आधारमा महिला अघि बढ्नुपर्छ, परिवार र समाज सचेत हुनुपर्छ भन्ने लाग्छ उनलाई।
फागुन २५, २०७८ बुधबार १६:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।