पितृसत्ता नै पितृसत्ताले थिचिएकाे 'नरेन्द्र दाइ'

पितृसत्ता नै पितृसत्ताले थिचिएकाे 'नरेन्द्र दाइ'

'नरेन्द्र दाइ' एक मनोवैज्ञानिक उपन्यास हो। यस उपन्यासका मुख्य पात्रहरू गौरी, नरेन्द्र दाइ, रमुनरीया हुन्। गौरी नरेन्द्रकी श्रीमती हुन् भने मुनरीया नरेन्द्रको घरमा काम गर्ने महिला हुन्।

उपन्यासमा नरेन्द्र दाइको प्रेम गौरीसँग नभएर मुनरीयासँग हुन्छ। यो उपन्यास वीपी कोइरालाले सुन्दरीजलको जेलमा बस्दा लेखेका हुन्।

उपन्यासको सुरुवात एकदमै मीठो भावना वाक्य लेखिएको छ, 'हरेक पीडा, हरेक भावना, हरेक आवेगमा एउटा चरण हुन्छ।'

यसै अंशले पुस्तकको अन्तिम सम्म तान्दै लैजान्छ। वीपिले आफ्नो उपन्यासलाई पनि यसै अनुरूप ढाल्दै लगेका छन्।

किन प्रेम गर्दैनन् नरेन्द्र दाइले गौरीलाई?
नरेन्द्र दाइ र गौरीको विवाह कसैले गराइदिएको हुन्छ। गौरी असाध्यै राम्री हुन्छिन् तर उनको शारीरिक विकास नभएको कारण नरेन्द्रले गौरीलाई प्रेम गर्दैनन् अथवा मन पराउँदैनन्।

एकफेर नरेन्द्रले घर छाड्दा गौरीले उनलाई पत्र लेखेकी हुन्छिन्। जसमा लेखिएको हुन्छ,  'के भनेर सम्बोधन गरूँ हजुरलाई? मैले हजुरको प्रेम पाइनँ, प्रिया हुन सकिनँ म। तर प्रेमको कुनै अपेक्षा नगरेर, के म आफ्नो तर्फबाट एकोहोरो प्रेम अर्पित गरेर हजुरलाई 'प्राणधार' भनेर बोलाउन पाउँदिनँ र? हृद्यले बारम्बार साउतीको स्वरमा यही सम्बोधनद्वारा हजुरलाई बोलाउने गरेको छ।
    
जतिजति हजुर मबाट टाढा हुँदै जानुभयो उतिउति म आफ्नो शारीरिक र मानसिक अपर्याप्तलाई पूरा गराउने प्रयत्नमा लागेँ। शरीर र बुद्धिलाई हजुरको योग्य बनाउन मैले के गरिनँ? पौष्टिक भोजन, लोभीको जस्तो स्वार्थी भएर दुध, घ्यू र मेवाहरूको सेवन गर्दै, निर्लज्ज भएर दिनभरि सिँगारपटारले आफूलाई राम्री पार्दै दिन प्रतिदिन म ऐनाको अगाडि उभिएर आफ्नो शरीरको विकासलाई हेरिरहन्थेँ। म हजुरको आँखाले यस शरीरलाई हेर्न खोज्थेँ। हजुरकी अर्धाङ्गिनी हुनका लागि पुस्तक हेर्न थाले। पढ्न थाले। गाना बजाना सिक्न थाले तर म हजुरबाट टाढा हुँदै गए।'

यस पुस्तकमा गौरीमा सबथोक भएर पनि उनको शारीरिक विकास नभएकै कारण नरेन्द्र उनीबाट टाढिइरहन्छ। समाजले पनि गौरीमै खोट देख्छ र भन्छ, 'मलाई नरेन्द्र दाइको दोष छ जस्तो पटक्कै लाग्दैन। लोग्नेमानिस जातैले हक्को हुन्छन्। उनले जातैले पाएको अधिकार हो आफ्नी स्वास्नीमा हिही….त्यसमा त्यो कुरा पाएन भने ऊ अर्कीलाई ल्याउँछ र झन् अर्की।'

यसरी गौरी सामाजिक र पारिवारिक रूपमा नरेन्द्रबाट टाढिँदै जान्छिन्। नरेन्द्रले मुनरीयालाई लिएर भाग्दा पनि गौरीले हिम्मत भने हारेकी हुँदिनन्। उनलाई तब पनि विश्वास हुन्छ कि एकदिन मेरो लागि नरेन्द्र फर्कनेछन्।

पितृसत्ता हावी
वीपी जुन परिवेशमा हुर्किए जुन समय अवधिमा यो पुस्तक लेखिएको थियो। सायद त्यो बेलाको सोच नै यस्तो थियो। वीपीको लेखनमा आधुनिकता नै नदेखिने भने होइन। तर यस पुस्तकमा भने पितृसत्ता हावी भएको छ। तर जे होस्। लेखकको आफ्नो अधिकार पनि हो आफ्नो कथाभित्रको पात्रलाई कसरी उभ्याउने।

गौरीलाई छाडेर मुनरीयालाई लिएर हिँडेका नरेन्द्रको जीवनमा प्रेमको वर्षा हुन्छ। घरमा श्रीमती हुँदा-हुँदै पनि उनी मुनरीयाको प्रेममा पागल भइरहेका हुन्छन्। यदि यस्तोमा कुनै महिला पात्रलाई आफ्नो कथाको पात्रमा नरेन्द्रलाई झैँ उभ्याइएको भए? के त्यो पुरुष गौरी जस्तै चुपचाप सहेर बस्थ्यो होला?

आफ्नो श्रीमानले प्रेम गर्दैन भन्ने थाहा हुँदा-हुँदै पनि उसको प्रेममा एकोहोरो पागल भएर बस्नु, चुपचाप सबै कुरा सहनु, त्यो बेलाको साहित्यमा पनि महिला पात्रलाई बलियो बनाउन वीपी चुकेका छन्।

के नरेन्द्रले गलत नै गरेका हुन्?
आफूलाई प्रेम गर्ने मान्छेलाई प्रेम नगरेर अधिकांश मान्छेको नजरमा नरेन्द्रले गलत नै गरेको भन्ने ठहरिन्छ। गौरीको नजरबाट हेर्न हो भने पनि नरेन्द्र गलत नै हुन्। यद्यपि कतिपयले नरेन्द्र सहि थिए पनि भन्छन्।

हाम्रो समाजकै कुरा गर्ने हो भने पनि त्यो बेला मात्र नभएर अहिले पनि वीपीले गलत नै गरेको भन्ने ठहरिन्छ। व्यक्तिगत जीवनभन्दा पर रहेर यौनलाई मात्र हेर्ने हो भने नरेन्द्र सहि देखिन पनि सक्छन्। तर, उनले गौरीमाथि भने अन्याय गरेकै देखिन्छ।

उनले गौरीमात्र होइन मुनरीया माथि पनि अन्याय गरेका छन्। उनको यौवन छउन्जेल उनको उपभोग गरे। पछि उनले मुनरीयालाई पनि प्रेम दिन सकेका छैनन्। बरू बुढेसकालमा आफू रोगी भएपछि उनी गौरी भएको ठाउँ फर्किन्छन्। उनले न त गौरीलाई प्रेम दिन सक्छन् न त मुनरीयालाई। यसर्थमा नरेन्द्र गलत देखिन्छन्।

अन्त्यमा, यो पुस्तक एक बालकको आँखाबाट लेखिएको छ। जो गौरीको देवर हुन्छन्। उनी यस उपन्यासको मुख्य नायक हुन्। उनकै मार्फत् कथा सुरू हुन्छ र अन्त्य हुन्छ।

अन्तिममा गौरी मात्र नभएर मुनरीयामा पनि एक रोग देखिन्छ। मुनरीयालाई नरेन्द्रले छाडेपछि उनी पनि एक हिसाबले मानसिक रोगी जस्तै हुन्छिन्। गौरी भएको ठाउँ आएपछि नरेन्द्र बित्छन् र उनमा पनि एक मानसिक रोग देखिन्छ।

मलाई वीपीको लेख्ने तरीका पात्र चलन सबै मनपर्छ। उनको कथामा साहित्यिक मिश्रण पाइन्छ। एउटै उपन्यासमा पारवारिक, सामाजिक र वैज्ञानिक कथा चाख्न पनि अबको पुस्ताले वीपीलाई पढ्न आवश्यक छ।

पुष १६, २०७९ शनिबार १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।