चार गुणा बढी संक्रामक छ चीन र भारतमा देखिएको कोरोनाकाे नयाँ भेरियन्ट, ‘बी एफ ७’

चार गुणा बढी संक्रामक छ चीन र भारतमा देखिएको कोरोनाकाे नयाँ भेरियन्ट, ‘बी एफ ७’

काठमाडाैं। छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बी एफ ७’ छोटो समयमा नै धेरै व्यक्तिमा संक्रमण गर्ने खालको रहेको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘बी एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरूमा सर्ने खालको रहेको जनाएको छ।

मन्त्रालयकाे इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले विभिन्न अध्ययनमा कोरोना भाइरसको अरू प्रजातिभन्दा सो प्रजातिले धेरै मानिसममा संक्रमण सार्ने देखिएकाे बताए।

उनका अनुसार ‘बी एफ ७’ ले अन्य भेरियन्टभन्दा तीन–चार गुणा बढी संक्रामक देखिएकाे छ। ‘चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ। भारतमा पाँच जनामा देखिएको छ’, उनले भने, ‘भारतमा देखिएकाले हामीले पनि सतर्कता अपनाउनुपर्दछ।’

नेपालमा भने ‘बी एफ ७’ नामको नयाँ भेरियन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ। एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘बी एफ ७’ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो। 

मन्त्रालयले नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल-भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ।

नेपालमा अहिले कोरोना भाइरसको संक्रमण घट्दै गइरहेको छ। हाल नेपालमा सक्रिय संक्रमित १० जना मात्र रहेका छन्।  

पुष १३, २०७९ बुधबार २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।