डाक्टरको चुनावमा डा. पौडेलको प्रतिबद्धता– दश वर्षमा घर र गाडी
काठमाडौं : माघमा हुने नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. सन्तोष पौडेल नेतृत्त्वको पेशागत समावेशी समूहले १० वर्षमा डाक्टरलाई घर र गाडीका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ।
डा. पौडेल समूहले मंगलबार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको अवधारणपत्रमा चिकित्सकको दश वर्षमा घर गाडिको व्यवस्थाका लागि पहल गर्ने बताएको छ।
पत्रमा भनिएको छ, ‘राज्यले दश वर्षसम्म देशभित्र निरन्तर सेवा दिने चिकित्सकलाई एक पटकलाई घर र गाडी कर्जामा विशेष सहुलियत प्रदान गर्न सम्भव छ, यसका लागि निरन्तर पहल गरिनेछ।’
त्यसैगरी एक चिकित्सक, एक स्वास्थ्य संस्था तत्काललाई स्वेच्छिक बनाएर क्रमशः पूर्ण रूपमा लागू गरिनुपर्ने र यस्तो व्यवस्थाले समग्र स्वास्थ्य प्रणाली सरकारी, सहकारी र निजि सबै संस्थामा हितकारी हुने डा. पौडेलको समूहले अवधारणा एजेन्डाको रूपमा उठाएको छ।
समग्र चिकित्सकको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन छुट्टै चिकित्सक सेवा ऐन बनाउन आवश्यक रहेको अवधारणा पत्रमा उल्लेख छ। चिकित्सकको तलब सुविधा अब्बल हुनुपर्ने र चिकित्सक लगायत सबै स्वास्थ्यकर्मीलाई २५ प्रतिशत हेजार्ड भक्ताको व्यवास्था गरिनुपर्ने अवधारणा पत्रमा उल्लेख छ।
चिकित्सकको वैज्ञानिक ड्युटी समय हुनुपर्ने संसारभरका अभ्यास भएकाले चिकित्सकलाई तोकिएको ड्युटीमा काम गर्ने र लामो ड्युटी आवरणपछि फोर्स लिभ (अनिवार्य विदा) दिने व्यवस्था गनुपर्ने र यसका लागि पहल गरिने डा. पौडेलले अवधारणपत्र सार्वजनिक कार्यक्रममा बताएका छन्।
नेपालको मेडिकल शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरी विदेशी विद्यार्थी आकषर्ण गर्न सकिने डा. पौडेल समूहको चुनावी एजेन्डा छ।
त्यसैगरी, नेपाल चिकित्सक संघको प्रदेश समिति गठन गर्ने र कार्यालय समेत सञ्चालन गर्ने, प्रदेश समितिलाई प्रदेश सरकारका नीतिगत तहमा प्रतिनिधित्व सुनिश्चित गराउने यो समूहको अवधारणा पत्रमा उल्लेख छ। सुरक्षित पेशा खुसी चिकित्सकको सपना साकार पार्ने पेशागत समावेशी समूहको चुनावी एजेन्डा हुन्।
अध्यक्षमा डा. पौडेल रहेको यो समूहमा उपाध्यक्षमा मधेश प्रदेशबाट महेश महासेठ, बागमतीबाट सञ्जय ठाकुर, गण्डकीबाट विकास गौचन र सुदूपश्चिमबाट निरज अर्याल उम्मेदवार छन्।
पेशागत समावेशी समूहबाट महासचिवको उम्मेदवारमा रक्षा श्रेष्ठ हुँदा सदस्यहरूमा अभियान गौतम, रामकृष्ण आचार्य, पदम नेपाली, रमेश श्रेष्ठ, स्मृति महत र सुरेन्द्र यादव रहेका छन्।
नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. अनिलबिक्रम कार्की, प्रगतिशील समूहबाट डा. पौडेल र स्वतन्त्रबाट डा. शिवजी विक्रम सिलवालबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ।
संघको केन्द्रीय कार्यकारिणी समितिमा एक जना अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सह कोषाध्यक्ष एक र ६ जना सदस्य गरी १९ जना रहने व्यवस्था छ।
संघको चुनाव काठमाडौं उपत्यका बाहिर माघ ६, ७ गते र उपत्यका भित्र १९, २०, २१ गते हुनेछ।
पुष १२, २०७९ मंगलबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।