कोरोनाविरुद्धको बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले बुस्टर डोज लगाउन आग्रह गरेको छ।मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी देश भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन्।

छिमेकी मुलुकमा देखिएको बीएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिनसक्ने भएकाले सजगता अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ। नेपालमा हालसम्म नयाँ प्रजातिको बीएफ–७ नामक भाइरस देखिएको छैन।

मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज लगाउन भनेको छ। सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ।

पन्ध्र लाख मात्रा खोप ल्याइँदै

मन्त्रालयका प्रवक्ता डा ठाकुरले १५ लाख मात्रा बुस्टर डोज खोप ल्याउन थालिएको जानकारी गराएका छन्। कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ।

अब १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो। यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ।

पुष १०, २०७९ आइतबार ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।