‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन’
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट नदेखिएको जनाएको छ।
बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले वीएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दियो।
सहप्रवक्ता डा. समीकुमार अधिकारीका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरियन्ट भने फेला परेको हो।
केही देशमा सङ्क्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको सूचनाम उल्लेख छ।
नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भए पनि विश्वव्यापी रूपमा हेर्दा केही देशहरूमा भने सङ्क्रमणको नयाँ स्वरूप बढिरहेकाले जोखिम रहेको मन्त्रालयले जनाएको छ।
कोभिड–१९ को सङ्क्रमणको जोखिम फरक स्वरूपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एक अर्काबीच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ।
पुष ७, २०७९ बिहीबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।