किन मेस्सीलाई कतारी राजाले सम्मानमा लगाइदिएकाे पहिरनमा पनि पश्चिमा मिडियाले जातियता थाेपरे?

किन मेस्सीलाई कतारी राजाले सम्मानमा लगाइदिएकाे पहिरनमा पनि पश्चिमा मिडियाले जातियता थाेपरे?

एजेन्सी। आइतबार फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकपकाे उपाधि उचाल्दा विश्वभरका कराेडाैं मानिसहरूकाे नजर कतारकाे लुसियल स्टेडियममा थियाे।

यस युगका महान् खेलाडी मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएपछि कतारका राजाले सम्मान स्वरुप मेस्सीलाई ‘बिश्त’ भनिने परम्परागत अरबी पहिरन लगाइदिए। याे क्षण भनेकाे कतारी राजाले मेस्सीप्रति देखाएकाे सम्मान थियाे।

तर धेरै पत्रकार र फुटबल पण्डितहरूले यसमा पनि जातियता र मुस्लिम धर्मकाे रंग देखे। ती तिनै पत्रकार थिए जसले कतार विश्वकप हुने तय भएकाे दिनदेखि नै यसकाे विराेध गरिरहेका थिए। यसले के देखाएकाे छ भने पश्चिमा मिडियाहरूकाे समाचार कक्षमा अझै पनि विविधताकाे कमी छ।

‘एउटा अचम्मकाे कार्य जसले विश्वकपकाे महत्वपूर्ण क्षणलाई बर्बाद पार्याे’ विश्वकपपछि ब्रिटिस पत्रिका, टेलिग्राफकाे हेडलाइन हाे याे। ‘वास्तवमै गम्भीर’ फक्स स्पाेर्टसले हेडलाइनबाट नै घाेषणा गरेकाे थियाे भने याहू स्पाेर्टसले त ‘अपमानजनक’ नै भनेकाे थियाे।

अन्य धेरैले पनि विश्वकपकाे याे क्षणलाई जातिवादी प्रतिक्रिया दिएका थिए। इएसपीनका सिनियर पत्रकार मार्क ओडेनले त के लेखे भने, ‘विश्वकपकाे सबै तस्विरहरू नै बर्बाद भयाे जब कसैले मेस्सीलाई त्याे पहिरन लगाइदियाे, लाग्थ्याे उनी कपाल काट्ने तयारीमा छन्।’

यस्तै, यसै सन्दर्भमा एम्बाप्पले फाइनल हार्नु राम्राे भएकाे अंकित गर्दै फुटबल टीभी प्रिजेन्टर डेन वाल्करले लेखे, ‘म ठाेकुवा गर्न सक्छु एम्बाप्पे सुनकाे किनारा भएकाे लुगा लाउन नपरेकाेमा खुसी छन्।’

अरब देशमा ‘अबा’ वा ‘अबाया’ काे नामले पनि चिनिने बिश्त पहिरन प्रतिष्ठा र सम्मानकाे प्रतिक हाे। हजाराैं वर्षदेखि अरबी समुदायमा लगाउँदै आइएको याे पहिरन विशेष अवसरमा मात्र, त्याे पनि उच्च धार्मिक व्यक्तित्व, राजनीतिक तथा सामुहिक नेताले मात्र लगाउने गर्छन्। यस पहिरानले उच्च सफलताकाे चिनारी दिन्छ।

कतार प्रमुखले याे पहिरन लगाइदिनु भनेकाे त अझ सायदै हुने राजकीय सम्मान हाे। याे त एक प्रकारकाे राज्याभिषेक जस्ताे हाे। 

फाइनलकाे जित अर्जेन्टिनकाे मात्र जित थिएन। याे उपाधिले मेस्सीलाई पनि सर्वकालिन महान् खेलाडीकाे दर्जा दिएकाे थियाे। याे विश्वकपसँगै मेस्सी किष्टियानाे राेनाल्डाेसँगकाे तुलनाभन्दा माथि उठेर पेले र म्याराडाेनाकाे तहमा पुगेका थिए।

सात पटकका बालाेन डी ओर विजेता मेस्सी अब फुटबलका सबै उपाधि जत्न सफल भएका थिए। यसैकाे सम्मानमा कतारी प्रमुखले उनलाई याे पहिरन लगाइदिएका थिए। विभिन्न देशमा आयाेजना हुने प्रतियाेगितामा खेलाडीहरूलाई उपाधिसँगै स्थानिय उपहार दिनु नाैलाे कुरा पनि हाेइन।

तर यसबारे ज्ञान नभएका पश्चिमा मिडियाहरूले यसलाई जातियता र धर्मसँग जाेडेर हेरे।

अरबमा भने बिश्त लगाएका अर्जेन्टिनाका कप्तान मेस्सीलाई धेरैले शेख मेस्सीकाे दर्जा दिएका छन्। याे सबै मेस्सीप्रति उनीहरूले देखाएकाे सद्भाव हाे, जसलाई मेस्सीले पनि सहजै स्विकारेका छन्।

(अलजजिरा डट कममा प्रकाशित अहमद तैजकाे लेखकाे आंशिक अनुवाद)

पुष ७, २०७९ बिहीबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।