गिरिजाप्रसाद जति पनि उदार भएनन् देउवा : संसदीय दलको नेता हुन भिड्दै छन् ४७ वर्षका गगनसँग
काठमाडौं : २८ वर्ष भयो देउवा पार्टीको संसदीय दलको नेता बनेको। उनको यात्रा प्रतिस्पर्धाबाट हैन सर्वसम्मत भएको थियो २०५१ मा।
यसबीचमा उनी सुशील कोइराला र रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गरेर पराजित भए। २०७४ मा प्रकाशमान सिंहलाई हराएका उनी २०७९ मा छोरा पुस्ताका गगन थापासँग प्रतिस्पर्धा गर्दैछन् संसदीय दलको नेता बन्न।
मंगलबार उनले संसदीय दलको नेताको उम्मेदवारी दर्ता गर्दा २०६४ मा जोसँग हारेका उनै रामचन्द्र पौडेल उनका प्रस्तावक बसे। समर्थकमा पूर्णबहादुर खड्का।
उता गगनको पक्षमा कांग्रेसका बलिया दुई युवा नेता उभिए विश्वप्रकाश शर्मा अनि प्रदीप पौडेल। एक पटक देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेर पराजित भएका प्रकाशमान सिंह औपचारिक रूपमा कतै खुलिसकेका छैनन्।
२०५१ मा सर्वसम्मत
२०४८ सालको संसदीय निर्वाचनमा कृष्णप्रसाद भट्टराईको पराजयसँगै तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई अनि सर्वमान्य नेता गणेशमान सिंहको प्रस्ताव र समर्थनमा गिरिजाप्रसाद कोइराला कांग्रेस संसदीय दलको नेता बनेका थिए। त्यो बेलामा देउवा प्रतिस्पर्धामै थिएनन्।
बहुमत प्राप्त सरकार भए पनि पार्टीभित्रको रडाकोले कोइराला मध्यावधिको निर्णयमा पुगे। २०५१ सालमा भएको मध्यावधिमा २०४८ को साख कायम रहेन। कांग्रेस ८३ सिटसहित प्रमुख प्रतिपक्षी दल बन्यो।
एमाले पहिलो दल भएकाले कांग्रेसबाट प्रधानमन्त्री हुने सम्भावना थिएन। कोइरालाले प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा काम गर्ने मौका दिए देउवालाई। उनी सर्वसम्मत संसदीय दलको नेता बने।
त्रिशङ्कु सरकारको खेलमा देउवाको भागमा प्रधानमन्त्री आइपुग्यो। कोइरालाले चाहेको भए संसदीय दलको नेताको पुन: निर्वाचन गराएर आफू नेता हुनसक्ने अंकगणित थियो नै। राष्ट्रिय प्रजातन्त्र पार्टीको एक समूहको समर्थनमा देउवा २०५२ मा पहिलो पटक प्रधानमन्त्री बने।
२०५६ सालको संसदीय निर्वाचनमा एकाएक कोइरालाले कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारे। निर्वाचनको परिणाममा त्यसको सकारात्मक असर पर्यो नै। ०५१ मा ८३ सिटमा खुम्चिएको कांग्रेस २०५६ मा १ सय ११ सिटसहित सरकार बनाउने हैसियतमा पुग्यो। भट्टराई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री भए।
तर, कोइरालाले भट्टराईलाई लामो समय प्रधानमन्त्री बन्न दिएनन्। पार्टीभित्र खेल सुरू भयो। भट्टराई राजीनामा दिन बाध्य भए अनि संसदीय दलको नेता बदल्दै कोइराला निर्वाचित भए र प्रधानमन्त्री पनि।
दरबार हत्याकाण्ड अनि चर्कँदै गएको माओवादी विद्रोहसँगै राजा ज्ञानेन्द्र शाह र कोइरालाबिच खटपट बढेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए। २०५८ साउन ७ गते काङ्ग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए।
यो बिचमा हुनु नहुनु सबै भए। सङ्कटकाल लाग्यो। संसद् विघटन भयो। ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सुरु गरे। सात दल र माओवादी मिलेर अगाडि बढाएको लोकतान्त्रिक आन्दोलनपछि खोसिएको शासन सत्ता जनप्रतिनिधिको हातमा आयो। कोइराला प्रधानमन्त्री भए।
२०६४ को संविधानसभा निर्वाचनपछि कोइरालाले संसदीय दलको नेता हुन इच्छा गरेनन्। उनको तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार बने। देउवा पौडेलसँग प्रतिस्पर्धामा उत्रिए र पराजित भए। पौडेल संसदीय दलको नेता भए पनि प्रधानमन्त्री हुन सकेनन्।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा सुशील कोइराला अगाडि सरे संसदीय दलको नेतामा। प्रतिस्पर्धी उनै देउवा। सुशील निर्वाचित भएर प्रधानमन्त्री बने। सुशील कोइरालाको निधनसँगै कांग्रेस नेतृत्वमा देउवा उदाए। उनले १३ औँ महाधिवेशन रामचन्द्र पौडेललाई पराजित गरे।
२०७४ को निर्वाचनसँगै कांग्रेस पुन प्रमुख प्रतिपक्षी दलमा खुम्चियो। संसदीय दलको नेताका लागि देउवा र प्रकाशमान सिंहबिच प्रतिष्पर्धाहुँदा देउवा विजयी भए। नेकपामा भएको विवाद र विग्रहले उनलाई पुन प्रधानमन्त्री पद आइलाग्यो।
पार्टीको १४ औँ महाधिवेशनमा देउवा पार्टी सभापति निर्वाचित भए। २०७९ को निर्वाचनमा बहुमत नल्याए पनि कांग्रेस पहिलो दल बन्यो। देउवा पुन प्रधानमन्त्री हुने प्रयासमा छन्। यसका लागि संसदीय दलको नेता हुन आवश्यक छ। त्यसका लागी उनी पार्टीका महामन्त्री गगन थापासँग बुधवार प्रतिस्पर्धा गर्दै छन्।
इतर समूह तितरबितर
१३ औँ महाधिवेशन अगाडिसम्म संस्थापन रहेको समूह अहिले संस्थापन इतर समूहमा रूपान्तरण भइसकेको छ। १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाबाट सुरु भएको इतर समूहको विभाजन १४ औँ महाधिवेशनमा आइपुग्दा धेरै टुक्रामा विभाजित भइसकेको छ।
१४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्न नपाएको झोकमा मतदान समेत गर्न नआएका रामचन्द्र पौडेल अहिले संस्थापन समूहमा विलय भइसकेका छन्। डा शशाङ्क कोइराला समेत संस्थापन इतर समूहमा छैनन्।
अर्का नेता प्रकाशमान सिंह आफ्नै समूह बनाएर बसेका छन्। संस्थापन इतरको ठुलो समूहको नेतृत्व गरिरहेका छन् डा शेखर कोइरालाले। उनी सभापतिमा पराजित भए पनि अहिले संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्ने तयारीमा थिए। तर गगनले पहिल्यै गरेको तयारीका कारण उनले अन्तिममा गगनलाई साथ दिए।
यस्तो छ अङ्क गणित
कांग्रेसमा प्रत्यक्ष र समानुपातिक गरेर ८९ सांसद छन्। संसदीय दलको नेता हुन दलभित्रको ५१ प्रतिशत मत आवश्यक पर्छ। जसले ४५ मत पाउन सक्छन् उनी नै संसदीय दलको नेता बन्दै सरकारमा पार्टीको प्रतिनिधित्व गर्नेछन्।
प्रधानमन्त्री अनि पार्टी सभापतिको रूपमा देउवा अङ्क गणितमा सहज अवस्थामा देखिन्छन्। पक्षमा न्यूनतम ५० सांसद रहेको देउवा समूहको निष्कर्ष छ। विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको साथले यता शेखर समूह ३२ को सङ्ख्यामा पुगेका छन्। प्रकाशमान सिंहसहितका सात सांसद कता खुल्छन् टुङ्गो छैन।
सात सांसद गगनको पक्षमा खुल्दा पनि संसदीय दलको नेता चयन हुन आवश्यक सङ्ख्या भने पुग्दैन। उनका लागि अहिले नखुलेका सांसद सहित थप सात सांसदको साथ चाहिन्छ। तर यो असम्भव भने देखिँदैन।
प्रत्यक्षमा निर्वाचित अधिकांश सांसदहरू शेखर र देउवा समूहका उम्मेदवारका रूपमा विजयी भएर आए पनि समानुपातिक सूचीबाट आएका सांसदहरू पार्टीभित्रको संस्थापन र संस्थापन इतर समूहको कठोर कित्ताकाटको प्रभावमा परिसकेका छैनन्।
गगनसँगै विश्वप्रकाश अनि प्रदीप समेत एकै समूहमा बस्दा पार्टीमा त्यसको सकारात्मक प्रभाव पक्कै पर्छ नै। त्यसले पार्टीको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा गगन-विश्व भनेर परेको प्रभाव समानुपातिक सांसदहरूको मनमा पनि पर्न सक्छ नै।
यदि उनीहरूको मन बदलिए बुधवार नेपाली काँग्रेसको संसदीय दलको नेता समेत बदलिन सक्छ।
पुष ५, २०७९ मंगलबार १८:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।