डाक्टरको चुनाव : कांग्रेस र एमालेबाट कार्की र पौडेल उठ्दा स्वतन्त्रबाट सिलवालको चुनौती

डाक्टरको चुनाव : कांग्रेस र एमालेबाट कार्की र पौडेल उठ्दा स्वतन्त्रबाट सिलवालको चुनौती

काठमाडौं : नेपाल चिकित्सक संघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी समूहबाट डा. अनिलविक्रम कार्की उठ्दा एमालेनिकट प्रगतिशील समूहबाट डा. सन्तोष पौडेलको उम्मेदवारी दर्ता गरेका छन्।

त्यसैगरी, डा. शिवजी विक्रम सिलवालले स्वतन्त्र उम्मेदवारी दिएर दुवैलाई चुनौती दिएका छन्। तीनै जनाले सोमबार संघको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रजातन्त्रवादी समूहबाट डा. भूपेन्द्रकुमार बस्नेत र डा. बद्री रिजालसमेत टिकटका आकांक्षी भए पनि कार्कीले बाजी मारे।

संघको निर्वाचन १६ वटा शाखा कार्यालयमा माघ ६ र ७ गते हुनेछ। केन्द्रीय कार्यालय, काठमाडौंमा भने माघ १९, २० र २१ गते हुने प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए।

संघको केन्द्रीय कार्यकारिणी समितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, एक सह-सचिव, एक कोषाध्यक्ष, एक सह–कोषाध्यक्ष र ६ सदस्यसहित १९ जना रहने व्यवस्था छ।

संघको निर्वाचनका लागि विभिन्न पदमा ४१ जनाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेशको उपाध्यक्ष, सह-सचिव र सह-कोषाध्यक्षमा भने एक–एक जनाको मात्रै उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्षमा संघका महासचिवसमेत रहेका डा. रिजालको मात्रै उम्मेदवारी पर्दा लुम्बिनी प्रदेशकाे उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ र कर्णाली प्रदेशकाे उपाध्यक्षमा डा. केशरबहादुर ढकालको मात्रै उम्मेदवारी परेको हो।

सह–सचिवमा डा. लिजन महर्जन र सह–कोषाध्यक्षमा डा. विक्रान्त ढकालबाहेक अन्यले उम्मेदवारी नदिएसँगै यी पाँच पदमा पदाधिकारीहरू निर्विरोध निर्वाचित हुनेछन्।

त्यसैगरी महासचिवमा डा. रक्षा श्रेष्ठ, डा. सञ्जीव तिवारी र डा. अमृत भुसालले उम्मेदवारी दिँदा कोषाध्यक्षमा भने डा. प्रमोद जोशी र डा. अञ्जना महर्जन प्रतिस्पर्धामा उत्रिएका छन्।

पुष ४, २०७९ सोमबार १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।