वीरगञ्जमा एकै गाउँका ९१ जनामा चिकेनपक्स संक्रमण पुष्टि

वीरगञ्जमा एकै गाउँका ९१ जनामा चिकेनपक्स संक्रमण पुष्टि

वीरगञ्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहाँमाका ९१ जनामा चिकेनपक्सको संक्रमण पुष्टि भएको छ।

दादुरा र रुबेलाको लक्षणसँग मिल्दोजुल्दो बिरामी देखिएको खबर आएसँगै महानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाबाट ल्याबसहित खटिएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा चिकेनपक्स पुष्टि भएको हो।

‘अठराहाँमा दादुरा र रुबेलाका बिरामी भेटिएको भन्ने खबर आयो,’ महानगरका जनस्वास्थ्य निरीक्षक सुनिल कुर्मीले भने, ‘महानगरको स्वास्थ्यकर्मीको टोलीले स्क्रिनिङ गर्दा चिकेनपक्स भएको खुल्यो।’ 

वडा नम्वर २६ को सुगौली स्वास्थ्यचौकीमा पछिल्लो केही दिनदेखि यस्ता बिरामीहरु उपचारका लागि आउने गरेका थिए। त्यस क्षेत्रमा आजसम्म ९१ जनामा यस्तो लक्षण भएकाहरू उपचारका लागि स्वास्थ्य चौकी आएको स्वास्थ्यचौकी इन्चार्ज पुजा गुरुङले जानकारी दिइन्।

७५ जनामा संक्रमण निको भइसकेको र बाँकी बिरामीको अवस्था पनि सामान्य रहेको उनले बताइन्।

विगतका वर्षमा छिटफुटमा देखिएको यो रोग यसपटक एकै ठाउँमा यति धेरै संख्यामा देखिँदा संक्रमणको त्रास बढेको छ।

चिकेनपक्स विशेषगरी २ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकामा देखिने गरेको भए पनि यहाँ भने जुनसुकै उमेर समूहका व्यक्तिमा देखिएको छ।

मंसिर २९, २०७९ बिहीबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।