सिचाइको पानीले पकाएको भोज खाँदा १ सय ३८ विरामी, सात जना अस्पतालमा

सिचाइको पानीले पकाएको भोज खाँदा १ सय ३८ विरामी, सात जना अस्पतालमा

काठमाडौं : पाल्पामा मङ्सिर १७ गते बिहेको भोज खाएर बिरामी परेकामध्ये सात जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उपचाररत सबैको स्वास्थ्य सामान्य रहेको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,‘हाल सात जना अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।’

पाल्पामा मङ्सिर १७ गते बिहे भोज खाएको करिब २४ घण्टापछि १ सय ३८ जनामा पेट दुख्ने, बान्ता आउने जस्ता लक्षण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार सिचाइका लागि प्रयोग हुने पानी खाना बनाउन र अन्य प्रयोजनका लागि प्रयोग गरिएको पाइएकाले पानीको नमुना जाँचको लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनीमा पठाइएको छ।

पाल्पा र प्युठान जिल्लास्थित स्वास्थ्य कार्यालयबाट उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरी जिल्ला अस्पतालमा उपचार गरिएको मन्त्रालयले जनाएको छ। सो टोलीले प्रभावित क्षेत्रका घरघरमा पुगेर पुनर्जलीय झोल (ओआरएस) वितरण गर्नुकासाथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको मन्त्रालयले जनाएको छ। 

मंसिर २१, २०७९ बुधबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।