बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

बुटवल : बुटवल उपमहानगरपालिकामा अक्सिजन सुविधा सहित २ वटा स्वास्थ्य केन्द्र बन्ने भएको छ। एसियाली विकास बैङ्कमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागतमा २ वटा अक्सिजन सुविधा सहितका स्वास्थ्य केन्द्र बन्न लागेका हुन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागी मङ्सिर ९ मा टेन्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताए।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्र स्थापना पछि बुटवलको स्वास्थ्य क्षेत्रमा थप इँटा थप्ने काम हुने दाबी गरे। उक्त केन्द्र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण हुनेछ।

‘बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी सहर बनाउन साना स्तरदेखि विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ्य केन्द्र निर्माणको काम अघि बढाएको हो’ नगरप्रमुख पाण्डेयले भने।

उनले उपचारका लागि बुटवलवासीले अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी भौतिक पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान दिएको बताए।

कोभिड १९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिन्डरसहितका बहुउद्देश्यीय स्वास्थ्य केन्द्र भवनको छिटै शिलान्यास गरिने उनले बताए। स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरू रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुनेछन्।

३–३ कट्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम छिटै सुरु हुने गरी प्रक्रिया अघि बढेको मझौला तथा साना सहरहरूमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलहरू मार्फत कोभिड १९ को रोकथाम र नियन्त्रण आयोजनाका कार्यक्रम संयोजक हरि प्रसाद शर्माले बताए।

मंसिर २१, २०७९ बुधबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।