चाँडै तिहार आउँदा खुसी हुन नसकेका कल्लाबारीका किसान

चाँडै तिहार आउँदा खुसी हुन नसकेका कल्लाबारीका किसान

काठमाडौं : स्वयम्भूबाट करिब ३ किलोमिटरको दुरीमा रहेको कल्लाबारी फूलैफूलले ढकमक्क छ।

नागार्जुन नगरपालिकामा अवस्थित यो गाउँलाई हेदा लाग्छ कुनै सुन्दर बगैंचा हो। तर, अचम्म त के भने, फूलहरू हाँस्दा पनि कल्लाबारीको किसानहरूको अनुहारमा हाँसो खिल्न सकेको छैन।

तिहार सकिएपछि फूल फुल्दा स्थानीयले यसबाट राम्रो आम्दानी गर्न सकेनन्। लगानी समेत उठ्न नसकेको स्थानीय किसान बताउँछन्।

‘तिहारका बेला फुलेको भए राम्रै कमाइ हुन्थ्यो, अहिले त लगानी पनि उठ्दैन,’ स्थानीय फूल किसानले भनिन्, ‘उतिबेला हुन्थ्यो भने एक ड्वाङ्गको ४ सय रूपैयाँसम्म पारिन्थ्यो, अहिले त सय रूपैयाँ पनि मुस्किलले दिन्छन्।’

उमेरले झन्डै ४० वर्ष कटेकी सुनमाया फूल खेती बाटै वर्षमा एक लाखभन्दा बढि आम्दानी गर्थिन्। तर, यसपाली फूल फुल्नुअघि नै तिहार आइदिँदा र निरन्तरको झरीले लगानीसमेत उठाउन पाइनन्। तिहारमा फुल्नुपर्ने फूल अहिले फुल्दा काग र बेलको उखानजस्तो भएको उनलाई।

१७ वर्षदेखि निरन्तर फूल खेती गरिरहेकी सुनमाया फूलखेतीसँगै चनाचटपट र चिया पनि बेच्छिन्।

‘मेरा परिवारले पनि फूल खेतीमा चासो देखाउँछन्। बाँचुन्जेल फूल खेती गर्न मन छ। फूलहरूसँगै रमाउन मन छ,’ उनी भन्छिन्, ‘तर, आवश्यक जग्गाजमिन, तालिम, जनशक्ति र बजार अभावले सीमित परिधिभित्र मात्र फूल खेती गर्न बाध्य छु।’

एउटा छोरो पोर्चुगलमा बसेर कमाइरहेको छ। अर्को तीन वर्ष जापान बसेर फर्केपछि फूल खेतीमै व्यस्त छ। श्रीमान् सरकारी जागिर खाएर पेन्सन पकाइसके। तर सुनमाया भन्छिन्, ‘जिन्दगीमा आनन्द कहिल्यै नहुने रहेछ।’

यस्तै, फूलको झोला बोकेर हिँडेका ५० वर्षीय भरत तामाङको पनि घरखर्च चलाउने मुख्य पेशा नै यही फूल खेती नै हो। दुई छोरा र दुई छोरीका पिता भरत फूल खेतीसँगै सागसब्जी र बाख्रापालन पनि गर्छन्।

आफ्ना पुर्खाले फूल खेती नै गरेको र आफूले यसलाई छोडेर अर्को पेशा अंगाल्न नसकेकोमा कहिलेकाहिँ उनलाई दुःख पनि लाग्छ।

‘फूल खेती खासै गाह्रो व्यवसाय होइन। यसलाई एकपल्ट रोपेपछि खासै स्याहारसुसार गर्न पर्दैन,’ उनले भने, ‘फूल खेती सकिएपछि त्यही जग्गामा अरू खेती पनि गर्न सकिन्छ, जुन फूल खेति जस्तो सजिलो हुँदैन।’

कल्लाबारीकै ४५ वर्षीया फूलखेती गर्ने किसान जुनमाया तामाङ यसपाली तिहार चाँडै आउँदा खुसी छैनन्। बेमौसममा फूल फुले पनि आफूहरूको खुसी फुल्न नसकेको उनी बताउछिन्।

‘बेमौसमी फूल त फूले, तर हाम्रो खुसी भने फुल्न सकेनन्’ फूलको डोको बोक्दै हिँडेकी उनले भनिन्, ‘सरकारले हाम्रा दुःख देखेन।’

देशमा वर्षेनी १५ देखि २० प्रतिशत फूलको माग बढ्दै गएको छ। प्रायः तिहारमा आन्तरिक उत्पादनले नपुगेर भारतबाट फूल आयात गरिएको छ। फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल (फान)का अनुसार मागको झन्डै ६५ प्रतिशत अर्थात् २६ करोड रूपैयाँको फूल भारतबाट आयात गरिन्छ।

नेपाल फूलमा आत्मनिर्भर हुने सम्भावना भए पनि सरकारले यस क्षेत्रलाई सम्बोधन गर्न नसकेको कल्लाबारीमा बाख्रा चराइरहेका अर्का किसान हेलबहादुर तामाङ बताउँछन्। फूल खेतीबाट किसानलाई भन्दा बढि फाइदा बिचौलियालाई भएको उनको भनाइ छ।

‘यहाँबाट एक सय रूपैयाँ ड्वाङमा किनेर पाँचसय रूपैयाँ ड्वाङमा बेच्छन् उनीहरू,’ उनले भने, ‘एसोसियसनको बारेमा थाहा छैन, खै हाम्रा नाममा को–को ले के–के चलाइराख्या छन्, हाम्लाई था छैन।’

घमाइलो कल्लाबारीलाई फूलै–फूलको गाउँमा रूपान्तरण गर्न सके यसले फूलमा आत्मनिर्भर बनाउनुका साथै आन्तरिक पर्यटकसमेत बढ्ने देखिन्छ। जसले थौरै भए पनि कल्लाबारीका स्थानीयको आयआर्जनमा मद्दत गर्छ।

करीब ५० घरधुरी रहेको कल्लाबारीका मुख्य बासिन्दा तामाङ रहेछन्। फूल खेती उनीहरूको पुस्तैनी पेशा रहेछ। उनीहरूलाई यस पेसाबाट विमुख हुन नदिनु सरकारको दायित्व हुनुपर्ने देखिन्छ।

मंसिर १२, २०७९ सोमबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।