रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्

रमा ढुङ्गानाको एउटा मात्रै पेसा छैन। उनी कहिले प्रौढ शिक्षा पढाउन जान्छिन्, त कहिले साना बालबालिका। कहिले सहकारीको पैसा उठाउन हिँड्छिन् त कहिले मानिसहरूको घरघर बिमा गर्दै हिँड्छिन्। मन्दिरमा भजन गाइरहेको अवस्थामा पनि भेटिन्छिन् उनी।

योगा पनि सिकाउँछिन्। धेरै पेसामा एकसाथ लागेकी उनी जीविकोपार्जनका लागि जिन्दगीले गराएको खेल खेलिरहेको महसुस गर्छिन्। उनै एक सन्तानकी आमा रमा ढुङ्गानाले उकेरासँग आफ्नो प्रसव पिडा र खुसी यसरी साँटिन्ः

OOO

मेरो बुबा ज्ञानप्रसाद ढुङ्गाना अहिले स्वर्गीय हुनुभयो। आमा हेमगंगा ढुङ्गाना उहाँकै आमा अर्थात् मेरी हजुरआमालाई स्याहार गरेर गाउँमा बस्नुहुन्छ।

मेरो जन्म कृषक परिवारमा भएको हो। परिवारको पहिलो सन्तान मै थिएँ। मामाघरमा मामा थिएनन्। ओखलढुङ्गा घरमा म जन्मिए पनि बुबाको अंशबन्डा भएपछि हामी मामाघर उदयपुरमा बस्न थाल्यौँ। झट्ट हेर्दा मेरी आमाले बुबा बिहे गरेर भित्र्याएजस्तो भयो।

उदयपुरका खोलानालामा मेरो बाल्यकाल बित्यो। मेरा ६ बहिनी र २ भाइ मामाघरमै जन्मिए। म केही बुझ्ने भएपछि मेरो परिवार मामाघरका परिवार साथमा लिएर बसाइँ सर्यो। हामी उदयपुरबाट सप्तरीको फत्तेपुर भन्ने ठाउँमा बसाइँ सर्यौँ।

परिवार मध्यम वर्गीय। छोरीलाई पढाउने चलन खासै नआए पनि मलाई भने परिवारले पढ्न पठायो। नौ कक्षा पढ्दै गर्दा १७ वर्षको उमेरमा विवाह भयो। इटहरीको केटोसँग मागी विवाह भएको थियो।

त्यो समयमा अहिलेजस्तो प्रेम विवाह गर्ने चलनै थिएन। त्यसैमाथि म त झन् सोझी। मनमा लागेको कुरा समेत खुलेर भन्न सक्दैनथेँ। २०४८ सालमा मेराे विवाह भयो।

मेरो श्रीमान् काठमाडौँमा जागिरे हुनुहुन्थ्यो। उहाँ राष्ट्र बैङ्कमा काम गर्नुहुन्थ्यो। पढेलेखेको राम्रो खानदानमा मेरो बिहे भएको थियो। बिहे अघि मैले पढ्न मन लागेसम्म पढ्न पाउने सर्त राखेकी थिएँ। उहाँहरूले स्वीकार गरेरै मलाई घर भित्र्याउनुभएको थियो।

बिहे गरेपछि श्रीमान् काठमाडौँ आए। म घरमा बन जङ्गल, दाउरा घाँसमा जिन्दगी बिताउन थालेँ। एसएलसी पास गर्न भने पाएँ भनौँ।

बिहे भएको पाँच वर्षपछि मेरो गर्भमा बच्चा आयो। अहिलेजस्तो फ्यामिली प्लानिङका कुरा त्यो समयमा कहाँ हुनु। श्रीमान् वर्षमा एक, कहिले दुई चोटि घर जानुहुन्थ्यो। श्रीमानसँग लाज मात्रै लाग्थ्यो। त्यसैमाथि सासू-ससुरा साथै भइरहने भएकाले पनि खुलेर गफ गर्नै पाइँदैनथ्यो। त्यसैले बच्चाबारे योजनै नबनाई म गर्भवती भएँ।

गर्भवती हुँदा एसएलसी पास गरेर आइए पहिलो वर्ष पढ्दै थिएँ। सामान्य पढेलेखेको भए पनि भोगेको विषय थिएन बच्चा जन्माउनु। सुरुमा महिनावारी रोकिँदा पनि गर्भवती भएँ भन्ने शङ्कै लागेन। बिस्तारै वाक्क वाक्क आउने, ज्यानमा असजिलो महसुस हुने भएपछि परिवारका अरू सदस्यले अनुमान लगाए म गर्भवती छु भनेर।

घरमा जँचाउन जान सबैले कर गर्नुभएको थियो। तर मलाई लाज लाग्यो, जानै मानिन।

जनता क्याम्पस इटहरीमा आइए पढ्थेँ। घरदेखि केही टाढा जानुपर्थ्यो। चार महिना हुँदासम्म पेट देखिन्थेन। त्यसैले पढ्न कहिलेकाहीँ जान्थेँ।

क्याम्पसमा साडी लगाउनुपर्थ्यो। त्यसैले पनि सजिलो भयो। इटहरीमा हेल्थ पोस्ट थियो। बच्चा पेटमा आएको चार महिनापछि कोही साथी नलिई सुटुक्क हेल्थ पोष्ट छिरेँ। त्यहाँ जँचाएर निस्केको त जे नहोस् भनेको त्यही भयो। गाउँकै चिनेको मानिससँग भेट भयो। उहाँले के भएर हेल्थ पोष्ट आयौ भनेर सोध्नुभयो। उत्तर दिएँ या दिइन याद छैन, तर लाजले म कुलेलम ठोकेको थिएँ। त्यो पछि म कहिल्यै जँचाउन गइन।

मलाई खान मन नलाग्ने भन्ने भएन। गर्भ बसेको भदौमा हो। असोज कात्तिकसम्म केही गाह्रो भए पनि त्यो पछि मलाई केही भएन। खाना मज्जासँग रुच्थ्यो। गाउँघरमा खाने भनेकै भात तरकारी न हो। त्यो बाहेक अरू केही पाइन्थेन। भात तरकारी खान मन नलाग्ने भन्ने भएन।

बच्चा पेटमा आए पनि अहिलेको जस्तो आराम गर्ने चलन थिएन। झनै काम बढ्थ्यो। घरको काम, बस्तुभाउ, खेतीपाती सबै सकेर सुत्केरी भएपछि गर्नुपर्ने कामहरू समेत पहिल्यै सक्काउनुपर्थ्यो। त्यसैले फुर्सत भन्ने कहिल्यै भएन।

त्यो समयमा श्रीमान्को अभाव भने खट्कन्थ्यो। सँगै भएको भए केही सहयोग गर्थे होलान् भन्ने लाग्थ्यो। तर उनी साथमा थिएनन्।

पेट बढ्दै गएपछि क्याम्पस जान बन्द गरेँ। त्योपछि पढ्ने फुर्सतै मिलेन।

आठ महिना पुगेपछि मैले जाँच नगराएको भनेर समाजमा डर देखाउँथे। सासूले त केही भन्नुहुन्थेन। अस्पतालै नदेखी ८–९ वटा सन्तान जन्माएकी सासूले अस्पताल जानुपर्छ भन्ने पनि सोच्नुभएन होला।

समाजमा सबैले कुरा गरेपछि एक जना नन्द पर्नेको साथ लगाएर ससुराले मलाई जँचाउन धरान अस्पताल पठाए। अस्पतालले एक महिनापछि आउनु भनेर पठायो। म फर्केर गइन। घरमै बच्चा जन्माएँ।

अनुभवी मानिसहरूले भनेको सुनेकी थिएँ, ढाँड दुख्छ, अनि पेट बिस्तारै दुख्दै निको हुँदै दुख्दै गरेर बेस्मारी दुख्छ। नभन्दै त्यस्तै लक्षण देखियो। नमिठो गरेर पेट दुख्ने, निको हुने हुन थाल्यो। दुई दिनसम्म यो क्रम चलिरह्यो। पेट दुखे पनि काम भने गरिरहेँ।

दुई दिनपछि सहनै नसक्ने गरेर पेट दुख्यो। नजिकै एउटा हेल्थपोष्ट थियो। बच्चा जन्माउन हेल्थपोष्ट जाने कुरा भयो। झन्डै आधा घण्टा हिँडेर त्यहाँ पुग्दा महिला स्वयंसेवक हुनुहुँदो रहेनछ, पुरुष रहेछन्। पुरुषबाट के बच्चा जन्माउनु भनेर फेरि घरै फर्केर आयौँ।

घरमै थारु सुँडेनीले मेरो बच्चा जन्माइदिइन्। पेटमा केही समय मसारमुसुर पारिदिएकी थिइन्, पिडा धेरै भए पनि बच्चा जन्माइदिइहालिन्। 

पेट खाली भएर भोक लाग्यो। एक माना चामलको भातमा घिउ हालेर ग्वाम्म ग्वाम्म खाएँ र सुतेँ। २०५४ सालमा मैले मेरो एउटा मात्रै सन्तान छोरी जन्माएँ।

बच्चा जन्मेको केही समयपछि मलाई गाउँमा बस्न मन लागेन। श्रीमानसँगै काठमाडौँ आउन खोज्दा ल्याउनै चाहनुभएन। पछि पो थाहा पाएँ, उहाँले काठमाडौँमा अर्को घरजम गरेर बस्नुभएको रहेछ। 

यो सुनेर सुरुमा त स्वीकार गर्नै गाह्रो भयो। आफैलाई हीनताबोध भयो।  श्रीमानले काठमाडौँ नल्याएपछि म सहरमा बस्छु, आफै काम गरेर छोरी पाल्छु भनेर काठमाडौं आएँ।  

बजारमा गएर गार्मेन्ट फ्याक्ट्रीमा काम गरेँ। छोरी र म पालिन पुग्ने पैसा कमाउँथेँ। मैले सासू ससुरा नहेरेपछि त्यहाँको सबै बेचेर काठमाडौँ जाने कुरा भएछ। फेरि मलाई यतै ल्याए।

काठमाडौँमा घर त थियो तर पैसा थिएन। कामका लागि धेरै ठाउँ घुमे, कतै पाइएन। संयोगबस् एक जना समाजसेवी दिदीसँग भेट भयो। उहाँले नै २० जना महिला जम्मा पारे प्रौढ शिक्षा पढाउन पाइन्छ भन्नुभयो।

मैले २० जना महिला भेला पारेँ, स्कुलसँग कुरा गरेर पढाउने विद्यालयको व्यवस्था पनि मिलाएँ। यसरी पढाए बापत मैले महिनामा ३ हजार कमाइ गर्थेँ।

मेरो मेहनत देखेर एसओएस बालग्राम भन्ने संस्थाले अनाथ बालबालिका पढाउने जिम्मा दियो। यसरी मेरो व्यस्तता बढ्दै गयो।

आजभोलि एक सहकारीमा मार्केटिङको काम गर्छु। बिहान योगा सिकाउँछ, बेलुकी मन्दिरतिर भजन गाउँछु। दुख सुख जिन्दगी बितिरहेको छ।

छोरी वीर अस्पतालमा नर्सिङ पढ्दै छिन्। घरमा आमा छोरी मात्रै बस्छौँ। 

यो पनि

मंसिर ११, २०७९ आइतबार २०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।