मध्यविन्दु नगरपालिकाले सञ्चालनमा ल्यायो स्तनपान कक्ष

मध्यविन्दु नगरपालिकाले सञ्चालनमा ल्यायो स्तनपान कक्ष

नवलपरासी (बर्दघाट–सुस्तापूर्व): जिल्लाको मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ। नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।

नगरपालिकाभित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए।

“यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरूले आफ्नो शिशुलाई सुरक्षित रूपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु परेको थियो”, नगरप्रमुख अधिकारीले भने, “स्तनपान कक्षको निर्माणपछि अब भने शिशु र आमा दुवैलाई सहज हुन्छ।”

नगरपालिकामा सेवा लिन आउने आमाहरूले सार्वजनिक रूपमा आफ्ना बालबालीकालाई स्तनपान गराउन अप्ठ्यारो भएको महसुस गरिएपछि नगरपालिकाले स्तनपान कक्ष निर्माण गरेको अधिकारीको भनाइ छ। 

नगरपालिकामा निर्माण गरिएको स्तनपान कक्षमा बिछ्यौनासहितको शय्या, शिशुलाई सुताउने झोलुङ्गो, आमाको हात सफा गर्नका लागि साबुनपानीलगायतको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ।

२९ असोज, २०७९, ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।