श्रमिकका सकस, भन्छन्– ‘उपचार गरेको ऋण तिर्न सकेको छैन, कसरी दशैं मनाउनु ?’

श्रमिकका सकस, भन्छन्– ‘उपचार गरेको ऋण तिर्न सकेको छैन, कसरी दशैं मनाउनु ?’

पोखरा : स्याङ्जाको वालिङ नगरपालिका घर भएर पोखरामा सात वर्षदेखि मजदुरी गरिरहेका रेशम विकलाई यसपालि दशैं लागेन। पोखरामा लोडअनलोडसँगै प्लास्टिक र कागज संकलन गरेर जीविकोपार्जन गर्दै आएका विकले रकम जोहो गर्न नसक्दा घर जान नसकेका हुन्।

मजदुरी गरेर कमाएको पैसा बचत नहुँदा परिवारसँगै बसेर दशैं मनाउन उनले पाएनन्। कागज संकलन गरी किलोको भाउमा बेचेर गुजारा गर्दै आएका विक तीन महिनाअघि टाइफाइट भएर एक महिना अस्पताल बस्दा लिएको ऋणसमेत तिर्न सकेका छैनन्।

‘अस्पतालमा भर्ना हुदा लागेको ऋण तिरेकै छैन, फेरि दशैं आइसक्यो,’ उनले भने, ‘आउजाउको भाडा र दशैंखर्च नभएकाले घर जान सकिएन। गाडी भाडा, लत्ताकपडा, मासु किन्ने लगायतका खर्चको जोहो हुन सकेन, यसपाली परिवारमा खासै खुसीयाली छाउने छैन।’

यसपाली पोखरामै पुरानो कपडा धोएर दशैं मनाउने सोचमा रहेका उनी अर्को वर्ष भने खर्चले पुगे गाउँ गएर परिवारसँग खुसी साट्ने बताउँछन्। टाइफाइड निको भएपछि पुनः एक साता भाइरल ज्वरोका कारण कागज, प्लास्टिक संकलन गरेर जम्मा गरेको तीन हजार खर्च भएको उनले सुनाए।

यस्तै, ओखलढुङगाका शेरबहादुर मगरको अवस्था पनि उस्तै छ। पोखराको पृथ्वीचोक, सिर्जनाचोक, नयाँबजार लगायतका ठाउँहरूमा पुगेर प्लास्टिकसहित कागजजन्य फोहर संकलनको काम गर्दै आएका उनलाई पनि यसपाली दशैंले छोएन।

बढ्दो महंगीले दिनभरी कमाएको पैसा विहानबेलुकाको छाक टार्न ठिक्क भएकाले खर्च अभावमा घर जान नसकेको उनले बताए।

‘पोखरामा बढ्दो महंगीले दिनभरी कमाएको पैसा साँझ बिहानको हातमुख जोड्दै खर्च हुन्छ, एक पैसा बच्दैन,’ उनले भने, ‘आम्दानी हुनेलाई पो दशैं, हामी जस्ता गरिबलाई दशा हो।’

घर जाँदा ५० देखि ६० हजार जोहो गर्नुपर्ने र त्यति धेरै रकम आफूसँग भएकाले घर नगएको उनी बताउँछन्। महंगीले बजार चुलिएकाले सामान्य किनकानमा ठूलो रकम आवश्यक पर्ने भन्दै उनले भने, ‘चाडपर्वमा एकजोडी लत्ताकपडा किन्ने र मिठोमसिनो खाने सबैको इच्छा हुन्छ नै, त्यसकै जोहो गर्न पनि ठुलो रकम खर्चिनुपर्ने अवस्था छ।’

विक र मगरजस्तै पर्वतकी माया क्षेत्रीको अवस्था पनि उस्तै छ। पाँच वर्षदेखि सडकमा डुलेर फलपूmल व्यापार गर्दै आएकी उनले यसपटक कमाइ राम्रो नभएको बताइन्। बजारको महंगीका कारण कमाएको पैसा बालबच्चाको खर्च, कोठाभाडा, घरखर्चमै ठिक्क भएकाले दशैंमा खर्च गर्ने पैसा नभएको उनी बताउँछिन्।

‘गाउँ जाँदा लत्ताकपडा, खाद्यान्न किनकानमा धेरै रकम चाहियो, त्यतिले मात्र पुग्ने होइन। दानदक्षिणा, खसी लगायतका सामाग्रीको किनकान गर्दा आधा लाख चाहिन्छ,’ उनले भनिन्, ‘हामी सानो व्यवसाय गरेर जीवन चलाउनेले त्यति धेरै पैसा कहाँबाट ल्याउनु, पैसा नभएपछि घर जाने अवस्था छैन, मेरो समस्या बच्चा र आफन्तले बुझदैनन्।’

दशैं मनाउन जम्मा गरेको अलि–अलि जम्मा गरेको रकम पनि छोरीलाई डेंगु संक्रमण भएर एक साता अस्पताल भर्ना गर्दा सकिएको बताइन्।

‘अलि–अलि जम्मा गरेको पैसा छोरी विरामी भएर खर्च गरेँ, साथमा २÷४ हजार पनि छैन,’ उनले भनिन्, ‘त्यो पैसा गाउँ जान गाडी भाडा तिर्न ठिक्क हुन्छ, अनि कसरी दशैं मनाउन गाउँ जाने?’

१७ असोज, २०७९, २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।