राष्ट्रपतिपछि राजनीतिमा कुदे उपराष्ट्रपति, भण्डारीलाई सम्झाए संवैधानिक प्रावधान

राष्ट्रपतिपछि राजनीतिमा कुदे उपराष्ट्रपति, भण्डारीलाई सम्झाए संवैधानिक प्रावधान

काठमाडौँ : संवैधानिक प्रावधान अनुसार नागरिकता विधेयक जारी नगरेर संवैधानिक प्रावधान नाघ्दा अहिले राष्ट्रपति विद्यादेवी भण्डारी आलोचनाको केन्द्रमा छिन्। राष्ट्रपतिविरुद्ध सरकारमा रहेका चार दलका शीर्ष नेताहरूले विज्ञप्ति जारी गरे। जसमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले समेत राष्ट्रपति विरुद्ध जारी भएको विज्ञप्तिमा हस्ताक्षर गरे।

राष्ट्रपति भण्डारीले संवैधानिक प्रावधान मिचेर कुनै दल विशेषको स्वार्थमा काम गरेर राजनीति गरेको भन्दै आलोचना भइरहेको बेलामा उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञप्ति निकालेर उनी पनि राजनीतिमा हाम फालेका छन्।

उनले विज्ञप्तिमा नरम भाषा प्रयोग गर्दै' संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन' भन्दै राष्ट्रपति भण्डारीलाई' संविधान दिवसमा गरेको प्रतिबद्धता' सम्झाएका छन्।

आफ्नो कार्यालयमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर दोस्रो पटक आएको नागरिकता विधेयक संवैधानिक प्रावधान अनुसार १५ दिनभित्र जारी नगरेर राष्ट्रपति भण्डारी संवैधानिक प्रावधान बाहिर निस्किएपछि विधेयकको पक्षमा रहेकाहरूले आलोचना गरिरहेका छन्।

पहिलो पटक दुवै सदनबाट पारित भएर आएको विधेयक पुनर्विचार गर्न पुन दुवै सदनमा फिर्ता पठाउनु संवैधानिक भए पनि पुन दोस्रो पटक आएको उही विधेयक रोक्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन। यसमा राष्ट्रपति कार्यालयले वर्तमान संसदनै नभएकाले पारित गर्नुको अर्थ नहुने तर्क गरिरहेको छ।

५ असोज, २०७९, १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।