कर छुटै दिँदैमा बिते बुटवलका मेयरका सय दिन, उपलब्धी सुनाउने दिनकै कार्यक्रममा विवाद

कर छुटै दिँदैमा बिते बुटवलका मेयरका सय दिन, उपलब्धी सुनाउने दिनकै कार्यक्रममा विवाद

बुटवलः बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले शुक्रबार कार्यकालको एक सय दिनमा गरेका कामको फेरियस्त सार्वजनिक गरे।

जेठ ९ गते पदभार ग्रहण गरेका पाण्डेले विभिन्न शीर्षकमा कर घटाउने निर्णयदेखि मुख्य सडक निर्माणका क्रममा गरिने अनुगमन र सहजीकरणलाई उपमहानगरले उपलब्धी ठानेका छन्।

पाण्डेले सार्वजनिक गरेका एक सय दिने उपलब्धीमा मुलतः कार्यको थालनी भएको विवरण उल्लेख छ। चालु आर्थिक वर्षका लागि सम्पत्ति कर र घरबहाल करमा १० प्रतिशत छुट, ईरिक्सा, हाटबजार बैठकी करमा १० देखि १८ प्रतिशत सम्म छुट दिएको विषय उपलब्धीको सूचीमा राखेका छन्।

यस्तै, राजमार्ग चौराहदेखि चिडियाखोलासम्म सडक निर्माण कार्य समयमा सम्पन्न नहुँदा घरधनीले भोग्नुपरेको कठिनाइका कारण व्यवसायीलाई व्यवसाय करमा ५० प्रतिशत छुट, ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरूमा सम्पत्ति कर अशुली गर्दा सम्पत्ति मूल्याङ्कनमा ७५ प्रतिशत छुट, नागरिकता, अपाङ्गता, ज्येष्ठ नागरिक परिचयपत्र सहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरेको विषय पनि उपलब्धीको सूचीमा छ।

बुटवल १५ मा व्यवस्थित कृषि बजार केन्द्र स्थापनाका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको, आम्दा अस्पतालमा प्रवीणता प्रमाण पत्र तहको नर्सिङ अध्यायनका लागि प्रक्रिया अगाडि बढाइएको, बुटवल टेक्निकल ईनिस्टच्युटमा सिभिल ईन्जिनियरिङ तर्फ स्नातक तहको अध्यानका लागि प्रक्रिया अगाडि बढाइएको विषय पनि सय दिने उपलब्धीमा छन्।

त्यसैगरी, बहुतले पार्किङ भवन निर्माणको प्रक्रिया थालिएको, बुटवल १६ मा कृषि विज्ञान कलेज स्थापनाको प्रक्रिया अगाडि बढेको, जलस्रोत नीति तर्जुमाका लागि कार्यदल गठन, ईरिक्सा व्यवस्थापन अध्यायनका लागि समिति गठन, अव्यवस्थित बसोबासीका लागि जग्गा प्रदान गर्न नापजाँचको काम सुरु लगायतका विषय पनि सूचीमा छन्।

लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र सेमलार बर्थिङ सेन्टरमा जन्मिएका नवजात शिशु र आमाको परिवारलाई २५ सय रूपैयाँ पोषण खर्च दिने कार्य बुटवलमा नयाँ भएको भन्दै नगरप्रमुख पाण्डेले उपलब्धीको रूपमा लिएका छन्।

विवाद पनि उत्तिकै
अधिकारभित्रै नपर्ने सडक बनाउँछु भनेर निर्वाचनमा प्रचारबाजी गरेका उपमहानगर प्रमुख पाण्डे सडक निर्माणमा ठेकेदारले काम नगर्दा विवादित बने। अध्ययनविना बोलेको भन्दै उनीप्रति अहिले कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ।

संघले बनाएको सडकमा सुरुवाती चरणमा काम हुँदा जस लिन होडबाजी गरेका उनले बुटवल मण्डपलाई ‘गिरिजाप्रसाद कोइराला’ मण्डपमा नामाकरण गर्ने निर्णय गरेपछि थप विवादित बने।

यतिमात्र होइन, सय दिनको उपलब्धी सार्वजनिक गर्ने क्रममा शुक्रबार मात्र शिल्यानास भएको बुटवलको देवीनगर स्थित प्रगतिनगरमा बन्ने पार्क निर्माणमा पनि उनी विवादित बने।

बुटवल–११ मा निर्माण हुने पार्कमा कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्व नगरप्रमुख स्व. सूर्यप्रसाद प्रधानको शालिक रहने पक्का भएको हो। तर, यसमा एमालेले विरोध गरेको छ।

विरोधस्वरूप शिलान्याश कार्यक्रममा एमालेबाट निर्वाचित उपप्रमुख सावित्रादेवी अर्याल र सोही वडाका वडाध्यक्ष रामचन्द्र क्षेत्रीसहित अन्य जनप्रतिनिधिले कार्यक्रम नै बहिस्कार गरे। वडामा सुरु हुन लागेको कार्यक्रममा वडालाई नै बेवास्था गरिएको भन्दै वडाध्यक्ष क्षेत्री असन्तुष्ट भए।

कार्यपालिकाको जेठ २५ गतेको बैठकले ५० लाख रूपैयाँ बजेट विनियोजन गरेर वीपी कोइराला र पुष्पलाल स्मृति पार्क बनाउने निर्णय भए पनि पूर्व मेयर सुर्यलाल प्रधानको नाम प्रमुख पाण्डेले एकपक्षीय रूपमा थपिएको भन्दै एमालेले कार्यक्रम नै बहिस्कार गरेको हो।

पूर्व जनप्रतिनिधि र दलका लागि सम्पर्क कक्ष
एक सय दिन पूरा भएको अवसरमा उपमहानगरले पूर्वजनप्रतिनिधि र दलहरूका लागि सम्पर्क कक्ष स्थापना गरेको छ।

सम्पर्क कक्षको उद्घान गर्दै प्रमुख पाण्डेले उपमहानगरलाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपविजेताहरूका लागि सम्पर्क कक्ष स्थापना गरिएको बताए।

सम्पर्क कक्षमा आउन र नगरसँग सम्बन्धित कार्यहरू सोही कक्षबाट गर्नका लागि पूर्व जनप्रतिनिधि, उपविजेता र राजनीतिक दलहरुलाई उनले आह्वान गरे।

१७ भदौ, २०७९, १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।