डा.भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै, मूल्य २५ हजार रूपैयाँ
काठमाडौं : मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करणको मूल्य २५ हजार रूपैयाँ पर्ने भएको छ।
डा. कोइरालाले बिहीबार पत्रकार सम्मेलन गर्दै पुस्तकको विशेष संस्करण भदौ अन्तिम साता बजारमा आउने भन्दै मूल्यबारे जानकारी दिएका हुन्।
‘विशेष सीमित संस्करण भनेर अहिले २५ सय प्रति मात्र छापिएको छ,’ उनले भने, ‘जसको अङ्कित मूल्य २५ हजार रुपैयाँ रहेको छ।’
विशेष संस्करणलाई डा. कोइराला आफैँले प्रत्येक पुस्तकमा क्रमसंख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन्।
पत्रकार सम्मेलनमा कोइरालाले काठमाडौंमा ‘काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थ’ विशिष्टिकृत बाल अस्पतालका रूपमा निमार्णाधीन रहेको जानकारी दिँदै त्यसको पहिलो शाखा झापाको दमक निर्माण भइरहेको जानकारी दिए।
यस्ता अस्पताल सातै प्रदेशमा विस्तार गर्नका लागि प्रकाशक फाइनप्रिन्टले ‘हृदय’को विशेष संस्करण ल्याउन लागेको उनको भनाइ छ।
विशेष संस्करण निस्किएको एक सातापछि पुस्तकको नियमित संस्करण पनि निस्कने छ। यसको मूल्य भने पाँच सय ७५ रुपैयाँ तोकिने कोइरालाले जानकारी दिए। नियमित संस्करणको बिक्रीपछि आउने रकमको ५० प्रतिशत लेखकस्व पनि अस्पताललाई दिइने उनले बताए।
डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई विश्लेषणात्मक धारणासहितमा पुस्तक समेटिएको बताएका छन्।
भदौ १२, २०७९ आइतबार २०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।