आमाले चितुवाको मुखबाट बचाएका बालकको शल्यक्रिया सफल
काठमाडौं: चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको शल्यक्रिया सफल भएको छ। हाल उनको स्वास्थ्य स्थितिमा सुधार आएको छ।
तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। चितुवाले च्यापेर उनलाई लगेपछि उनकी आमा लक्ष्मी परियारले सुलभलाई बचाएकी थिइन्।
सुलभलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज लगिएको थियो। अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएकोे जानकारी दिए।
बालकको घाँटीमा गम्भीर चोट लागेको थियो। “श्वासनली र रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण बालकलाई बचाउन सकिएको हो” लम्सालले भने, “चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुखजस्ता महत्वपूर्ण अङ्ग क्षति हुनबाट जोगिएको रहेछ , श्वासनली र घाँटी हुँदै रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको हो।”
चिकित्सकहरू सुरेशराज शर्मा, सुमित अधिकारी र नवीनकृष्ण यादव शल्यक्रिया संलग्न थिए। उनीहरूका अनुसार बालकको घाँटीमा मल्टिपलपञ्चर (ठाउँ–ठाउँमा गहिरो चोट परेको र मासुसमेत च्यातिएको) थियो। देव्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाइएको छ भने घाँटीको शल्यक्रिया गरिएको छ।
भदौ १२, २०७९ आइतबार १३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।