गायिका सोमाको प्रसव पीडा र खुसी : मरेको बच्चा दुई महिनासम्म पेटमा बोकें

गायिका सोमाको प्रसव पीडा र खुसी : मरेको बच्चा दुई महिनासम्म पेटमा बोकें

सोमा खत्री समाजसेवी, गायिका तथा लेखक हुन्।  झण्डै ३ दशक समाजसेवामा बिताइसकेकी सोमा अहिले 'समुन्नत महिला मञ्च नेपाल'को अध्यक्ष छिन्। पाठेघर तथा स्तन क्यानसरबारे जनचेतना फैलाउँदै हिँड्छिन् उनी।

महिला हिंसाको मुद्दामा समेत आवाज उठाउने उनको मुख्य उद्देश्य भने समयमै ज्ञान पाए महिला स्तन तथा पाठेघर क्यानसरका कारण मर्नु पर्दैन भन्ने हो। त्यसैले नेपालभर विभिन्न वडाहरुमा उनले महिलालाई यस सम्बन्धी जनचेतना फैलाइसकेकी छन्।

उनले विभिन्न जनचेतनामुलक गीतमा आवाज समेत दिइसकेकी छिन्। उनका केही गीत युट्युबमा सार्वजनिक भएका छन् भने केही विभिन्न कार्यक्रममा देखाउने गरिएको छ। नेपाल आर्मीका जागिरेसँग विवाह गरेकी सोमा तीन सन्तानकी आमा हुन्। उनले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग साँटेकी छिन्ः

मेरो जन्म दोलखाको आले भन्ने ठाउँमा भएको हो। आमा शान्तिमाया तामाङ र बाबु छोदारे शेर्पाको प्रेम विवाह भएको रे। हाम्रो जातमा मन परेको केटीलाई तानेर भित्र्याउने चलन थियो। आमालाई पनि बाउले तानेर भित्र्याएको भनेर आमाले सुनाइरहनुहुन्छ। भाइ जन्मेपछि घरमा खान-लाउन समस्या भयो। त्यसैले बाबु कमाउन बिदेश जानुभयो। पछि फर्केर आउनुभएन। 

आमाले जिरीको अविवाहित केटोसँग दोस्रो विवाह गर्नुभयो। कान्छो बुबा जिरी अस्पतालमा पोष्टमार्टमको काम गर्नुहुन्थ्यो। आमा पनि जिरी अस्पतालमा काम गर्न थाल्नुभयो। दोलखाको आले भन्ने विकट ठाउँमा जन्मिएकी म कसरी काठमाडौं आइपुगें र कसरी समाजसेवामा लागें भन्ने विषय मेरो आउने पुस्तकमा पढ्न पाउनुहुनेछ।

अब कुरा गरौं, मैले बच्चा जन्माउँदाका क्षणको।

त्यो समय अनुसार मेरो विवाह केही ढिला नै भयो भनौं। भाइको विवाह नगरी म विवाह गर्दिनँ भन्ने ठानेकी थिएँ। तर सोचेजस्तो नहुने रहेछ। आर्मीमा जागिर खाने केटोसँग पशुपतिमा सिन्दुर हालेर आफैले विवाह गरे। कोठामा श्रीमान् लिएर जाँदा भाइ हेरेको हेर्यै। मैले पनि केही भन्नै सकिनँ। 

विवाह भएको एक वर्षपछि म गर्भवती भएँ। श्रीमान् प्रायः सिंहदरबारमै बस्नुहुन्थ्यो। बच्चा पेटमा आएको रहेछ, सुरुमा त थाहै भएन। म ठूलो बिरामी परें। वाकवाक आउने, पानी समेत पेटमा नअड्ने, रिंगटा लाग्ने भयो।

सुतेको ठाउँबाट उठ्नै नसक्ने अवस्था आएपछि श्रीमानले अस्पताल लैजानुभयो। अनि बल्ल म गर्भवती भएको थाहा पाएँ। केही समयसम्म गाह्रो भयो, त्यसपछि भने सबै सामान्य भयो।

म गर्भवती भएको केही समयमै मेरो श्रीमानको  बुटवल सरुवा भयो। मलाई सँगै बुटवल लैजानुभएको थियो। तर त्यहाँ मलाई हेरचाह गर्ने मानिस नै भएन। त्यसपछि उहाँको गाउँ ठोरी गयौं।

विवाह गरेपछि म पहिलो पटक कर्मघर त्यही समयमा गएकी थिएँ। हामी भारतको बाटो हुँदै रेल चढेर गएका थियौं। रेलबाट झरेपछि खोलैखोला, जंगलैजंगलको बाटो हिँडेका थियौं। अध्यारो हुँदै जाँदा कता हो, के हो भन्ने भएर म रुँदै हिँडेकी थिएँ।

घर पुगेपछि नयाँ बेहुली ल्याएको छ भनेर सबै हेर्न आए। मानिसहरु देखेपछि मैले पीडा भुलें। सबै मिलेर घर भित्र्याए पनि। घर पुगेको केही समयमै श्रीमान् काममा फर्किनुभयो। नयाँ मानिसहरुसँग घुलमिल हुन केही समय लागे पनि त्यसलाई व्यवस्थापन गरें।

बच्चा पेटमा हुँदा मलाई चुरोट खान मन लाग्थ्यो। कहिल्यै चुरोट नखाने मानिस भए पनि त्यो समयमा एकदमै तलतल लाग्थ्यो। खेतको माटो झनै मनपर्ने। हरहर बासना आउने हुन्थ्यो। मैले माटो त अति खाएँ।

९ महिना पुगेपछि मलाई व्यथा लाग्यो। तर त्यहाँ न अस्पताल थियो, न स्वास्थ्य चौकी नै। सुडेनीहरुले सुत्केरी गराउनुपर्थ्यो। मेरो भने अचम्मै भयो, एक महिनासम्म व्यथा लाग्यो।

एकछिन मर्ने गरेर पेट दुख्थ्यो, दिसा आएजस्तो हुन्थ्यो तर आउँदैनथ्यो। अनि फेरि शान्त हुन्थ्यो। एक महिनासम्म यसैगरी व्यथा लाग्दा मलाई कतिबेला पेट दुख्छ भन्ने थाहा हुने भएको थियो। 

मलाई याद छ, खेत रोप्न गएकी थिएँ, असारको बेलामा। मेला जाँदा पनि उसैगरी पेट दुख्यो। म मकैबारी भित्र पसें। त्यहाँ लडिबुडी गरें। बच्चा जन्मिहाल्छ कि भनेर कनें पनि। केही समय त्यसरी मडारिएपछि फेरि हल्का भयो। फर्किएर फेरि धान रोप्न थालें।

एक महिनासम्म व्यथा लागेपछि भने मैले सुडेनीको सहयोगले बच्चा जन्माएँ। पहिलो सन्तान छोरी जन्मिइन्।

बच्चा जन्मेपछि मैले ९ या १० दिनसम्म राम्रोसँग अनुहार समेत हेरिनँ। यति पीडा भएको थियो कि, बच्चाको माया नै लागेन। १० दिनपछिबाट भने बल्ल माया लाग्न थाल्यो।

०००
जेठी छोरी एक वर्षकी पुगेपछि मेरो पेटमा फेरि अर्को बच्चा आयो। तर पहिलो बच्चाको समयमा जस्तो दोस्रो बच्चाको पालोमा रिंगटा लाग्ने, वाकवाक आउने केही भएन। महिनावारी रोकिएकाले मात्रै ए फेरि गर्भवती भएछु भन्ने थाहा पाएकी थिएँ।

गाउँघरमा, ढिंडो र पिठो उमालेर नुन हालेको झोल बाहेक अरु खानेकुरा थिएन। त्यही पनि नखाए श्वासै रोकिन्थ्यो। अहिलेको पुस्ताको जस्तो यो खान मन लाग्यो, त्यो खान मन लाग्यो भन्ने नै भएन। पेटभर खान पाए पुग्थ्यो। दोस्रो बच्चाको समयमा माटो र चुरोट खान भने मन लागेन।

बच्चा पेटमा आठ महिना पुगिसकेको थियो। एक दिन पधेंरोमा पानी लिन गएकी थिएँ। गाग्रीभरि पानी बोकेर घर पुग्नै लाग्दा नमज्जासँग लडें। केही दिनपछि याद गर्दा पेटमा बच्चा चल्नै छाडेको रहेछ। पेट बढ्नुपर्नेमा झनै सुक्दै गएको अनुभव भयो।

त्यो समयसम्म गाउँमा सानो स्वास्थ्य चौकी र अहेव बस्न थालेका थिए। जँचाउन गएँ। बच्चा चलेको छैनभन्दा अहेवले पेटमा पानी सुकेछ। पानी खाउ भने। होला त नि भनेर दिनमा १० लिटरभन्दा धेरै पानी पिउँथें। जति पानी पिए पनि बच्चा चलेन।

भारत नजिकै थियो। बच्चालाई केही भयो कि भन्ने शंका लागेर भारतको एक अस्पतालमा गएँ। त्यहाँका चिकित्सकले बच्चा जिउँदो छैन, निकाल्नुपर्छ, अस्पताल भर्ना हुने गरेर आऊ भनेर पठाए। त्यही समयमा बच्चा जन्मने व्यथा लाग्ने सुई पनि दिएका थिए। मैले मरेको बच्चा दुई महिनासम्म पेटमा बोकेर हिँडेको रहेछु।

फर्किएर आएँ तर फेरि भारत जाने सुर भएन। दशैंको माहोल थियो। घरमा मरेको बच्चा जन्माए दशैं खराब हुनुका साथै सुतक पर्छ भने सबैले। बारीको पाटोमा गएँ र कन्न थालें। सुईबाट व्यथा लाग्ने औषधि हालेको एक हप्तापछि बारीको पाटोमा मरेको बच्चा पाएँ। बच्चा त पाएँ तर साल अड्कियो। सुडेनीलाई तान्न लगाएर निकालें।

घरमा रक्सी खाएर मात्तिएको आवाजसँगै अट्टाहासको हाँसो बारीको पाटोबाट सुनिरहेकी थिएँ, मैले मरेको बच्चा जन्माउँदा। मैले आफूलाई सम्हाल्नै सकिनँ, भक्कानिएर रोएँ।

आफू तंग्रिएपछि मलाई त्यो ठाउँमा बस्न मन लागेन। फर्किएर काठमाडौं आएँ। पुरानो पेसा गलैंचा बुन्ने थियो, त्यही काम गरेर छोरी र मेरो जीवन चलाउन थालें। श्रीमान् भने बेला-मौकामा आइरहनुहुन्थ्यो।

०००
जेठी छोरी ११ वर्षकी भएपछि म फेरि गर्भवती भएँ। त्यो समयमा म काठमाडौंमा थिएँ। मिहिनेत गर्थें, केही कुरा जान्ने पनि भएकी थिएँ। बच्चा जन्माउँदा के-कस्ता पूर्वतयारी गर्नपर्छ भन्ने चाल पाएकी थिएँ।

यो पटक केही समस्या आएन। बजारमा देखेका कुरा केही खाउँ जस्तो लागेन। न त शरीरलाई गाह्रो नै भयो।

थापाथलीमा रहेको प्रसूति गृहमा मैले फेरि अर्को छोरी जन्माएँ। बारीको पाटामा बच्चा जन्माएको अनुभव सँगालेकी मलाई अस्पतालमा स्वर्गमा बच्चा जन्माएजस्तै भयो। निकै सजिलो। अस्पतालमा छु भन्ने अनुभवले आधा पीडा त त्यत्तिकै हराउने रहेछ।

०००
दोस्रो छोरी जन्मेको केही समयमै म फेरि गर्भवती भएँ। छोरी जन्मेर महिनावारी समेत हुन पाएको थिएन।

मलाई यो बच्चा राख्न मन थिएन। तर परिवारलाई छोरा चाहिएको थियो। सुत्केरीपछि महिनावारी नहुँदै बच्चा बस्यो भने छोरा हुन्छ भन्ने मान्यता थियो। त्यसैले यो बच्चा राख्ने निर्णय गरियो।

यो बच्चाको समयमा पनि मलाई शारीरिक समस्या केही भएन। मानसिक समस्या भने धेरै थियो। आर्थिक अवस्था न्यून थियो। श्रीमान् एक दिन डेरामा आएर फर्केपछि हप्तौं हराउनुहुन्थ्यो। प्रायः उहाँ सिंहदरबारतिर बस्नुहुन्थ्यो।

बच्चा थापाथलीमै जन्माएँ। व्यथा लाग्न थालेको थाहा पाउने भएकी थिएँ। दुई बच्चाको समयमा व्यथा लाग्न सुरु गरेसँगै म आफैं अस्पताल पुगेकी हुँ।

अरुले भनेजस्तै मैले छोरा जन्माएँ। पितृसत्तात्मक समाज र परिवार छोरा जन्मेपछि रमाउने, खुसी हुने त भइहाल्यो।

अहिले जेठी छोरी कल्पना विदेशमा छिन्। कान्छी छोरी करुणा विवाह गरेर लमजुङ पुगेकी छन्। छोरा किरणको तर्फबाट नातिनीको धनी समेत बनिसकेकी छु।

श्रीमान् बाहिरै बस्ने भएकाले बच्चाहरुको सम्पूर्ण जिम्मेवारी मैले नै पूरा गरें। घर आउँदा काखमा बोक्ने बाहेक अन्य केही काम मेरो श्रीमानले गर्नुभएन। अहिले नातिनीले बेला-मौकामा हातमै दिसा-पिसाब गरिदिन्छिन्। मेरो श्रीमान् आफ्ना बच्चाहरुको बालापनमा सँगै हुन नपाएको गुनासो गरिरहनुहुन्छ।

यो पनि

भदौ ५, २०७९ आइतबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।