जडान गर्न प्राविधिक नगएपछि दाङ पठाइएको १८ डायलायसिस मेसिन थन्कियो

जडान गर्न प्राविधिक नगएपछि दाङ पठाइएको १८ डायलायसिस मेसिन थन्कियो

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङमा पठाएको १८ वटा डायलायसिस मेसिन जडान भएको छैन। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ पठाइएको थियो।

साउन १३ गते डायलायसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन। जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताइन्।

मेसिन आए पनि अन्य सामग्री नआएको उनले बताइन्। अब रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो।

अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलायसिस मेसिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन्। थप आठ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उनले बताइन्। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन्। पाँच मेसिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेका छन्।

सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ। अब भने २४ घण्टा सेवा दिन सकिन्छ।

अहिले करिब ४० बिरामी उपचारको प्रतीक्षामा छन्। उनीहरूलाई पनि सेवा दिन सकिन्छ।

साउन २८, २०७९ शनिबार ०७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।