सबै स्वास्थ्यकर्मीहरूको परिचालनको अधिकार सङ्घ अन्तर्गत ल्याउन महासङ्घको माग
काठमाडौँ : स्वास्थ्यकर्मीहरूको परिचालनमा सङ्घ, प्रदेश र स्थानीय तहमा अराजकता देखिएको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले स्वास्थ्य सेवालाई सङ्घ अन्तर्गत राख्न माग गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङलाई ध्यानाकर्षण पत्र दिँदै उसले स्थानीय तह र प्रदेश अन्तर्गत स्वास्थ्यकर्मी राख्दा व्यवस्थित हुन नसकेको भन्दै सङ्घ अन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा आवश्यकता अनुसार कामकाजमा खटाउने व्यवस्था हुनुपर्ने माग राखेको हो।
१२ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवालाई व्यवस्थित, गुणस्तरीय, सहज बनाउनुपर्ने र बेथिति, अराजकता, अव्यवस्थितता जस्ता कार्यको अन्त्य गर्नुपर्ने माग राखिएको छ।
कतिपय संस्थाहरूमा राजनैतिक पूर्वाग्रह राखेर कर्मचारीलाई निष्कासन र कामबाट वञ्चित गर्ने काम भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
ध्यानाकर्षपत्रमा भनिएको छ,‘यस्तो बेथिति रोक्न तुरुन्त सो संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिदिन दरबन्दी पुनः संरचना गरियोस् र स्वास्थ्य संस्थाका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई सहज रूपमा आफ्नो कार्य सम्पादन गर्ने वातावरण अविलम्ब सिर्जना गरियोस्।'
नियमित सम्पादन गर्नुपर्ने कामहरू मन्त्रालय र विभागले समयभित्र र पारदर्शी रूपमा सम्पन्न गर्न नसकेको महासङ्घले बुझाएको पत्रमा उल्लेख छ।
महासङ्घले स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीहरूको परिचालनमा सङ्घ, प्रदेश र स्थानीय तहमा देखिएको अराजक र अव्यवस्थित अवस्थाको अन्त्यका लागि समग्र स्वास्थ्य सेवालाई सङ्घ अन्तर्गत राखी प्रदेश र स्थानीय तहमा आवश्यकता अनुसार कामकाजमा खटाउने व्यवस्था हुनुपर्ने माग राखेको छ।
सबै स्वास्थ्यकर्मीले प्राविधिक ग्रेड पाउने व्यवस्था हुनुपर्ने महासङ्घको माग छ। हालै फार्मेसी निर्देशिकामा गरिएको संशोधन अवैज्ञानिक भएकाले सम्बन्धित पेसागत सङ्घ सङ्गठन र विज्ञ समूहसँगको परामर्शमा उक्त निर्देशिका परिमार्जन गर्नुपर्ने ध्यानाकर्षण पत्र मामार्फत महासङ्घले माग गरेको छ।
साउन १८, २०७९ बुधबार २२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।