स्वास्थ्य हेल्थ अवार्डको दसौँ संस्करणमा कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरूलाई दिइने

स्वास्थ्य हेल्थ अवार्डको दसौँ संस्करणमा कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरूलाई दिइने

काठमाडौँ : स्वास्थ्य खबर हेल्थ अवार्डको १० औँ शृङ्खला कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिने भएको छ।

आयोजक स्वास्थ्य खबर पत्रिकाका अनुसार कोभिडको समयमा खटिएका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा विभिन्न तहमा रहेर काम गरेका स्वास्थ्यकर्मीहरूलाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो।

आयोजकका अनुसार यस वर्ष विभिन्न नौ वटा विधामा अवार्ड प्रदान गरिने छ। कोभिड महामारीमा जोखिम उठाएर बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापक लगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले बताए।

'कोभिडजस्तो विश्वव्यापी महामारीको समयमा अग्रभागमा रहेर बिरामीलाई सेवा पुर्याउने स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्न पाउँदा हामीलाई गौरव महसुस भएको छ, न्यौपानेले भनेका छन्'यसबर्ष अवार्ड खोप नआउँदा जति बेला कोभिड सङ्क्रमणसँग मानिसहरू त्रसित थिए त्यस्तो विपत्तिको समयमा समेत आफ्नो कर्तव्यमा लागेर मानव जीवन बचाउन योगदान गर्नु भएका समग्र स्वास्थ्यकर्मीहरूप्रति समर्पित छ।'

उनका अनुसार कोभिडको समयमा बिरामीको उपचारमा संलग्न रहँदारहँदै जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीहरूलाई विशिष्ट सेवा सम्मानले सम्मानित गरिने छ। यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिने छ।

यही भदौ १७ गते काठमाडौँमा एक विशेष समारोहबिच अवार्ड वितरण कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

अवार्डको लागि नामावली सङ्कलन, छनौट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सम्मिलित निर्णायक समिति गठन गरिएको छ। हालसम्म देश भरीबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब पाँच सय स्वास्थ्यकर्मीहरूको नामावली सङ्कलन भएको छ।

१२ वर्ष अघि सुरु भएको स्वास्थ्य खबर हेल्थ अवार्ड यसअघि दुई वर्ष कोभिडका कारण स्थगित भएको थियो।

साउन १७, २०७९ मंगलबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।