ललितपुर महानगर र महालक्ष्मी नगरमा डेङ्गु सङ्क्रमित भेटिए 

ललितपुर महानगर र महालक्ष्मी नगरमा डेङ्गु सङ्क्रमित भेटिए 

काठमाडौंः ललितपुर जिल्लाका दुई पालिका ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेङ्गु रोगको सङ्क्रमित फेला परेका छन्। ललितपुर महानगरका वडा नं ५ र १४ तथा महालक्ष्मी नगरपालिकाका केही वडामा सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए।

उनले भने, “हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौं।”

हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भेटिएको उनले जानकारी दिए।

डङ्गुलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफा गर्नुपर्ने र घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पुर्याउन आवश्यक भएको डा विष्टको भनाइ छ।

सङ्क्रमित स्थानमा सरसफाइका लागि कार्यालयका साथै जिल्ला प्रशासन तथा महानगपालिकाका स्वास्थ्य एवं सरसफाइकर्मी लागिपरेका छन्।

साउन १६, २०७९ सोमबार १३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।