मेडिकल काउन्सिलको परीक्षामा ३१.४ प्रतिशत विशेषज्ञ डाक्टर 'फेल'
काठमाडौंः नेपाल मेडिकल काउन्सिलले साउन ७ गते शनिबार ४५ विधामा सञ्चालन गरेको परीक्षामा ६८.६ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। काउन्सिलले जारी गरेको नतिजाअनुसार ३१.४ प्रतिशत चिकित्सक विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा अनुत्तीर्ण भएका हुन्।
यो विशेषज्ञताका लागि भएको विशेष दर्ता प्रमाणपत्र परीक्षा हो।
काउन्सिलले आइतबार सूचना जारी गर्दै भनेको छ,‘...२३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थी सहभागी भएकोमा ३२५ जना उत्तीर्ण (६८.६ प्रतिशत) र १४९ जना अनुत्तीर्ण भएको व्यहोरा जानकारी गराइन्छ।’
काउन्सिलका अनुसार यसअघि मिति २०७८ माघ २१ र २२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।
परीक्षाको नतिजा चित्त नबुझे परीक्षार्थीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि काउन्सिलको इमेलमार्फत आवेदन गर्न सक्ने बताइएको छ।
साउन ९, २०७९ सोमबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।