गेटा र वीर अस्पतालबीच जनशक्ति आदानप्रदान गर्ने दुई बुँदे सम्झौता

गेटा र वीर अस्पतालबीच जनशक्ति आदानप्रदान गर्ने दुई बुँदे सम्झौता

काठमाडौंः कैलालीको प्रस्तावित गेटा मेडिकल कलेज (अस्पताल) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)बीच जनशक्ति आदानप्रदान गर्ने सम्बन्धी दुई बुँदे सम्झौता भएको छ।

सम्झौताको पहिलो बुँदामा दुई अस्पतालबीच विशेषज्ञ जनशक्तिको आदानप्रदान गर्ने सम्झौता भएको छ। त्यसैगरी सम्झौताको दोस्रो नम्बर बुँदामा आवश्यक प्राविधिक सहयोग आदानप्रदान गर्ने उल्लेख छ। भनिएको छ, ‘विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहको लागि आवश्यक प्राविधिक सहयोग (टेक्निकल को–अपरेशन एण्ड सपोर्ट) आदानप्रदान गर्ने।’

प्रस्तावित गेटा मेडिकल कलेजका तर्फबाट निर्देशक सह प्राध्यापक डा. प्रमोद जोशी र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

यी दुई अस्पतालबीच चिकित्सकीय सेवालाई विस्तारगरी प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाह गर्न दुई पक्षीय समझदारी गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको सम्झौता पत्रमा उल्लेख छ। अन्य विषयमा आपसी छलफल तथा समझदारीमा उपचारात्मक सेवाको आदानप्रदान गरिने समेत सम्झौता भएको हो।

डा. जोशीले युनिफाइड केन्द्रीय अस्पतालबाट जनशक्ति लगेर गेटा अस्पताल सञ्चालन गर्ने योजना अनुरूप दुई पक्षीय सम्झौता भएको जानकारी दिए।

साउन ८, २०७९ आइतबार २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।