काभ्रेको पाँचखाल, धुलिखेल र पनौतीमा डेङ्गु
काठमाडौंः काभ्रेका तीन स्थानमा डेङ्गु सङ्क्रमण देखिएको छ। दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गु हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो।
पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुषमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो। हाल उनी धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन्। पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार ती पुरुषको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
यस्तै केही दिनअघि धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको थियो। उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
कार्यालय प्रामुख डा पुरुषोत्तम सेढाईंका अनुसार पाँचखालमा दुई साताअघि भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन्।
ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो। पाँचखालमा भेटिएका सङ्क्रमितको काठमाडौंमा उपचार भइरहेको सेढाईंले बताए।
डेङ्गु देखिएलगत्तै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताए। उनका अनुसार डेङ्गुको सङ्क्रमणले महामारीको रूप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘र्यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिनेछ।
डेङ्गु लागेको व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिजाबाट रगत बग्ने, शरीरमा रगत जेमेको दाग देखापर्ने तथा बेहास हुने लक्षण देखिन्छ।
समयमै उचित उपचार नपाए बिरामीको मृत्यु समेत हुने गर्दछ।
साउन २, २०७९ सोमबार १०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।