ई-स्पोर्टस विवादबारे बालेनले भने: मेरो नाम नजोड्नु, मर्यादामा बस्नु
काठमाडौँ : एकपछि अर्को विवादमा जोडिन थालेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले ई-स्पोर्टसका लागि छुट्टाइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको भन्दै 'मर्यादामा रहेर पत्रकारिता गर्न' भनेका छन्।
निर्वाचनको समयमा उनलाई समर्थन गर्दै आएको फेसबुक पेज रुटिन अफ नेपाल बन्दसँग आबद्ध सञ्चालकहलाई लाभ हुने गरी महानगरको बजेटमा सो शीर्षक राखिएको भन्दै समाचार प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमा लेख्दै त्यसको खण्डन गरेका हुन्।
उनले आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा रहेको र नेपालमा पनि यसको व्यवसायिक पाटो बढ्दै गएको, यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्ने उल्लेख गरेका छन्।
'यसलाई व्यवस्थित र सृजनशील बनाउनका लागि महानगरले बजेट छुट्टाएको हो। कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ,' उनले दाबी गरेका छन्।
फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैर कानुनी र अनैतिक कार्यमा महानगर सामेल नहुने भन्दै उनले यो विषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा आफ्नो नाम जोडिएका समाचारहरूको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन भनेका छन्।
महानगरले ई-स्पोर्टसका लागि एक करोड बजेट छुट्टाएको छ।
असार ३०, २०७९ बिहीबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।